अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ,चोभारमा बनाउने प्रस्ताव लगानी गर्न बैंकसँग आह्न

0 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चोभारमा रहेको सरकारी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन निर्माण गर्ने योजना अघि सारेको छ । पर्यटन मन्त्रालयले सो सम्मेलन केन्द्रमा लगानी गर्न बैंकसँग प्रस्ताव राखेको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चोभारमा ८ सय रोपनी सरकारी जग्गा खाली बसेको भन्दै यहाँ अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउने बताए । सोमबार नेपाल भ्रमण वर्षको तयारीका सम्बन्धमा बैंक, बीमा तथा अन्य वित्तीय संस्थाको प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो जानकारी दिएका हुन् ।

‘एकसाथ ठूलो संख्यामा मानिस अट्नेगरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्दैछ । ८÷१० अर्ब लगानी लाग्ला । तपाईहरुले लगानी गर्नुस्, त्यसलाई सरकारले सहजीकरण गर्छ,’ उनले भने ।

सचिव अधिकारीका अनुसार चोभारमा अत्याधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहित दुई वटा पाँचतारे होटेल बनाउन पुग्ने जग्गा छ । एकसाथ १ हजारभन्दा बढी सवारी साधन पार्किङको व्यवस्थापन गर्न सकिन्छ । साथै, १ लाखभन्दा बढी मानिसलाई क्याटरिङको व्यवस्थापन गर्न सकिने अधिकारीले बताए ।

यसबाट नेपालमा सभा–सम्मेलनका माध्यमबाट हुने पर्यटक आगमन अझ वृद्धि हुने उनको भनाइ छ । सचिव अधिकारीले रारा, खप्तडलगायत सुन्दर पर्यटकीय स्थानमा पूर्वाधारको अभाव रहेको भन्दै यस्ता गन्तब्यमा पनि बैंकहरुले लगानी गर्न सक्ने सम्भावना औल्याए ।

जवाफमा बैंकका अधिकारीहरुले भने बैंकले परियोजनामा आफैं लगानी गर्न नसक्ने भन्दै लगानीकर्तालाई ऋण प्रवाह गर्न सकिने बताएका थिए । बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालले कुनै कम्पनीमार्फत ऋणको प्रस्ताव आएमा पर्यटन क्षेत्रमा लगानी गर्न बैंकहरु तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा मुलुकभित्र पर्यटक आगमन बढाउने हो भने पूर्वाधार विकासमा ध्यान दिन बैंकरले सरकारको ध्यानाकर्षण गराएका थिए । निर्माणको अन्तिम चरणमा रहेका विमानस्थललाई छिटो पूरा गर्न र निजगढ विमानस्थलको निर्माण थाल्न उनीहरुले सरकारलाई सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार