हाईल्याण्ड ‘वाईल्ड लाईफ’ फोटोग्राफिमा एक्ला शेर्पा !

0 Shares

काठमाडौं । सोलुखुम्बु जिल्लाको साविक चौंरीखर्क ८, लुक्लाबजार, हाल खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नं. २, लुक्लाबजार स्थायी ठेगाना भएका चुङ्बा शेर्पा पछिल्लो समय हाईल्याण्ड वाईल्ड लाईफ फोटोग्राफिमा परिचित नाम हो ।

किशोरावस्थादेखिनै वाईल्ड लाईफ फोटोग्राफिमा रुचि भएका शेर्पाले ४५ वर्षभन्दा बढि फोटोग्राफिको कल्पना र सपना देखेरै बिताए । २ वर्षअघिदेखि उनी वाईल्ड लाईफ फोटोग्राफिमा क्रियाशील रुपमा फोटो खिच्न लागि परेका छन् ।

उच्च हिमाली क्षेत्रमा (हाईल्याण्ड) फोटो खिच्न त्यत्ति सजिलो छैन् । नेपालका केहि वाईल्ड लाईफ फोटोग्राफरहरु नेपालका उच्च हिमाली क्षेत्रमा अक्सर मात्रै पुग्ने गर्दछन् । त्यो पनि कुनै प्रायोजक भेटिएमा मात्रै ।

तर, नेपालमा पछिल्लो समय शेर्पा हाईल्याण्ड वाईल्ड लाईफ फोटोग्राफिमा डटेर लागेका छन् । २ वर्षअघि अनलाईनबाट वाईल्ड लाईफ फोटोग्राफिको कोर्ष पूरा गरेपछि शेर्पाको रुची उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने जनावर र पशुपंक्षीहरुको फोटो खिच्नतिर लागे । उनले नेपालमा हाईल्याण्ड वाईल्ड लाईफ फोटोग्राफरहरु खोजे, तर, नियमित रुपमा फोटोखिच्ने कोहि भेटेनन् ।

उनलाई यो कुराले झनै उत्साहित बनायो । अन्ततः उनी नेपालको एक मात्र हाईल्याण्ड फोटोग्राफरको रुपमा विश्वभर परिचित भए । अहिले उनले खिचेका विभिन्न फोटोहरु विश्वका अनलाईन र फोटोग्राफि सम्बन्धि पुस्तकहरुमा प्रकाशित हुन थालेका छन् । छोटो समयमै हाईल्याण्ड वाईल्ड लाईफ फोटोग्राफिमा उनको चर्चा चुलिएसँगै उनले यूवा अवस्थामा देखेको सपना पनि पूरा भएको छ ।

शेर्पा नेपालको उच्च हिमाली क्षेत्रमा मात्रै होइन । तराईका विभिन्न फाँट र पहाडमा खोँचहरुमा पनि विभिन्न जीवजन्तु र पशुपंक्षीहरुको फोटो खिच्न पुगेका छन् । विश्वमै दुर्लभ मानिएको हिउँ चितुवाको फोटो होस या कस्तुरी मृगको । कोशि टप्पुमा होस वा चितवन राष्ट्रिय निकुञ्जमा, उनी समय समयमा फोटो खिच्न दौडिरहन्छन् ।

नेपालको वाईल्ड लाईफ फोटोग्राफिमा मेरो स्थान राम्रो छ । मनाङ जिल्लाको ४ हजार ६ सय मिटरमा पाल टाँगेर म ११ रात सुतेको छु । हिँउचितुवाको फोटो खिच्नको लागि । खुम्बुतिर त म लुक्लाबाट हेलि चढेर फोर्चेमा मात्रै ३ चोटी ल्याण्ड गरे । गोक्यो, कालापत्थरति धेरै पटक पुगेको छु । फोर्चेमा झारल, कस्तुरी मृग र डाँफेको फोटो खिच्न धेरै दिन बिताएको छु ।

हाइल्याण्डमा हुने जनावर र पशुपंक्षीको फोटो काठमाडौं र तराईतिरका कुनै पनि फोटोग्राफरहरुसँग हुँदैन । र छैन पनि । तराई र काठमाडौंमा बसेर फोटोग्राफि गर्नेहरुसँग बाघ, चितुवा, गैडाँ र भालु लगायत जनावरहरुको मात्रै त फोटो हुन्छ नी ?

यीनीहरुभन्दा महत्वपूर्ण त हिउँचितुवा, कस्तुरी मृग हुन् । यी जनावरहरु संसारकै दुर्लभ जीवजन्तुमा पर्छन् । यी दुर्लभ जनावरहरुको फोटो हामीले जति धेरै खिच्न सक्छौं, त्यत्ति नै मात्रामा वाईल्डलाईफ फोटोग्राफर भनेर त्यसको चर्चा हुन्छ ।

बाघको फोटो खिच्न पनि त्यत्ति सजिलो छैन । ४० किलोमिटर प्रतिघण्टाको गतिमा बाघ दौडिन्छ । त्यसको पनि फोटो फ्याट्टै खिच्न सकिदैन । त्यसलाई पनि ठाउँ पत्ता लगाएर, कुरेर, खोजेर खिच्नु पर्छ । बाघको फोटो खिच्न पनि कहिले जीउ आधि मात्रै देखिने, कहिले कहाँ छलेको, कहिले अध्याँरोमा र कहिले एन्टिलाईट पर्छ । खोज्दै गयो भने बाघ त धेरै भेटिन्छ तर राम्रो फोटो खिच्न सकिदैन ।

हाईल्याण्ड अर्थात उच्च हिमाली क्षेत्रको फोटोग्राफरमा शेर्पाको नाम पहिलो नम्बर पर्छ । उच्च हिमाली क्षेत्रमा फोटो खिच्न राम्रो क्यामेरा र सीपालु फोटोग्राफर भएर मात्र पुग्दैन । स्वास्थ्य र शारीरिक रुपमा पनि तन्दुरुस्त हुनुपर्छ । त्यत्तिमात्र होइन आर्थिक रुपमा पनि मजबुत हुनु पर्दछ । त्यसैले पनि वाईल्ड लाईफ फोटोग्राफर हरेक हिसाबले सजिलो बिल्कुल छैन् ।

वाईल्ड लाईफ फोटोग्राफरको लागि जति राम्रो क्यामेरा र लेन्स किन्न सकिन्छ, त्यत्तिनै राम्रो हुन्छ । मैले फोटोग्राफि सुरु गरेको २ वर्ष भयो । यो वाईल्ड लाईफ फोटोग्राफिमा म सबैभन्दा जुनियर हो तर फोटोग्राफिमा चाँहि म अरुभन्दा कम छैन । मैले विश्वमा भएका दुर्लभ जीवजन्तुको फोटो अरुलेभन्दा धेरै खिचेको छु । अब म केहि समयपछि हाईल्याण्डदेखि लोल्याण्डसम्मका सम्पूर्ण वाइल्ड लाईफ फोटोग्राफिमा रुचि राख्ने फोटोग्राफरहरुलाई नि:शुल्क रुपमा मैले जानेको फोटोग्राफि सिकाउने इच्छा छ ।

मैले फोटोग्राफि अनलाईन कोर्ष गरेको हो । मैले अनलाईन कोर्ष मात्र १ हजार डलरभन्दा बढिको किने । मलेसियामा एक जनालाई तलबनै दिएर म्यासेञ्जरबाट उसले सिकाउथ्यो । अभ्यासको लागि म बाहिर हिड्नु पथ्र्यो । खर्च त मेरो धेरै भयो । त्यसैले गर्दा अरु फोटोग्राफरभन्दा अलि म नै सीपालु भएको हो ।

मैले अहिले चलाईरहेको क्यामेरा वान डी एक्स मार्क थ्री भन्ने हो । यो क्यामेरा नेपालमा एक पिस मात्रै छ । त्यसको लेन्स पनि मसँग मात्रै हो, अरु कोहिसँग छैन् । मैले खेलाउने क्यामेरा भनेको चाँहि नयाँ आउने बित्तिकै अपग्रेड गर्ने हो । अरु कसैले गरेका छैनन् । किनभने त्यसबाट कुनै रिर्टन पैसा आउँदैन त्यसैले अरुले गर्न सक्दैनन् ।

२० वर्षको उमेरमै शेर्पाले रील हालेर चलाउने क्यामेराले फोटो खिच्थे । त्यसपछि डिएसएलआर लगायतका क्यामेराबाट पनि धेरै फोटो खिचे । मैले त्यत्तिबेला फोटोग्राफिमा खासै समय दिन सकिन । त्यत्तिबेला मेरो बाध्यता थियो । जाँगिर थियो । जसका कारण पनि म पैसा कमाउन तिर लागे । जब जीवनको उत्तराद्र्धमा प्रवेशगरेपछि मेरो रुचीको वाईल्ड लाईफ फोटोग्राफिमा जमेर लागेको हुँ ।

अहिलेसम्म म हाईल्याण्ड फोटोग्राफि र वाईल्ड लाईफ फोटोग्राफिको लागि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा ५ पटक गए । गोक्यो पाँचौं लेकमा हिउँ चितुवाको फोटो खिच्नको लागि पाल टाँगेर एक रात सुते । जुन स्थान समुन्द्र सतहदेखि ५ हजरा ७ सय मिटरको उचाईमा पर्दछ । कालापत्थरमा सूर्योदयदेखि सूर्यास्तसम्म करिब १० घण्टा बसेर फोटो खिचे ।

त्यसैगरी मनाङमा २ पटक एक पटक पुगे । पहिलो पटक ८ दिन र दोस्रो पटक १७ दिन बसे । ११ दिन त पालभित्रै सुते । म पालभित्र बसेको स्थानको उचाई ४ हजार ६ सय मिटर थियो । त्यस्तै लाङटाङको चोलाङपाटी डाइरेक्ट हेलिकोप्टरबाट गए । यसको उचाई ३ हजार ६ सय मिटर छ । त्यहाँ ७ दिन बसे । रेड पाण्डाको फटो खिचे । ७ दिनपछि पुनः हेलिकोप्टर चार्टर गरी चोलाङपाटीबाट काठमाडौं फर्किए ।

त्यसैगरी कोशि टप्पु ४, चितवन राष्ट्रिय निकुञ्ज १९, बाँके राष्ट्रिय निकुञ्ज ३, बर्दिया राष्ट्रिय निकुञ्ज ७, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज ७ र ईलाम २ पटक वाईल्ड लाईफ फोटोग्राफिकै लागि गए । काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज त बेलाबेलामा गइरहन्छु ।

अहिले शेर्पाले फोटो रिसर्च पनि गरिरहनु भएको छ । उनले नेपाल सरकारसँग वाईल्ड लाईफ फोटोग्राफि रिसर्चको लागि अनुमतिसमेत लिनु भएको छ । कोरोना भाईरस (कोभिड-१९)ले उनको फोटोग्राफिलाई नराम्ररी असर गर्यो । यदि कोरोना नदेखिएको भए अहिले उनी विभिन्न देशमा वाईल्ड लाईफ फोटोग्राफिमा व्यस्त हुन्थे । विश्व व्यापि फैलिरहेको कोरोना नर्मल भएपछि उनी पुनः वाईल्ड लाईफ फोटोग्राफिमा जमेर लाग्ने योजनामा छन् ।

(नेपालका एक मात्र हाईल्याण्ड वाईल्ड लाईफ फोटोग्राफर चुङ्वा शेर्पासँग गरिएको कुराकानीमा आधारित ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार