पहाडको पर्यटन प्रर्वद्धनमा जनप्रतिनिधी

गन्तव्य बन्दै श्रष्टापार्क

Facebook Debugger

ओखलढुंगा- जिल्ला समन्वय समिति महासंघले पहाडबाट पर्यटन प्रवद्र्धन अभियान शुरु गरेको छ । नेपाल भ्रमण वर्षलाई प्रचार प्रसार गरेर पहाडका पर्यटकीय गन्तव्य चिनाउन यस्तो अभियान शुरु भएको छ ।
सगरमाथाका तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबाट एक साथ यो अभियान थालिएको हो । महासंघको खोटाङमा भएको केन्द्रिय समितिको बैठकले भिजिट २०२० घोषणा गरेको थियो । महासंघका अध्यक्ष सिता सुन्दासले पर्यटन वर्षलाई जिल्ला समन्वय समितिको समन्वयमा सबै प्रदेशका जिल्ला जिल्लामा पुर्याउन आग्रह गरेकी छन् । प्रदेश समितिको समन्वयमा १ नं. प्रदेशका १४ जिल्लामा अभियान पुर्याउने तयारी रहेका प्रदेश समितिका प्रवक्ता टंक चौहानले जानकारी दिए ।
यही अभियान अन्र्तगत प्रदेश नं. १ का चार जिल्लाका समन्वय समितिका पदाधिकारीहरु सगरमाथाका पहाडी जिल्लाको भ्रमणमा छन् । पर्यटन प्रवद्र्धनका लागि महासंघका प्रदेश प्रवक्ता, धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चौहानसहितको टोली हलेसीदेखी सगरमाथा सम्मको अभियानमा छन् । उनीहरुले शनिबार ओखलढुंगाको पर्यटकीय स्थल सिद्धिचरण पार्क र श्रष्टा पार्कको भ्रमण गरेर जिल्ला समन्वय समिति, सिद्धिचरण नगरपालिका र सांसदहरुसँग छलफल गरेका छन् ।
सोलुखुम्बुका पर्यटकीय स्थलहरुको अवलोकनपछि हलेसी सगरमाथा भ्रमण अभियान सकिने बताइएको छ । यस्ता भ्रमणले अनुभव आदान प्रदान हुने र विकासका मोडलहरुबारे जानकारी लिन सहज हुने टोलीको विश्वास छ । पहाडका समस्या र संभावना मिल्दाजुल्दा हुने भएकाले आपसी भ्रमणबाट अनुभव आदान प्रदान गरेर पर्यटन विकासको मोडल तयार गर्न सकिने छलफलमा सहभागी सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले बताए ।
पहिलो चरणमा खोटाङबाट शुरु गरेको अभियान ओखलढुंगा र सोलुखुम्बु हुँदै क्रमश प्रदेशका १४ वटै जिल्लामा पुर्याइने छ । अभियानमा पर्यटनको संभावना र अवसरका बारेमा छलफल तथा पर्यटकीय स्थलको प्रचार प्रसार गरिने भ्रमण टोलीका सदस्य तेह्रथुम जिल्लाका समन्वय समितिका प्रमुख शिव ढुंगानाले बताए । उनले पहाडका संस्कृति, वातावरण र प्राकृतिक दृश्य पर्यटनको मुख्य क्षेत्र भएकाले पहाडका त्यस्ता क्षेत्रको प्रचार प्रसार गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।
संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ र सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले ओखलढुंगामा स्वागत गरेका थिए । टोलीलाई स्वागत गर्दै सांसद सुनुवारले ओखलढुंगाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर पर्यटक पठाउन भ्रमणले योगदान गर्ने बताए ।
अध्ययन भ्रमणबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने, पर्यटकीय क्षेत्रको पहिचान र प्रसारमा सहयोग पुग्ने भएकाले प्रदेशभर पर्यटन प्रवद्र्धन अभियान आवश्यक रहेको जनप्रतिनिधीको विश्वास छ । भ्रमणमा चार जिल्लाका प्रमुख र उपप्रमुख सहभागी छन् । जनप्रतिनधिसँग शिक्षक, विद्यार्थी र युवाहरुको समेत प्रतिनिधित्व छ । महासंघको प्रदेश नं. १ समितिले योजना नै बनाएर प्रदेशभर पर्यटन प्रवद्र्धनका काम थाल्ने प्रदेश समितिका प्रवक्ता टंक चौहानले बताए ।
भ्रमणमा तेह्रथुमका प्रमुख शिव ढुंगाना, उपप्रमुख प्रेमलता घिमिरे, धनकुटाका प्रमुख टंक चौहान, उपप्रमुख बंगला राई, ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन, उपप्रमुख देवीमाया नेपाली, र संखुवासभाका सुमन शाक्य र उप्रमुख अम्बिका खबास सहभागी छन् । उनीहरुले पहाडका जिल्लाका पर्यटकीय स्थलको अवलोकन, अध्ययन गरेर प्रदेशभर प्रचार प्रसार गर्न सहयोग गर्ने बताएका छन् । भ्रमण रमाइलो गर्न नभइ पर्यटकीय क्षेत्रको प्रचार गर्दै भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने रहेको सहभागी शिक्षक सूर्यप्रसाद गौतमले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार