नेपाली कांग्रेसले माग्यो सोताङ गाउँपालिका वडा ३ को खर्च विवरण

सोलुखुम्बु । नेपाली कांग्रेस सोताङ गाउँपालिका वडा नं. ३ कार्यसमितिले खर्च विवरण माग गरेको छ ।

जिल्लाको सोताङ गाउँपालिका वडा नं. ३ को आर्थिक वर्ष २०७६/०७७ को खर्च विवरण वडा कार्यसमितिको निर्णयानुसार माग गरिएको हो । उक्त कार्यसमितिले वडाको सम्पूर्ण खर्च विवरण १ हप्ताभित्र प्रमाणित प्रतिलिपि सहित उपलब्ध गराउन माग गरेको छ ।

आ.व. २०७६/०७७ को आन्तरिक आय र खर्च विवरण, स्थानीय तहको पदाधिकारीहरुको सेवा सुविधा तथा इन्धन सम्बन्धी खर्च विवरण, स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका काम र खर्च विवरण, बालबालिका, महिला, जनजाति, दलित, जेष्ठ नागरिक, अपाङ्ग, खेलकुद, सञ्चार क्षेत्रमा भएका काम र खर्च विवरण, सामाजिक सुरक्षा भत्ता विवरणको भरपाई, सम्पन्न विकास आयोजनाको विवरण, वडा भित्रको विद्युत मर्मतमा भएको खर्च विवरण, कोभिड–१९ को सम्बन्धमा आएको काम, खर्च र जिन्सी सामग्री वितरण र वडाभित्रको सम्पूर्ण आयोजनाहरुको विवरण प्रमाणित प्रतिलिपि सहित उपलब्ध गराउन पत्रचार गरिएको वडा सभापति विष्णु बस्नेतले बताए ।

सार्वजनिक चासो र सरोकारका विषयमा हरेक सरकारी कार्यालयले सूचना अधिकारी नियुक्त गरी नागरिकलाई सरल र सहज रुपमा सूचना उपलब्ध गराउने ऐन भएपनि वडा कार्यालयले अहिलेसम्म कुनै सूचना सार्वजनिक नगरेका सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति तथा जिल्ला कार्यसमिति सोलुखुम्बुका पदेन सदस्य गोकर्ण बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार