तीन गाउँपालिका जोड्ने मितेरी पुलको शिलान्यास

Facebook Debugger

सोलुखुम्बु । दुधकोशीस्थित दिप्लीघाटमा तीन गाउँपालिका जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । थुलुङ दुधकोशी, सोताङ र महाकुलुङ जोड्ने मितेरी पुलको प्रतिनिधीसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले शिलान्यास गरेका हुन् ।


मोटरेबल पुलको प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत, जिल्ला समन्वय समिति प्रमुख वीरकुमार राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुर राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रविसिं लगायतले सामूहिक रुपमा शिलान्यास गरेका थिए ।
प्रतिनिधी सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले लामो समयको कसरतपछि पुल निर्माणको काम कागजबाट फिल्डसम्म ल्याउन सफल भएको बताए । ‘पुल निर्माणको शिलान्यासले दुधकोशी पारीका तीन गाउँपालिकाको सर्वसाधारण आम नागरिकमा बाह्रै महिना मोटर चढ्ने सपना पूरा हुनेछ ।’ प्रतिनिधी सभा सदस्य राईले भने, ‘निर्माण कम्पनीले समयमै पुलको काम सकोस, हामी यही चाहन्छौं ।’


प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले चुनावी घोषणापत्रको प्रतिबद्धता अनुसारनै विकास निर्माणको काममा लागि परेको बताए । ‘पिप्लीघाटको पुल आर्थिक समृद्धिको टर्निङ प्वाइन्ट भएकाले निर्माणको काम समयमै सम्पन्न गर्नुपर्छ,’ प्रदेशसभा सदस्य बस्नेतले भने, ‘दुधकोशी पारीका आम नागरिकलाई मोटरेबल पुल नबनुन्जेलको लागि बेलीब्रिज बन्छ ।’


थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले तोकिएको समयभन्दा अघिनै निर्माणको काम सक्न निर्माण कम्पनीलाई आग्रह गरे । ‘ढुवानी गर्न सक्ने रोक्ती दिप्ली सडक चौडाको कुरामा स्थानीय सरकारले मात्र नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारले पनि हातेमालो गर्नुपर्छ,’ अध्यक्ष राईले भने, ‘सडक चौडाका लागि हामी समन्वयात्मक काम गर्छौं, तर सडक कै कारण निर्माण अलपत्र बन्छ भन्ने होइन, निर्माण कम्पनीको नियत सफा हुनु पर्छ ।’


नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राईले दुधकोशी दिप्लीघाट मोटरेबल पुलले महाकुलुङ र सोताङ क्षेत्रको विकासमा महत्वपूर्ण अर्थ राख्ने बताए । कार्यक्रममा जिल्लास्थित नेकपाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तस्वीर : प्रकाश खालिङ

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार