फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

56 Shares

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीबाट सञ्चालित हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रमुख भानुभक्त निरौलाले हावाहुरीका कारण ढलेको पत्ताले स्थित टावरमा स्थानीयलाई छोईपासो लगाई २ लाख ४० हजार रुपैयाँ असुल्न खोजेको विषयले निक्कै चर्चा पाएको छ । हिमाल एफ.एम. पक्षले रेडियोको टावर हावाले लडाएपनि आफूहरुको सामानमा केटाकेटीले क्षति र्पुयाएकाले अभिभावकबाट क्षतिको माग गरिरहेको छ, भने पीडित पक्षले आफ्ना केटाकेटीले केही फलामको टुक्रा जस्तो देखिने वस्तु जमिनमा छरिएको अवस्थामा भेटिएर ल्याएको र आधा घण्टा भित्रै जस्ताको तस्तै फिर्ता गरेकाले उक्त रकम कुनै पनि हालतमा नतिर्ने अडान लिईरहेको छ ।

 

सामाजिक सञ्जाल एवं केही अनलाइन सञ्चारमाध्यममा यो विषयले निक्कै चर्चा पाएपछि हामीले यस विषयमा फ्याक्ट चेक गरेका छौं । खास भएको के रहेछ त ? घटनाको सुरुवात कहाँबाट भएको थियो ?

यस्तो रहेछ वास्तविकता !

मिति २०७७ साल वैशाख ५ गते, सोलुदुधकुण्ड नगरपालिका ८ पिरिङदिङका बिमल मगर पत्ताले डाँडाबाट ओरालो झर्दै गर्दा मोबाइलको घण्टी बज्यो । यसो फोन उठाएको हिमाल एफ.एम.का प्रमुख भानुभक्त निरौलाले गरेका रहेछन् । निरौलाले सँगै रहेका केटाकेटीले रेडियोको टावरको एन्टेना भाँचेर लगेको र उक्त एन्टेनाको मूल्य निक्कै महँगो पर्ने बताए । यो कुरा सुनेपछि मात्र आफूहरुसँग भएका केटाकेटीले टावरको सामान ल्याएछन् कि भन्ने थाहा भएको विमलले सुनाए ।

खासमा त्यो दिन, बिमलको अगुवाईमा छिमेकी र केटाकेटी सहित पत्ताले स्थित गौरीटाप मन्दिर घुम्न गएका रहेछन् । गाडीमा ६ घरका केटाकेटी र बुबा आमा गरी करिब १० जनाको टोली रहेछ । गौरीटाप मन्दिरमा गएका उनीहरु पत्ताले डाँडामा पनि जाउँ न त भनेर डाँडातिर उक्लिएको रहेछ । डाँडासम्म समूहमै गएका विमल रिपिटर टावर पुगेपछि त्यहीका चौकीदारसँग गफ गर्न थालेछन् । केटाकेटीहरुले एफ.एम.का सामग्री ल्याएर आएछन् भन्ने कुरा, निरौलाको फोनबाट मात्र थाहा पाएको उनले बताए ।

उनले यसो हेर्दा केटाकेटीको हातमा केही फलामको ढुंग्रो जस्तो देखेपछि, सोही कुरा निरौलालाई जानकारी गराएको विमलले सुनाए । त्यत्रो उकालो चढेर ओरालो झरिसकेकाले प्रहरीको जिम्मा लगाईदिन्छु पनि भनेका रहेछन् विमलले । तर केटाकेटीले उक्त सामान भाँचेर लागेको र फिर्ता हुन नसक्ने भन्दै निरौला कड्किए । तत्काल फिर्ता नगर्दा झनै समस्या सिर्जना हुने डरले बजारतिर झर्दै गरेका विमल फेरि केटाकेटीले ल्याएको सामान फिर्ता गर्न अघिकै बाटो फर्किएर रेडियोको टावरमा पुगेछन् । उनले त्यहाँ रेडियोका चौकीदारलाई सामान बुझाएको बताए ।

घटना नं. १ : केटाकेटीले भाँचेर लगेको हो, जिम्मा लिन सक्दैनौं

उनीहरु पुग्दा रेडियोको टावर फेदै देखि गर्ल्यम्म ढलेको थियो । केही फलामका टुक्रा निक्कै परसम्म पनि छरिएको थियो । वैशाख ४ गते मात्र हिमाल एफ.एम.को टावर हावाहुरीले ढाल्दा २० लाख बराबरको क्षति भएको भन्दै उसैले समाचार पनि प्रकाशन गरेको थियो । भोलिपल्ट केटाकेटी सहित पत्ताले डाँडामा पुगेका विमल मगर र केटाकेटीका अभिभावकले जमिनमा छरिएर रहेको फलामको ढुंग्रो मुल्यावान हुन्छ भन्ने थाहा पाएनन् र केटाकेटीले टिपेर ल्याउँदा पनि खासै चासो राखेनन् । सायद केटाकेटीले भाँच्न खोजेका भए वा टावरलाई नै छुन खोजेका थिए भने पनि विद्युत प्रवाह भईरहेको होला भनेर केटाकेटीलाई जान दिने थिएनन् होला ? अनि एफ.एम.को सामान भाँच्दा सँगै रहेका कुन अभिभावकले खुरुखुरु भाँच्न दिन्छन् होला ? तर केटाकेटीले उक्त सामान ल्याएको ३० मिनेट भित्र फिर्ता र्पुयाउँदा समेत जिम्मा नलिने र त्यसबापत २ लाख ४० हजार रुपैयाँ रकम चाहिने भनेर धम्की दिईरहेको पीडित बिमल मगरले सुनाए ।

घटना नं. २ : पुलिस केस लगाईदिन्छु

केटाकेटीले ल्याएको सामान जस्ताको तस्तै फिर्ता बुझाएपछि त्यो दिन सबै आ आफ्नो घर फर्किए । अर्को दिन निरौला र उनका सहकर्मी शिखरजंग गजरकोटे बिमलको घरमै आए । उनले त्यहाँ पनि जसरी भएपनि क्षति र्पुयाएको सामानको रकम तिर्नुपर्ने बताए । तर आफूहरुको कुनै पनि गल्ती नरहेको भन्दै उनले पैसा कुनै पनि हालतमा नतिर्ने बताए । त्यसपछि निरौलाले आफ्नो सामानको क्षतिपूर्ति भराउन र नभराए पुलिस केस गर्ने धम्की दिएको पीडित विमल मगरले सुनाए । ‘हाम्रा केटाकेटीले त्यो सामानमा केही क्षति र्पुयाएको छैन, अन्जानबस केटाकेटीले टिपेर ल्याउनु चाहिँ गल्ती भयो । हामीले सामान बुझाएपछि हामीसँग के को क्षतिपूर्तिको माग गर्नुहुन्छ भनेर भनें । झन् उहाँले यो सामान एलसी खोलेर इटलीबाट झिकाउनुपर्छ, त्यसो गर्दा प्रत्येक एण्टेनाकै ८० हजार रुपैयाँ पर्छ, हामीले त स्वदेशी सप्लायर्स मार्फत ल्याएर मात्र ६० हजारमा पाईएको हो, खुरुक्क पैसा तिर्नुर्पयो, होइन भने सार्वजनिक मुद्दा लगाईदिन्छु भनेर धम्काए’ विमलले उक्त दिनको बेलिविस्तार लगाए ।

तर शिखर गजरकोटेले भने अलि मोटो रकम भएकाले गाह्रो परेको भन्दै मिलाएर भुक्तानी गर्न आग्रह गरेको विमलले सुनाए ।

घटना नं. ३ : एक चाहिन्छ, दुई चाहिन्छ, तीन चाहिन्छ ?

विमल, गल्ती नै नगरेको विषयमा सजाय भोग्न नपरोस् र आफूले मात्र होइन अरु कुनै अभिभावकले पनि तिर्न नपरोस् भन्ने चाहन्थे । तर भानुभक्त निरौलाले पैसा जसरी भएपनि चाहिन्छ, तत्काल तिर्न नसके अलि पछिसम्म मिलाएर भए पनि तिर्दा हुन्छ भन्दै थिए । ‘मेरा केटोकेटीले ल्याएको पनि होइन, मेरो अगुवाईमा घुम्न गएकाले मात्र यो सबै लफडाको जवाफ दिईरहेको छु, म एक रुपैयाँ पनि दिन्न ।’ उनले भने ।

विमलबाट पैसा असुल्न नसक्ने रहेछ भन्ने निष्कर्षमा पुगेका निरौलाको सोच त्यसपछि तत्काल बदलियो र अब उनले विमलसँगै गएका अन्य अभिभावकहरुबाट रकम लिने अर्को योजना बनाए । ‘तपाईको केटाकेटीले नल्याएको भए जसको केटाकेटीले ल्याएका हुन्, ती अभिभावकबाट रकम उठाएर दिनुहोस् न, भईहाल्छ नि, जसले दिएपनि पैसा भए पुगिहाल्यो नि’ विमल त्यसबेला निरौलाले भनेको कुरा सम्झिन्छन् ।

घटना नं. ४ : पैसा दिन्छौ कि ? पुलिस लगाईदिउँ ?

घटना भएको एक हप्ता पछि निरौलाले बिमललाई टावर ढलेको ठाउँमा बोलाएको रहेछ । छिनछिमा फोन गर्दै बोलाएपछि नगई धरै पाएन । अनि बिमल पनि डाइभर र आफू सहित ३ जना टावर रहेको डाँडा पत्तालेमा पुगेछन् । त्यसदिन पनि उनले केटाकेटीले नै उक्त सामग्री भाँचेको अडान लिएको विमलले बताए । ‘म गल्ती नै नगरेको सजाय भोग्न सक्दिन भने, उनले पुलिस राखेर ठाडो कागज बनाएर विवाद मिलापत्र गरौं, अनि पछि भुक्तानी गर्नुहोला भने । मैले नबिराउनु नडराउनु म एक पैसा पनि तिर्दिन । बच्चाले लगेको सामान जस्ताको तस्तै फिर्ता गराईसके पछि म सँग पैसा माग्ने कुरा नगर्नुस् भने पछि पैसा दिन्छौं कि पुलिस लगाईदिउँ भनेर धम्काए’ उनले भने ।

घटना नंं ५ : हैसियत देखाईदिन्छु

दिन रात पैसा ठिक्क पारिराख भन्दै दिन रात धम्काएपछि विमल कुन दिन चाहिं पत्ताले गएछु भनेर चिन्तित थिए । न यसो गर्दा पो होला कि ? न उसो गर्दा पो होला कि ? भनेर उनले अनेकन जुक्ति सोचेको सगरमाथा अनलाइन सँग बताए । घरी हिमाल एफ.एम.को सञ्चालक समितिका कोही चिनजानको मान्छे भएपनि भन्थें भनेर सम्झिएको र कोही चिन्ने मान्छे नभएपछि सोलु दुधकुण्ड नगरपालिका ८ का वडाध्यक्ष पासाङ कटवालको कुरा पो सुनिदेलान् कि भनेर फोन गर्न लगाएको उनले बताए । अध्यक्ष कटवालले पनि निरौलालाई फोन गरेर गल्ती नै नभएको घटनामा नफसाउन आग्रह गरेका थिए । तर निरौलाले हैसियत देखाईदिने भन्दै उल्टै थर्काएका थिए ।

 

घटना नं. ६ : मान्छे चिनेको रहेनछ, अब म कानुनी प्रक्रियामा जान्छु

ठ्याक्कै मिति थाहा नभएपनि रेडियो मर्मत गरेर प्रसारणमा आएको केही दिन पछि पुनः भानुभक्त निरौलाको फोनको सामना गरेका रहेछन् विमलले । उक्त दिन पनि उनले पैसा ठिक पार्न भन्दै फोन गरेका रहेछन् । तपाई म बाट पैसा फुत्काउन सक्नुहुन्न, यत्ति कुरामा ढुक्क हुनुहोस् भनेपछि ‘तपाईलाई केही भन्दा पनि भएन, तपाईले मान्छे चिनेको रहेनछ, अब म कानुनी प्रक्रियामा जान्छु ।’ उनले यत्ति भनेर फोन काटेको र त्यसपछि फोन नआएको विमलले सुनाए ।

‘त्यसपछि उनको फोन आएको छैन, मलाई मुद्दा हाल्ने कानुनी आधार नै छैन, मैले पैसा तिर्नुपर्ने कुनै कारण नै छैन, हावा हुरीले ढलेको टावरको फलामको टुक्रा केटाकेटीले अन्जानबस टिपेर ल्याएको विषयलाई लिएर मुद्दा दिए देओस, सामना गरौंला भनेर बसें ।’ उनले भने ।

‘कानुनी प्रक्रियामा त मैले जानुपर्ने हो’ : विमल मगर

पीडित मगरले कानुनी प्रक्रियामा भानुभक्त निरौला भन्दा पनि आफू जानुपर्ने बताए । उनले भने ‘बालबच्चाले ल्याएको सामान तत्काल फिर्ता दिएर पनि चोरी गरेको जस्तो व्यवहार देखाउन मिल्छ ? मैले यो बीचमा व्यहोरेको मानसिक प्रताडनाको क्षतिपूर्ति चाहिं कसले व्यहोर्छ ? मैले भोगेको सामाजिक तथा आर्थिक असरको जिम्मेवार को हुन्छ ? मानिसलाई अन्याय गर्न त मिल्दैन नि ? एफ.एम. चलाएको छ भनेर रेडियोको आडमा हामी जस्तो व्यवसाय गरेर बसेको मानिसलाई धम्क्याउन मिल्छ ? त्यसैले भानुभक्त निरौला होइन, न्यायको ढोका ढक्ढक्याउन मैले जानुपर्ने हो । म यसबारेमा मेरा आफन्तहरुसँग पनि छलफल गर्दैछु ।’

बिमलको कुरा सुनेपछि हामीले खास कुरा के रहेछ त भनेर हिमाल एफ.एम.का प्रमुख भानुभक्त निरौलालाई सोध्यौं । स्थानीय बिमल मगरसँग भएको विषय समाचार नहुने निरौलाले टेलिफोन सम्पर्कमा बताए । ‘यो सामाचारको विषयनै होइन, आपराधिक क्रियाकलाप हो,’ निरौलाले भने, ‘हामी यो विषयलाई कानूनी प्रक्रियामा छलफल गरेर लैजान्छौं ।’

यो पनि पढ्नुहोस् ।

हावाले टावर ढाल्दा हिमाल एफएमको प्रशारण बन्द 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार