डेढ महिना बितिसक्दा पनि दिएन वडा पालिकाले सूचना

सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिका वडा नं. ३ ले सूचना माग गरेको डेढ महिना बितिसक्दा समेत अझैसम्म सूचना उपलब्ध गराएको छैन । सूचनाको हक सम्बन्धी नियमावली अनुसार निवेदकलाई सात दिन भित्र सूचना उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

वडा पालिकामा चरम अनियमितता भएको भन्दै नेपाली कांग्रेस सोताङ गाउँपालिकास्थित वडा नं. ३ समितिले आर्थिक वर्ष २०७६/०७७ को सम्पूर्ण खर्च विवरण माग गरेपनि अहिलेसम्म सूचना उपलब्ध नगराएको नेपाली कांग्रेस वडा नं. ३ का सचिव तेजुप्रसाद राईले बताए ।

स्थानीय आम नागरिकबाट वडा पालिकाको विभिन्न योजनामा चरम अनियमितता भएको गुनासो आएपछि सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना माग गरिएको थियो ।

पछिल्लो समय सूचना माग गर्ने आम नागरिकलाई सूचना दिन आनाकानी गरेपछि सूचना आयोगको ११ गते बसेको बैठकले सूचना मागकर्तालाई सहजै सूचना उपलब्ध गराउन अनुरोध गर्दै गृह मन्त्रालयलाई पत्र लेखेको छ । पत्र पाउने बित्तिकै गृहमन्त्रालयले पनि देशका सबै जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीलाई सूचना आयोगले गरेको निर्णय कार्यान्वन गर्न पत्राचार गरेको छ ।

समयमै सूचना नदिने सूचना अधिकारी वा प्रमुखलाई यस्तो छ सजायको व्यवस्था

सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले मनासिब कारण विना सूचना नदिएको वा दिन इन्कार गरेको, आंशिक रुपमा वा गलत सूचना दिएको वा सूचना नष्ट गरेको देखिएमा आयोगले त्यस्तो प्रमुख वा सूचना अधिकारीलाई एक हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो प्रमुख वा सूचना अधिकारी विभागीय कारबाही हुने पदमा रहेको भए निजलाई विभागीय सजायको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

(२) सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले समयमा दिनु पर्ने सूचना विना कारण समयमा उपलब्ध नगराई ढिलाई गरेमा जति दिन ढिलाई गरेको हो प्रति दिन दुई सय रुपैयाको दरले निजलाई जरिवाना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार