अब पार्टीको विवाद केन्द्रीय समितिले हल गर्छः सांसद राई

315 Shares

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले जीवन्त पार्टीमा अन्तरसंघर्ष चल्ने र पार्टीमा रहेको उक्त अन्तरसंघर्षको हल केन्द्रीय समितिले गर्ने बताउँदै पार्टी एकतामा कुनै आँच नआउने दाबी गरेका छन् । महाकुलुङ र सोताङ गाउँपालिकाका जनता तथा कार्यकर्तासँग भेटघाट गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

देशमा जहिल्यै राजनीतिक अस्थिरता चाहनेहरुले नेकपा फूटोस भन्ने चाहना राखेको भए पनि पार्टी केन्द्रीय कमिटीको बैठकले सबै विवादलाई हल गरेर जानेमा कार्यकर्ताहरुलाई सांसद राईले विश्वास दिलाएका थिए । ‘देश र जनताको हित नचाहने, देशमा राजनीतिक अस्थिरता रहोस् भन्ने विदेशी शक्तिदेखि नेपालकै राजावादीहरुले नेकपालाई फूटेको हेर्न चाहन्छन्’, राईले भने- ‘तर, पार्टी फूट्दैन । केन्द्रीय समिति भनेको पार्टीको आधिकारिक निकाय हो । र अब माथिको विवाद केन्द्रीय कमिटीमा आएको छ । पुस ५ गते बस्ने केन्द्रीय समितिको बैठकले सबै विवादको हल गरेर अघि बढ्ने छ । पार्टी फूटको संघारमा पुग्यो भनेर हामी कोही पनि निराश नबनौं । क्रान्तिकारी आशावादीताका साथ समाजवादको यात्रामा अघि बढिरहनुपर्छ ।’

विपरितहरुको एकत्व भएको हुनाले पार्टीमा विभिन्न प्रवृत्ति हुने पनि राईले बताए । ‘विभिन्न विचार र प्रवृत्तिबीच संघर्ष, विवाद हुन्छ । अन्ततः उक्त संघर्षले निश्कर्ष निकाल्दै सुदृढ एकता पैदा गरेर देशको कुशल नेतृत्व पार्टीले गर्नेछ’, कार्यकर्ताहरुको जिज्ञासालाई सम्बोधन गर्दै राईले भने– ‘हामी सबै पार्टी एकताको पक्षमा एक ढिका भएर लाग्नुपर्छ र अन्य जिल्लाको भन्दा सोलुखुम्बुको राजनीतिक पृष्ठभूमि फरक भएकाले अरु जता जेभए पनि हामी एकताको पक्षमा एक भएर लाग्नु आवश्यक छ । पार्टीमा साना–साना लाइन संघर्ष भइरहँदा हामी हतास भएर बहकिनु हुँदैन ।’

नेकपा सोलुखुम्बुको जिल्ला इन्चार्ज समेत रहेका राईले बुर्जुवाहरुले गणतन्त्रको स्वामित्व आफूले लिदैँ भ्रम फैलाउन थालेको भन्दै भ्रममा नपर्न पनि कार्यकर्ताहरुलाई सुझाए । ‘तालु खुइले गिरिजा, भारततिर छिरिजा’ भनेर जनताले घृणा गरेको गिरिजा प्रसाद चाहिँ अन्तिममा गणतन्त्रको पिता भनेर बुर्जुवाहरुले गणतन्त्रको स्वामित्व ग्रहण गर्न खोजिरहेका छन् । गणतन्त्रको वास्तविक पिता को हो ? भन्ने कुरा जनतालाई थाहा छ’ राईले भने ‘माले, मसाले, मण्डले सबै एउटै हो भन्ने चाहिँ गणतन्त्रको पिता भन्ने कुराको भ्रम बुजुवाहरुले छरिरहेका छन् ।’

त्यसैगरी विकास निर्माणको कार्य पनि तिब्र भएको तर आफुले चाहेअनुरुपको गतिमा अझै हुन नसकेको राईले बताए । ‘वितमा ४६ देखि ७४ सालसम्मको अवधिलाई हेरौं । त्यो ३० वर्षको अवधिमा नेपाली कांग्रेसले सत्ताको बागडोर सम्हाल्यो । तर विकासको गति कति भयो ? हामीले हेर्न सक्छौं । तर नेकपाले सत्ताको बागडोर सम्हालेसँगै ७४ यता ३ वर्षको अवधिलाई हेरौं । विकासको गति कहाँ पुगेको छ ? उनिहरुले तीस वर्षमा नगरेको विकास तीन वर्षमा भएको छ । तर कम्युनिष्टहरुले चाहेको गतिमा विकास हुन सकेको छैन’ राईले भने ।

जनता र कार्यकर्तासँगको भेटमा जोड दिदैँ महाकुलुङको छेस्काम, बुङ, पेल्माङ, सोताङको सोताङ बजारलगायत एकै दिन राईले पाँच स्थानमा भेटघाट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार