मिसेस तामाङ २०२० को ताज आकृतिले जितिन

काठमाडौँ । एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ २०२० को ताज आकृति तामाङले जितेकी छिन ।

मिसेस तामाङले ताजसँगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी छिन् । त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिनाकुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका छन् ।
बागमती प्रदेशको उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा विशेष अतिथिहरु पूर्वमन्त्री पर्शुराम तामाङ र धनबहादुर घले थिए । विगत ३ वर्षदेखि एस.के. इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशव थापा, शान्ति वाईबा तामाङ, रोशन तामाङ, बिरेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए ।

प्रतियोगिताका विजेताहरुले नगद रुपयाँ ५०, २५, १५ र १० हजार सहित विभिन्न उपहार समेत पाएका थिए । तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एवं रहन-सहनलाई उजागर गर्दै विवाहित गृहिणी/व्यवसायिक तामाङ महिला दिदि-बहिनि मार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ २०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य भएको आयोजकको भनाई छ ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिनासम्म विशेष प्रशिक्षण लिएका थिए । प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न, आत्मा विश्वास बढाएर भोलिको दिनमा तालिमबाट सिकेको कुराहरुलाई उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक तामाङले बताए । सौन्दर्य प्रतियोगीताले विवाहित तामाङ नारिबीच व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि विश्वास्त भएको बताए । प्रतियोगिताको सञ्चालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार