सम्राटको नयाँ लुगा सम्झाउने ओलीको कदम

प्रतिनिधिसभा विघटन

  पत्रपत्रिका

काठमाडौं । राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन् ।

 

राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमलाई डेनिस लेखकको एउटा लोककथासँग जोड्दै यस्तो बताएका हुन् । देवका अनुसार सन् १९३७ अप्रिल ७ मा प्रकाशित ‘सम्राटको नयाँ लुगाहरू’ नामक लोककथा हन्स क्रिश्चियन एन्डरसनले लेखेका थिए । यो कथालाई सयभन्दा बढी भाषामा अनुवाद गरिएको छ । देवले आफूले यो कथा १० कक्षामा पढेको र नेपालको अहिलेको राजनीतिक परिस्थितिसँग मेल खाने बताए ।

‘यो कथा प्रतीकात्मक छ । महाराजले नयाँ लुगा लगाएर बजारमा जाँदा उनका अन्धभक्तहरूले भनेका थिए, महाराजको लुगा कति राम्रो । यसबाट महाराज खुसी भए । त्यसपछि उनलाई एउटा बच्चाले देख्यो र भन्यो-महाराज नांगै हुनुहुन्छ, यो कुरा सुनेर उनी दंग परे । बच्चाले सत्य बोल्यो । अहिले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम पनि यस्तै हो,’ देवले भने ।

उनले थपे ‘प्रधानमन्त्रीको यो कदमले विभिन्न आन्दोलनको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको छ ।’

मुलुकमा राजनीतिक स्थायित्व दिने सोचका साथ संविधान बनाएको भए पनि असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएकाले यसले अस्थिरता निम्तिएको उनले बताए । उनले भने, ‘बूढी मरीभन्दा पनि काल पल्किने खतरा भयो।’ विगतमा प्रतिनिधिसभा विघटनजस्ता धेरै घटना भएकाले त्यसलाई नयाँ संविधानले हटाएको स्मरण गर्दै उनले संविधान निर्माण गर्दा विघटनका घटना र विषयमा धेरै बहस भएको थियो। ‘संविधानको धारा ७६ को कुनै पनि उपधारामा विकल्प दिने सरकार हुँदाहुँदै विघटनको प्रावधान राखिएको छैन,’ उनले भने । संविधानले जनताको सर्वभौमसत्ता संसद्मा छ भनेको भए पनि प्रधानन्त्री ओलीले आफैंले प्रयोग गरेर संविधानविपरीत कार्य गरेको आरोप उनले लगाए । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार