ओलीले आफ्नो अयोग्यता संसद् र संविधानमाथि पोखे : पौडेल

राष्ट्रपतिबाट आशा थियो तर त्यहाँ आँखा चिम्लेर हस्ताक्षर धस्काइयो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको असंवैधानिक काम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अयोग्यता पोखेको बताएका छन् ।

झन्डै तीन वर्ष दुई तिहाइको सरकार चलाएर असफल भएका ओलीले संसद र संविधानमाथि आफ्नो अयोग्यता पोखेको बताएका हुन् ।

जनता समाजवादी पार्टीले सोमबार सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा पौडेलले न्यायमूर्तिहरूले राष्ट्रप्रतिको विवेक लगाउनुपर्ने बताए । उनले संसद विघटनको कदम सरकारको नभई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको भएको धारणा राखे । ‘यो कदम सरकारको होइन । मन्त्रीहरू यहाँ हुनुहुन्छ । प्रधानमन्त्री केपी ओलीको सिफारिस हो जसमा राष्ट्रपतिले आँखा चिम्लेर हस्ताक्षर धस्काउनुभएको हो,’ पौडेलले भने ।
विगतमा पनि प्रधानमन्त्री भएकाहरूको महत्त्वकांक्षाले गर्दा पटकपटक संसद् विघटन भएकाले अहिलेको संविधानलाई सुदृढ गरिएको पौडेलले सुनाए । उनले अब अदालतले संविधान हेरेर फैसला गर्नुपर्ने बताए । ‘अदालतले पुनःस्थापनाको फैसला नगरे कसरी मान्ने भन्ने होला लागेको छ । संविधान बनाउन त हामीले अर्कै मनसायले बनाएको हो नि ! भन्ने लाग्छ,’ उनले भने ।

प्रतिनिधिसभा विघटन गर्नु प्रतिपक्षका लागि पार्टीगत रूपमा फाइदाजनक भएपनि आफूले त्यसलाई नमानेको सुनाए । उनले सरकारले घोषणा गरेको चुनावमा आफू पनि निर्वाचित हुने सम्भावना बलियो भएको भएपनि त्यसलाई नमानेको बताए । संसद् विघटनले राष्ट्र, लोकतन्त्र र संविधामाथि आँच आएकाले प्रतिपक्षीले सडक संघर्षमा जाने निर्णय गरेको बताए । ‘जनतामाथि धोखाधडी भएको छ । मतदातामाथि अन्याय भएको छ । यसको डटेर विरोध गर्नुपर्छ,’ उनले थपे, ‘राष्ट्रपतिबाट आशा थियो तर त्यहाँ आँखा चिम्लेर हस्ताक्षर धस्काइयो । अब आशाको केन्द्र सर्वोवच्च अदालत छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार