२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

दुई हप्तापछि साझाका तीस बस सञ्चालन हुने



काठमाडौँ, ४ कात्तिक । अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् ।

काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको छ । तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम भइरहेकाले दुई सातापछि काठमाडौँ उपत्यकामा सबै बस सञ्चालन हुने साझा यातायातका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार यी ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी—रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ ।

उपत्यकाबाहिर निरन्तर सेवा

पछिल्लो समय साझा यातायातले २०७० साल वैशाखदेखि उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको भएपनि दश वर्षपछि गत असोज १६ गतेदेखि उपत्यकाबाहिर पनि आठ बस सञ्चालन सुरु गरेको छ ।

उक्त सेवाबाट यात्रुले निरन्तर सेवा पाउने पाण्डेले जानकारी दिनुभयो । अहिले काठमाडौँबाट गोरखा, बाग्लुङ, वीरगन्ज, भैरहवा र लुम्बिनीमा साझाले सेवा दिइरहेको छ । उपत्यकाबाहिर थप बस सञ्चालन गर्नका लागि रुट अनुमतिबारे छलफल भइरहेको पाण्डेले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७३, बिहिबार  ४ : ०१ बजे