दम्पत्ति मृत भेटिए

काठमाडौं । ललितपुरको लुबुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएको छ । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताएअनुसार कोठाभित्रबाट बन्द गरेको अवस्थामा दुवै जनाको शव भेटिएको थियो । नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार पोखरेल भेटेनरी सामानका सप्लायर हुन् । उनीहरुबीच पाँच महिना अघि मात्रै विवाह भएको थियो ।

पोखरेल दम्पत्तिसँगै फ्याल्टमा आमाबुबा पनि बस्ने गरेका थिए । तर, उनीहरु बालकोटस्थित छोरीको घरमा गएका वेला घटना भएको हो । आइतबार बिहानसम्म सम्पर्क भए पनि सोमबार बिहान फोन नउठेपछि उनीहरु घर जाँदा घटनाबारे थाहा पाएको भनिएको छ ।

प्रहरी सोमबार बिहान ११ बजे घटनास्थलमा पुगेको थियो । घटना भएको कोठा आसपास कुनै पनि किसिमको नोट प्रहरीले भेट्टाएको छैन । घटना पछाडिको कारण पत्ता लगाउन प्रहरीले अहिले आफन्तजनसँग सोधपुछसँगै उनीहरुको मोबाइल विश्लेषण गर्ने प्रयास गरिरहेको छ ।

घटनास्थलबाट बरामद मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको महर्जनले बताए । उनका अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार