अमेरिकन राष्ट्रपति वाइडनको प्राथमिकताबारे अमेरिकी राजदूतले गराए प्रधानमन्त्री ओलीलाई जानकारी

28 Shares

काठमाडौं । डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो वाइडनले कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नयाँ राष्ट्रपतिको विश्वव्यापी र नेपाल प्राथमिकताको बारेमा नेपाली नेताहरुसँग छलफल थालेका छन् ।

बेरीले भेटको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरेका छन् । वाइडनले सपथ ग्रहण गरेलगत्तै विहीबार राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी वाइडनको प्रमुख प्राथमिकताबारे जानकारी गराएका छन् ।


उनले छिट्टै राजनीतिक दलका नेता, सरकारका मन्त्री र उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गरेर नयाँ प्रशासनको प्राथमिकताबारे जानकारी गराउने अमेरिकी दूतावासले जनाएको छ ।

राजदूत बेरीले प्रधानमन्त्रीसँगको भेटमा भनेका छन्, ‘बाइडन प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहन्छ ।’

नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । उनले भने, ‘राष्ट्रपति बाइडन कोभिड( १९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्दछन् । त्यसका लागि राष्ट्रपति बाइडनले विश्व स्वास्थ्य सङ्गठनमा अमेरिकाको सदस्यता पुनः सुचारु गर्नेछ । उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुनस्स्थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रहरूसँगको साझेदारी पुनर्जीवित गर्नेछ,’

आफ्नो एक अग्रणी कामका रूपमा राष्ट्रपति बाइडन पेरिस जलवायु सम्झौतामा पुनः सामेल भएको भन्दै उनले अमेरिका लगायतका देशहरूको जलवायु लक्ष्य बढाउने कूटनीतिक कदमको नेतृत्व गर्ने पनि बताए । राजदूत बेरीले नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताए । उनले सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि व्यक्त गरे ।

बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थानमा केन्द्रित हुने लगायत गरी मानव अधिकारको नेतृत्व लिने पनि जानकारी दिए । यी विषयहरूमा सँगै काम गर्न आफू उत्सुक रहेको राजदूत बेरीले बताए ।

आफ्नो सपथ ग्रहण समारोहमा बाइडनले भनेका थिए, ‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ । हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न । हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार