नागरिक एप स् प्रयोगमा अनेक प्राविधिक समस्या

काठमाडौं । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदैछन् ।

विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन् ।

तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न थालेका छन् । एपमा सुरुमैदेखिनै प्रधानमन्त्रीको फोटोलाई धेरै प्रयोगकर्ताले रुचाएका छैनन् । धेरैले प्रधानमन्त्रीको साटो कुनै राष्ट्रिय विभूति, चिह्न वा सम्पदाको फोटो राख्न सामाजिक सञ्जालमा सुझाव दिएका छन् ।

साइबर सुरक्षा विज्ञहरुले एपका केही सुरक्षाजन्य प्राविधिक पक्षमा सुधार गर्न सुझाव दिएका छन् । यस्तो जानकारी दिनासाथै सरकारले साइबर सुरक्षाजन्य जोखिम ‘प्याच’ गर्ने काम गरेको साइबर सुरक्षा विज्ञ नारायण कोइराला बताउँछन् । नागरिक एप तथ्यांक सुरक्षित राख्ने र नागरिकलाई अनलाइन सेवा र सूचना दिने हिसाव सुरक्षित देखिएको कोइरालाले बताए ।

१० दिनमा एपमा साढे ११ लाख पटक साइबर आक्रमणको प्रयास भएको एक वरिष्ठ साइबर सुरक्षा अधिकारीले बताए । ‘हामीले त एप सार्वजनिक हुनुअघि नै धेरैपटक साइबर सुरक्षाका विभिन्न पक्षबाट यसको परीक्षण गरेका थियौं,’ उनले भने, ‘यो प्रणालीको सर्भरलाई सुस्त गराउने गरी र विभिन्न किसिमको प्रणालीमा अनाधिकृत पहुँच बनाउने गरी भएका साइबर आक्रमणको प्रयास ‘बाइपास’ भएको छ ।’

साइबर सुरक्षा विज्ञका ‘र्‍यान्डम नम्बर’ राखेर पहुँच बनाउन खोज्नेहरु धेरै छन् । सर्भर डाउन गर्न रिक्वेस्ट पठाउने लगायतका प्रयास गरेर सिस्टममाथि आक्रमणको धेरै प्रयास असफल भएको अधिकारीहरु बताउँछन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेल व्यक्तिगत विवरणलाई सुरक्षित राख्ने गरी एपको सिस्टम तयार गरेको बताउँछन् ।

अहिले बढी गुनासो सुरक्षाभन्दा एपमा देखिएका विभिन्न समस्यामा केन्द्रित छ । एपमा दर्ता हुन र त्यसबाट सूचना पाउने कतिपयले समस्या भोगिरहेको उनले बताए । अहिले करिब १ लाख नगरिकले यो एप प्रयोग गरिहेका छन् । प्रयोगकर्ता बढेकै दरमा गुनासो बढ्दो छ ।

कतिपय प्रयोगकर्ताले एपमा अहिलेसम्म पहुँच नै बनाउन सकेका छैनन् । एपमा विवरण भरेर दर्ता हुन नसक्नुमा विभिन्न प्राविधिक कारण हुनसक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी पोखरेल बताउँछन् ।

आफूले प्रयोग गरेको मोबाइल नम्बर अर्काकै नाममा दर्ता छ भने यस्तो समस्या आउने उनले बताए । सिम निकाल्दा मोबाइल सेवा प्रदायकलाई बुझाएको व्यक्तिगत विवरण र आफूले नागरिक एपमा भरेको विवरण फरक परे सो मोबाइलमा नागरिक एपमा दर्ता भएर सक्रिय हुन सकिँदैन । आफूले प्रयोग गरेको मोबाइल नम्बर अरुको नाममा छ भने प्रक्रिया पुर्‍याएर आफ्नो नाममा ल्याउनुपर्छ ।

नागरिकता, पासपोर्ट र निर्वाचन आयोगको नामावलीको विवरणसँग मोबाइल प्रयोगकर्ताको व्यक्तिगत डिटेल मिल्नैपर्ने गरी एपलाई सुरक्षित राख्न खोजिएको छ । नाम वा विवरण भर्न नमिल्दा पनि खाता नखुल्ने समस्या हुन्छ ।

व्यक्तिगत विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सरकारी परिचयपत्र जारी गर्ने निकायले डिजिटाइज्ड नगरेको अवस्थामा पनि यस्तो समस्या हुन सक्छ ।

कतिपय अवस्थामा जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, निर्वाचन आयोगको डिजिटल तथ्यांकीय प्रणालीमा राखिएका विवरणमा गल्ती भएको पनि हुन सक्छ । त्यसैले यस्ता अवस्थाको मूल्यांकन गरेर प्रयोगकर्ताले सम्बन्धित निकायमै गएर यसबारे सोधपुछ गर्न सक्छन् ।

गृह मन्त्रालयले नागरिकताको विवरणमा भएको त्रुटि सच्याउन मिल्ने गरी सूचना नै जारी गरिसकेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी पोखरेलले बताए । आईओएस ९एप्पल०का प्रयोगकर्ताले एप नखुल्ने समस्या भोगिरहेका छन् । विशेष गरी आइफोन ६ सम्मका एपल डिभाइसमा यस्तो समस्या आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार