गोकुल बास्कोटाले अश्लील बोल्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक [अडियोसहित]

Facebook Debugger

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) सँग कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएको छ ।


सञ्चारमन्त्री बास्कोटाले स्वीस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग कुन ट्रयाकबाट जाँदा कमिसन बढी पाइन्छ भन्नेबारे सल्लाह गरेको अडियो सार्वजनिक भएको हो । अडियोमा स्वीस एम्बेसी आउने भन्दै एजन्टले मन्त्रीसँग समय मिलाउन भनेका छन् । मन्त्री बास्कोटाले ‘नर्मलमा ५० आउँछ ?’ भनेर सोधेका छन् ।
समान्य तवरबाट काम गर्दा थोरै कमिसन आउने भएकाले मिश्रले ‘आउट अफ ट्रयाक’बाट जान मन्त्रीलाई सुझाएका छन् । यो प्रक्रियाबाट कुल ७० देखि ७४ करोड कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्रीलाई मिल्ने मिश्रले मन्त्रीलाई बुझाएका छन् । ५४–५५ करोड मन्त्रीको हात पर्ने मिश्रले बताएका छन् ।
मन्त्रीले अडियोमा एजेन्ट (मिश्र)लाई कति प्रतिशत आउँछ त भनर समेत सोधेको पनि सुनिन्छ । मिश्रले ३० प्रतिशत आफूलाई आउने र त्यो एकदम पारदर्शी हुने बताएका छन् । मिश्रले १५–१६ करोड आफूलाई आउने बताएका छन् ।
मन्त्री बास्कोटाले अडियोमा २५ देखि २७ अर्बको परियोजना बनाउन लागेको बताएको सुनिन्छ । एजेन्ट मिश्रले पनि परियोजना जतिको बन्छ त्यसकै आधारमा प्रतिशत निर्धारण हुने बताएका छन् । मिश्रसँग मन्त्री बास्कोटाले कर्मचारीसँग कसले कुरा गर्ने भनेर प्रश्न सोधेका छन् । उनले कर्मचारीसँग आफूले कुरा गर्दा हेप्ने भएकाले एजेन्टलाई नै त्यसमा लाग्न भनेका छन् । एजेन्टले मन्त्रीको प्रस्तावमा सहमति जनाएका छन् ।
मिश्रले कुनै कर्मचारीतर्फ संकेत गर्दै ‘उसले बनाएर राखिसकेको छ’ भन्दा मन्त्री बास्कोटाले यता २७ अर्बको निस्कियो भने उता २८ अर्बको बनाउन मिश्रलाई भनेका छन् । उनले मिश्रले यो परियोजनामा ५०–६० मिलियन युरो (साढे ६र७ अर्ब रुपैयाँ) तलमाथि गर्न खोजिएको दाबी गरेका थिए ।
प्रतिस्पर्धाका आधारमा सेक्युरेटी प्रिन्टिङ स्थापना नगर्दा राज्यले ६ देखि साढे ९ अर्ब क्षति बेहोर्ने उनको दाबी थियो । विज्ञ मिश्रका अनुसार स्वीट्जरल्यान्डको केबीए नोटासिस कम्पनीले २०० मिलियन युरोमा नै नोटसहित सबैखालको सुरक्षण मुद्रण स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पुगेको पनि थियो । तर, त्यसलाई प्रक्रियामा सहभागी नै गराइएन । अहिले गर्न लागिएको सम्झौताअनुसार नोट छाप्ने प्रेस थप्दासम्म ३ सय मिलयन युरो खर्चिनुपर्ने हिसाब–किताब उनले सुनाएका थिए । साढे ७ देखि १० अर्ब झ्वाम पार्ने नियत सरकारको देखिएको उनले दाबी गर्दै आएका छन् ।

अडियो कुराकानी :

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार