२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी


५ फाल्गुन २०७७, बुधबार  

0
Shares

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए ।

बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट पनि सहभागी थिए ।

तर, भट्टको बलात्कारपछि हत्यामा उनकै संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । प्रहरीले भट्टलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर बुधबार दिउँसो ११ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा भट्टलाई यसअघि पनि बोलाएर सोधपुछ गरिएको थियो ।

‘सोधपुछ गरे पनि अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आधार देखिएकाले तीन जनालाई क्लोज सर्भिलेन्समा राखेका थियौं’, उनले अनलाइनखबरसँग सुनाए, ‘अन्त्यमा सबै वस्तुस्थिति र प्रमाणले भट्ट नै घटनामा संलग्न भएको देखियो ।’

प्रहरी निगरानीमा रहेका व्यक्ति नै प्रदर्शनमा आउन थालेपछि संघर्ष समितिका व्यक्तिसँग आन्दोलनलाई राकिदिन पनि अधिकृतहरुले आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ३७ बजे