हामी तङ्ग्रिदै छौं, फेरि चाँडै गुञ्जिनेछौं ‘सोलु एफ.एम.को तरङ्ग’ भन्दै : अध्यक्ष श्रेष्ठ

2.3k Shares

पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. मा आगलागी भएको महिना दिन हुनै लागेको छ । फागुन १६ गते राती अकस्मात लागेको आगलागी पछि १०१.२ मेगाहर्जको फ्रिक्वेन्सी ट्यून गर्दा स्याँ ……भन्दा अरु बज्दैनन् । रेडियो नै नबजेपछि नियमित स्रोताहरुले सुखदुःखमा साथ दिने एउटा साथी सदाका लागि गुमाए जस्तो आभाष गरिरहेका छन् । सधैं रेडियोमा बोलिरहन बानी परेका रेडियोकर्मीलाई मुखमा पट्टि बाँधे जस्तो भएको छ । बसिरहेको घरमा आगो लगाएर बासै उठाए जस्तो महसुस रेडियोकर्मीले गरेका छन् । आफ्ना जिन्दगीकै महत्वपूर्ण हिस्सा खर्च गरेका क्लवका पदाधिकारीहरु आफूहरुको सपना माथि बम प्रहार भए जस्तो मानिरहेका छन् ।

‘बिहान सबेरै उठेर क्लवको खेलमैदानमा गएर शारीरिक व्यायम गर्ने, क्लवका सदस्यहरुसँग भेटघाट गर्ने, विभिन्न विभागका प्रमुख तथा पदाधिकारीहरुसँग बैठक बस्ने, सोलु एफ.एम.का कर्मचारीहरुसँग हाई हेल्लो गर्ने योङ स्टार क्लव एवं सोलु एफ.एम. सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठको दैनिकी सोलु एफ.एम. जलेपछि कसरी चलिरहेको होला ? काठमाडौमा बसेर त्यहाँको अवस्था सम्झिँदा मेरो मनमा यही कुरा खेलिरह्यो र यहीं खुल्दुलीबाट कुराकानीको सुरुवात गरें ।

सोलु एफ.एम.मा अकस्मात आगलागी भएको २० दिन भईसकेको छ । यो २० दिनको अवधि कसरी गुजार्नुभयो ?

मेरो जिन्दगीको सबैभन्दा नमीठो क्षण । जहाँ जसरी म बिहान बेलुकी नै नपुगी हुँदैनथ्यो । आफूले जन्माएको, हुर्काएको संस्थामा दन्दनी आगो बल्दा मेरो मन पनि बल्यो, जल्यो । धेरै दिनसम्म रेडियोको स्टुडियो जलेको दृश्य आँखामा आईरह्यो । मनलाई धेरैदिनसम्म सम्हाल्न पनि गाह्रो भयो । घुम्दै फिर्दै त्यहाँ पुग्छु म एकोहोरो भईहाल्छ । जाँदिन, हेर्दिन भनेर पनि नहुने रहेछ । मन भावनात्मक रुपमा कमजोर हुँदो रहेछ यस्तो अवस्थामा ।

हाम्रा साथीहरु पनि मनलाई सम्हाल्न नसकी विचलित भएको अवस्था थियो । रेडियोका लागि आवश्यक उपकरण किन्दा पनि लाखौं पर्ने सामानहरु सोच बिचार गरेर मात्र खरिद गरौं भन्ने पनि भयो भने कतिले हामीलाई भौतिक रुपमै उपकरण दिन्छौं भन्ने प्रतिबद्धता पनि आउन थाले । 

हिजोकै समयमा नपुग्नु, हिजोको जस्तो माहौल नहुनु आफ्नो ठाउँमा छ । तर ती हिजोका सम्पतिहरु पाउन नसकेपनि जुटाउन त सक्छौं भन्ने हिम्मत आएको छ । मनलाई सम्हाल्दै हामी अगाडि बढिरहेका छौं । अब यसलाई उठाउनुपर्छ, जुट्नुपर्छ र जुटाउनुपर्छ । हामी सँगसँगै छौं, हामी उठाउँछौं भनेर हामीलाई माया गर्ने सहयोगीहरुले गर्दा बिहान बेलुका पहिलेको भन्दा पनि बढी समय खटिरहेका छौं । हामी सबै सँग प्रतिबद्धता जाहेर गर्दै अगाडि बढिरहेको अवस्था छ ।

विपदको समयमा जुन किसिमको पीडा भयो, जुन किसिमको सहन नसक्ने बेदना भयो, त्यो बेदनालाई मलम लगाउने काम श्रोताहरु, संसारको जुनसुकै ठाउँमा बस्नु भएका हाम्रा क्लवका सदस्यहरु, सोलुखुम्बुका साथीहरु, देशकै साथीहरु र संसारकै साथीहरुले सहयोग गरेर हाम्रो घाउमा मलम लगाउने काम भएको छ । हामी विस्तारै जुट्दै छौं, उठ्दैछौं । यो २० दिनको समय हामीले हेर्दा त्यत्रो दिन भयो र भन्ने जस्तो पनि लाग्छ । तर २० दिन वितिसकेछ । हामीलाई अहिले पनि निद्रा, भोक प्यास छैन । हामी फेरि ठडिन्छौं, उभिन्छौं र हिजोकै अवस्थामा पुनःस्थापित हुन्छौं भन्ने अठोटका साथ अगाडि बढिरहेका छौं ।

आगोले ध्वस्त भएको सोलु एफ.एम. कहिले प्रसारणमा आउँछ भन्ने धेरैको चासोको बिषय बनेको छ । रेडियोको प्रसारणको लागि के कस्ता प्रयास भईरहेका छन् ?

फागुन १६ गते जुन दिन हाम्रो मनको तार चुँडिएको थियो । त्यो तारलाई जोड्नका लागि हामी त्यो दिन देखि नै प्रयत्नरत रह्यौं । हाम्रा सहयोगी हातहरुले सहयोगी मनहरुले धेरै हामीलाई साथ दिदै आउनुभयो । हाम्रा स्रोता वर्गले पनि हामी तपाईहरुसँगै छौं भनेर फोनहरु मार्फत र सामाजिक सञ्जालबाट भन्नुभयो । त्यसपछि हामी विस्तारै तङ्ग्रिन लाग्ने अवस्थामा छौं । संसारको जुनसुकै ठाउँमा रहनुहुने सहयोगी मन, सहयोगी हातले हामीलाई सहयोग गर्नुभयो । हामीले रेडियोलाई चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन प्रयासरत छौं । विभिन्न संघसंस्थाहरुले पनि हामीलाई भौतिक सामग्रीहरु उपलब्ध गराउनु भएको छ ।

हामीलाई करिब ६०/७० लाख रुपैयाँ सहयोग जुट्ने अपेक्षा गरेका छौं । बाँकी रकम हामी आफैले इन्भेष्ट गरेर हाम्रो रेडियोलाई हिजोकै अवस्थामा पुर्‍याउन प्रयत्नशील छौं ।

जहाँसम्म रेडियो सञ्चालनको कुरा छ, हाम्रो स्टुडियो पूर्ण रुपमा भताभुङ्ग भएको कारणले गर्दा हाम्रो रिपिटरबाट अस्थायी तरिकाले सुरुवात गरौं भनेर जुट्दैछौं । सम्भवतः हामी शुक्रबार वा शनिबारबाट रिपिटर टावर पत्तालेबाट भएपनि प्रसारण गर्ने अवस्थामा पुगेका छौं । अहिलेको अवस्थामा हामीसँग उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरेर सीमित समय र सीमित कार्यक्रमहरु मात्र प्रसारण गर्छौ । किन भने प्राविधिक हिसाबले सबै कार्यक्रमहरु रिपिटर टावरबाट सम्भव पनि हुँदैन । हामी सबै स्रोताहरुमा यही निवेदन गर्न चाहन्छौं ।

यत्ति धेरै लामो समयसम्म रेडियो बन्द हुनुपर्ने थिएन भन्दै चाँडै रेडियो सञ्चालनमा आओस् भन्ने शुभेच्छा व्यक्त गरिरहेका छन्, सामाजिक सञ्जालमा । के कति कारणले रेडियोलाई पुनः प्रसारणमा ल्याउन ढिलाई भएको हो ? यसबारेमा पनि बताईदिनुहोस् ।

हो एकदमै हो, हामी चाँडै श्रोता समक्ष पुग्नुपथ्र्यो । रेडियो बजाउनुपथ्र्यो । तर हामी गाउँमा गयौं, बस्तीहरुमा पुग्यौं । हाम्रा रेडियोको उपकरण मात्र होइन मन पनि जलेको थियो । हाम्रा रेडियो स्टाफहरु पनि गाउँमा जानुभयो । जिल्ला जिल्लामा परिचालित हुनुभयो । केही आर्थिक संकलनका लागि हातहरु अगाडि बढायौं । हाम्रा कर्मचारी साथीहरु पनि गाउँ गएको अवस्था र हामीसँग उपकरण तथा स्थानकै अभावमा पनि मन सम्हाल्न नसकेको अवस्था थियो ।

हाम्रा साथीहरु पनि मनलाई सम्हाल्न नसकी विचलित भएको अवस्था थियो । रेडियोका लागि आवश्यक उपकरण किन्दा पनि लाखौं पर्ने सामानहरु सोच बिचार गरेर मात्र खरिद गरौं भन्ने पनि भयो भने कतिले हामीलाई भौतिक रुपमै उपकरण दिन्छौं भन्ने प्रतिबद्धता पनि आउन थाले । कुनै संस्थाले हामीलाई उपकरण नै दिन्छ भने हामीले त्यसमा किन खर्च गर्ने त ? बरु त्यो रकम अर्को उपकरणमा खर्च गरौंला भन्ने पनि भयो । यसरी सबै कुराको तारतम्य मिलाउँदा केही समय लिएकै हो । तर अब हामी मजबुतका साथ फेरि आउँदैछौं । फेरि सुरुवात गर्नेछौं । सम्पूर्ण श्रोताहरुलाई हामी यही सन्देश दिन चाहन्छौं । तपाईले दिनुभएको अपार माया हामी कहिल्यै पनि भुल्ने छैनौं । त्यो मायालाई टुट्न दिने छैनौं । हामी सदैव तपाईको साथमा हुनेछौं ।

करिब १ करोड २० लाखको क्षति भएको रेडियोमा अहिलेसम्म सहयोग मार्फत कति रकम संकलन भएका छन् ?

सबैबाट प्रतिबद्धता भएको र संकलन भएको रकम सहित करिब ४० लाख रुपैयाँ जत्ति नगद र उपकरण सहित करिब ५० लाख रुपैयाँ जत्तिको प्रतिबद्धता भईसकेको छ । प्रतिबद्धता गरिएको रकम दिन प्रतिदिन संकलन हुने क्रममा छ । अरु अझै जुटाउने पक्षमा छौं । हामीलाई सबैको साथ सहयोग माया प्राप्त हुने क्रम छ । हामीलाई करिब ६०/७० लाख रुपैयाँ सहयोग जुट्ने अपेक्षा गरेका छौं । बाँकी रकम हामी आफैले इन्भेष्ट गरेर हाम्रो रेडियोलाई हिजोकै अवस्थामा पुर्‍याउन प्रयत्नशील छौं ।

सोलु एफ.एम. पूर्ण कार्यक्रम सहित हिजोकै अवस्थामा फर्किन कति समय लाग्ला ? के कस्तो योजना बनाईरहनु भएको छ ?

जहाँ ध्वंस भएको छ, त्यो ठाउँमै अत्याधुनिक स्टुडियो बनाउने एउटा पाटो छ भने अर्को चाहिं पुरानो स्टुडियो जस्तै बनाएर त्यही भवनको अर्को कुनाबाट रेडियो सञ्चालन गर्ने भन्नेछ । तर अहिलेसम्म हामी निष्कर्षमा पुगिसकेका छैनौं । हामीले सोचेजस्तो अत्याधुनिक बनाउन करिब करिब चार पाँच महिना लाग्न सक्छ । त्यही चार पाँच महिनाको बीचमा हामीले सम्पूर्ण उपकरण सहित अत्याधुनिक उपकरण सहित जडान गरेर पुरानो स्टुडियो भएको ठाउँबाट सञ्चालन गर्नेछौं । दिनहुँजसो बोर्डका सदस्यहरु, रेडियोकर्मी तथा विज्ञ साथीहरुसँग छलफल भईरहेको छ । तपाईहरु हिजोका रेडियोकर्मीहरुसँग पनि सल्लाह सुझाव लिएर अगाडि बढिरहेका छौं । हामी चाँडै अत्याधुनिक रेडियो बनाउँछौं भन्ने अठोट छ ।

अन्त्यमा सोलु एफ.एम.लाई दुःखमा सहयोग गर्ने सहयोगीहरु, शुभचिन्तकहरु र श्रोताजनका लागि यहाँको के सन्देश छ ?

हामीले यो विपदमा थाहा पायौं कि हामीलाई हाम्रा स्रोताहरु तथा शुभचिन्तकहरुले औधी माया गर्नुहुँदो रहेछ भन्ने । हामीलाई सबैको अपार माया प्राप्त भएको छ । यहाँहरुको माया हिजो पनि थियो, आज पनि छ, भोलि पनि गर्नुहुनेछ । संसारको जुनसुकै ठाउँमा बसेर पनि हामी प्रति देखाउनुभएको अपार माया, सहयोग र सदभावकै कारण हामीले अहिलेको अवस्थाबाट माथि उठ्ने साहस बटुलेका छौं । आज जुन दुःखको घडीमा साथ र सहयोग गर्नुभएको छ, हामी कहिल्यै पनि भुल्ने छैनौं, हामी सदैव यहाँहरुको ऋणी हुनेछौं ।

सामुदायिक रेडियोको सञ्चालन, संरक्षण र सम्बर्द्वन गर्ने दायित्व तपाई हामी सबैको हो । यही ध्येयले हामीलाई सहयोग गरिरहनुभएको छ । तपाईको थोपा थोपा सहयोगले नदी बन्नेछ । हामीलाई अझै तपाई र साथ र सहयोगको आवश्यकता छ । तपाईको सहयोग पनि बिना हाम्रै प्रयत्नले मात्र हामी हिजोको अवस्थामा पुग्न सक्दैनौं । अन्त्यमा यहाँहरुलाई जत्ति धन्यबाद दिए पनि अपुग हुन्छ । यहाँहरुलाई सबैलाई लाखौं करोडौं धन्यबाद ।

सगरमाथा अनलाइनका सल्लाहकार सम्पादक पी.टी. लोप्चनले गर्नुभएको कुराकानीमा आधारित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार