सगरमाथामा नेपाली उत्पादन ‘राईको’ ब्राण्डको बर्चश्व

1k Shares

विदेशीहरुले अनेक बहानामा दिएको ठक्करकै कारण परिकल्पना गरिएको हो ‘राईको’ ब्राण्ड । केहि लाखबाट शुरु गरिएको यो ब्राण्ड अहिले करोडौं मूल्यको कारोबार गर्ने व्यवसाय बनेको छ । त्यत्तिमात्र होईने यो ब्राण्डले सयौंलाई रोजगारी पनि दिएको छ ।

विशेष गरी हिमाल आरोहणमा चाहिने विभिन्न सामानहरु महँगो मूल्यमा विदेशबाट ल्याउनु पर्ने झन्झट समेत हटेको छ । अब स्वदेशी ब्राण्डको डाउन सेट लगाएर नै विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमालहरु आरोहण गर्न सकिन्छ । ‘राईको’ ब्राण्डको माग युरोपेली बजारमा पनि भैरहेको छ । उच्च हिमाली क्षेत्र र अत्याधिक चिसो ठाउँमा न्यायो कपडाको आवश्यकता पर्छ । त्यसैले युरोपका विभिन्न देशमा समेत यो ब्राण्डको डाउन ज्याकेट लगायत न्यायो कपडाहरु निर्यात हुने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

‘राईको’ ब्राण्डका संस्थापक एवं सञ्चालकमध्ये एक विनोदमणि राई पछिल्लो समय झनै व्यस्त छन् । वसन्त ऋतु (स्प्रिङ सिजन) शुरु भएसँगै संस्थापक राई पनि व्यस्त भएका हुन् । सगरमाथा लगायत अन्य हिमालहरु आरोहण गर्न यो सिजन नै सबैभन्दा उपयुक्त मानिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाईला राख्ने सर एडमण्ड हिलारी र तेञ्जिङनोर्गे शेर्पाले पनि स्प्रिङ सिजनमै सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसैले पनि यो सिजनलाई आरोहणको सिजन भन्दा दुईमत नहोला ।

स्प्रिङ सिजन शुरु भएयता एक्सपीडिसनमा जाने समूहले आरोहण दलका सदस्यहरुलाई चाहिने सम्पूर्ण सामानहरु संकलन गर्न थाल्दछन् । हिमाल आरोहणका लागि चाहिने सम्पूर्ण सामानहरु पछिल्लो समय नेपाली उत्पादन ‘राईको’ ब्राण्डले गरिरहेको छ । त्यसैले पनि संस्थापक राई यो समयमा व्यस्त छन् । छोटो समयमै ‘राईको’ ब्राण्डले पाएको सफलता र संघर्षको विषयमा सगरमाथा अनलाईनका सम्पादक बुद्धवीर बाहिङले गर्नुभएको कुराकानीको आधारमा तयार पारिएको सफलताको कथा ।

हामीले विशेषतः यहाँ नक्कली ब्राण्ड मात्रै बेचिराख्ने । त्यसले के गरायो भने ग्राहकहरुप्रति उत्तरदायित्व पनि बहन नगर्ने । बेच्यो सकियो । अब सक्नेले ओरजिनल भन्यो । ५ हजारलाई २० हजार लगाएर पनि बेच्ने । नसक्नेले ५ सय रुपैयाँ खाएर पनि बेच्ने एउटै सामानलाई । त्यस्तो अवस्था आउँदै गर्दा विदेशीहरु धेरै जनाले कम्ल्पेन पनि गर्नु भयो । हामी स्वयम आफैलाई पनि तिमीहरुले यसरी बेचिराछौं । तिमीहरुले यसरी बेच्नुको अर्थ के रह्यो । यत्रो तिमीहरुले लगानी गरेका छौं । यत्ति मेहनत गरेका छौं । विश्वको सबैभन्दा सुन्दर देश हिमालहरु छ, तिमीहरुको देशमा । ८ हजार मिटरभन्दा माथिको उचाई भएको हिमाल सबै तिमीहरुकैमा छ । भनेपछि तिमीहरु किन यस्तो गर्छौ ? एक जना होइन दुई जना होइन । प्रत्येक दिन हामीसँग संसार भरका विदेशी पर्यटकहरुले यही प्रश्न गरिरहे ।

प्रत्येक पसलमा त्यही नर्थफेस झुण्डिएको छ । सबैतिर उस्तै देखिने दाम फरकफरक पर्यो । एक जना विदेशीले मलाई के भन्यो भने नेपालीको दिमाख रहेनछ ? किन दिमाख छैन भनेर मैले सोद्धाखेरी उसले भन्यो ‘जताततै कपिमात्रै गरेको छ । तिमीहरुले खै दिमाख प्रयोग गरेको ? यस्तो सुन्दर देशमा ।’ म होल ठमेल घुमे यत्ति धेरै पर्यटकहरु छन् । ती पर्यटकहरु एकै देशका छैनन्, विभिन्न देशका छन् । संसार भरको पर्यटकहरु छन् । तर, तिमीहरुले आफ्नो देशलाई चिनाउने पनि एउटा आउटडोर ब्राण्ड बनाउन सक्दैनौं ? त्यत्ति दिमाख लाउन सक्दैनौं । त्यसो भनिसकेपछि मलाई बल्ल होस खुल्यो । यसले भनेको त कुरा ठिक हो । अरुबेला त विदेशीले हामीलाई हेपे भन्ने एक किसिमको भावना आउँथ्यो । त्यो बेलाचाँहि एउटा उर्जा आयो । ओहो यसले भनेको कुरा सही हो ।

ब्राण्ड कसरी बनाउने भन्ने केहि साथीहरुसित सल्लाह गर्यौं । केहि समयको छलफलपछि यो ब्राण्ड कसरी क्रियट भयो भन्दा शुरुमा हामी ठमेलमा शेर्पा साथीहरु हाम्रो पसलमा आउजाउ हुने । उनीहरु आउजाउ हुँदा एकले अर्कोलाई कहाँ छौं भन्दा राईको दोकानमा छु भन्थ्यो । चिया अडर गर्दा पनि राईको दोकानमा भनेपछि हो भनिथ्यो । पछि सबैले राईको दोकान भन्छन् । ल ठिक छ एउटा राईको भन्ने ब्राण्ड राखौं न त ! भनेर मैले एउटा ईम्याजिन गरेको हो ।

हामी विदेशीहरुसँग प्रत्यक्ष रुपमा दैनिक भेट हुने भएकाले हाम्रो ब्राण्डको परीक्षण गर्न पनि सजिलो भयो । किनकी हामी आफै प्रत्यक्ष रुपमा खटिने भएकाले पनि सजिलो भयो । केहि सामानहरु राईको भनेर बनाईयो । मैले पनि लगाएर परीक्षण गरे । मेडईन नेपाल लेखेपछि विदेशीहरु यत्ति धेरै गौरव फिल गर्ने । वाऊ नेपालको उत्पादन पाईयो भनेर खुशी भएको देख्दा अझ उर्जा मिल्दै गयो ।

राईको ब्राण्डमा संस्थापक लगानीकर्ताहरु समकालीन छौं । एकै साल एसएलसी पास गरेर काठमाडौं आएर सँगै ठमेलमा काम गरेर कलेज पढ्दै गरेको अवस्था थियो । त्यत्तिबेला साथीहरुले पनि भने होइन के गर्ने हो ? अब हामीले पनि केहि गरौं ? भन्ने कुराहरु, छलफल हुँदै जाँदा संयुक्त केहि काम गरौं । हाम्रो आउटडोर फिल्ड हो । ल गरौं भन्ने कुरा भयो । मैले एउटा पसल सुरु गरिसकेको छु । राईको ब्राण्ड सुरु गरिसकेको छु । परीक्षण पनि भैसकेको छ । यसको रेस्पोन्स राम्रो छ । यसैमा जोडिउ न त ? भन्ने मैले प्रताव ल्याएपछि सबै साथीहरुले खुशीका साथ सहमती जनाउनु भयो । त्यसपछि हामी त्यसमै समाहित भएर जाउँ न त भनेर हामीले यो ब्राण्डको सुरुवात गर्यौं । त्योभन्दा अगाडिसम्म डकुमेन्टेसन केहि भएको थिएन । मात्रै मैले टेष्ट गरिरहेको थिए । त्यसपछि हामी ५ जना साथीहरु मिलेर फेरी लगानी पनि बढाईयो । अफिसियल दर्तासँगै हरेक कामहरु गर्दै आइयो । पछि राईको ब्राण्डलाई संस्थागत बनाउँदै जानु पर्छ भन्ने उद्देश्यले अहिलेसम्म आईपुगेको हो ।

शुरुवातमा हामीले राईको ब्राण्ड बनाउनको लागि आधिकारिक रुपमा दर्ता गर्न जाँदा हामीलाई जातियताको बिल्ला भिराईयो । हुनतः त्यसको नियमावली खोज्दै जाँने हो भने कहाँ के के हो ? उद्योग विभागबाट हामीलाई स्वीकृति दिइएन । जातिय देखियो भन्ने कुराले हामीलाई रोक्नु भयो । हामीले धेरै प्रयास गर्यौं तर त्यो भएन । वहाँहरुको बोर्ड मिटिङ राखेर पनि दुई तीन चरणमा छलफल भयो, कुराकानी भयो । तर जातिय भयो भनेर भएन । हामीले विभिन्न विदेशी ब्राण्डहरुको उदाहरणहरु पनि पेश गर्यौं । जस्तैः होण्डा, टाटा, नेपालमा शेर्पा भन्ने ब्राण्ड नै भनौं । यी यस्ता ब्राण्डहरुको बारेमा हामीले वहाँहरुलाई पेश गरियो । ठिक छ यी सबै कुराहरुलाई हेरेर फेरी पुनः विचार गरिन्छ भनेर भन्नु भयो । अनि हामी फेरी अर्को पटक बैठकमा गइयो । पछि अन्तिममा धेरै पटक कोशिस गर्दा पनि त्यो हुन सकेन । अन्ततः राईको नै भयो ।

अहिले हामीले विशेष गरि आउटडोरसँग सम्बन्धित सामानहरुनै मुख्य उद्देश्य हुन । त्यस बाहेक राफ्टिङ जानेदेखि लिएर हिमाली भेगमा प्रयोग गर्न सकिने, माउण्ट एभ्रेष्ट समिट गर्ने, क्लाईमिङ गर्नेसम्मको इक्युपमेण्टहरु हामीले बनाउँछौं ।

शुरुमा मैले १५ हजारदेखि यो व्यवसाय शुरु गरेको हो । पछि साथीहरु जोडिनु भयो । त्यसपछि १३ लाखदेखि यो व्यवसाय शुरु गरेका हौं । पछि नाफा र शेयर लागत पनि थप्दै गयौं । अहिले हाम्रो कुल पूँजी लगभग १ करोड हाराहारीको पुगेको छ । वार्षिक ट्रान्जेक्सन त हाम्रो ५ करोड जत्तिकै हुन्छ । शुरुमा यो व्यवसाय सञ्चालन गर्दा म मात्रै थिए । पछि ४ जना साथीहरु जोडिनु भयो । त्यसपछि हामी अहिलेसम्म ५ जना छौं ।

शुरुमा हामी आफैले एक्सपीडिसन जादाँ लगाउने विभिन्न कपडादेखि हिमाली क्षेत्रमा लगाउने कपडाहरु बनाएर बेच्दा पोजेटिभ, प्रेरणा मिल्ने प्रतिक्रियाहरु पाइरहेका छौं । हाम्रो सोच भनेको द नर्थफेस सोसरह हुनुपर्द भन्ने छ । त्यो हामी एक्लैले होइन । हाम्रो ग्राहकहरु हुनुहुन्छ, शुभचिन्तकहरु हुनुहुन्छ । विशेष गरि त विदेशी शुभचिन्तकहरु हुनुहुन्छ । बरु नेपालीलाई त्यत्ति गर्व नलाग्ने । तर विदेशीले मेड ईन नेपाल लेखिएको ब्राण्ड देख्दाखेरी गर्व महशुस गर्छन् । यहाँ के छ भने मेडईन यूएसए, मेडईन जापान भयो भने ओहो भन्ने छ चलन । मेडईन नेपाल भन्ने भयो भने ‘एहे’ यो त नेपाली रहेछ भन्ने छ । त्यो भनेको आफूसँग भएको सामान आफैलाई महत्व नदिनु जस्तो रहेछ । अन्तराष्ट्रिय विकसित मुलुकहरुका नागरिकले उसको ब्राण्ड देख्दा कति खुशी हुन्छ । एउटा प्रतिष्ठाको विषय हुने रहेछ । ब्राण्ड कस्तो हुदो रहेछ भने राष्ट्रको गहनाको रुपमा रहने रहेछ । त्यसले समग्र देशको, नागरिकको प्रतिष्ठा पनि उचो पार्दो रहेछ । हाम्रो पसलमा प्रत्येक दिन विश्वभरका पर्यटकहरुसँग भेट हुन्छ । त्यो नागरिकले आफ्नो देशको ब्राण्ड नेपालमा देख्दा यत्ति धेरै खुशी हुन्छ की वर्णण गरि साध्य छैन । तर नेपालमा चाँहि ब्राण्डको कन्सेप नभएर पनि होला । मेडईन नेपाल भएको कुनै ब्राण्ड भएपनि नेपालीहरुले खासै महत्व दिएको पाईदैन । तर, पछिल्लो समय नेपालमा पनि ब्राण्डको विस्तारै एउटा लहर चाँहि आएको छ ।

राईको ब्राण्डको डाउनसुट सबैभन्दा पहिले सन् २०१५ मै सगरमाथामा शिखरमा पुर्याउने मिसन थियो । तर, त्यो साल त्यो मिसन पूरा हुन सकेन । त्यसपछाडि अर्को साल पनि कोशिस गरियो त्यो साल पनि भएन । बल्ल सन् २०१८ मा आरोही दिकी शेर्पाले सगरमाथाको शिखरमा राईको ब्राण्डको लोगो लगायत एक्सपीडिसनमा प्रयोग हुने सामानहरु लगाएर सफलता पूर्वक आरोहण गर्नुभयो । त्यसपछि निरन्तर हाम्रो ब्राण्डको डाउनसुट र अन्य सामानहरु प्रयोग भैरहेको छ । झनै सन् २०१९ मा त ८ हजारभन्दा माथिको अग्लो हिमालमा सबैभन्दा बढि नेपालमा सिलाइएको त्यो पनि हाम्रो ब्राण्ड डाउन सुट बिक्रि भएको छ । मकालु, कञ्चनजंघा, एभ्रेष्ट, चोयु र मनास्लुमा आरोहण गर्ने आरोहीहरुले धेरैभन्दा धेरै प्रयोग गरेका थिए । अहिले पनि हामी देख्न सक्छौं प्रायः ८ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरिएको फोटोमा हाम्रो ब्राण्डको डाउन सुट लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार