आगलागी भएको २३ दिन पछि घन्कियो सोलु एफ.एम….

1.6k Shares

सोलुखुम्बु । पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्ज आगलागी भएको २३ दिन पछि घन्किन थालेको छ । सोलु एफ.एम.को पत्तालेस्थित रिपिटर टावरमा अस्थायी स्टुडियो निर्माण गरेपछि प्रसारण आरम्भ गरिएको सहयोग संकलन समितिका संयोजक एवं पूर्व स्टेशन म्यानेजर मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले केही दिनमा दोर्पुस्थित स्टेशनमै अस्थायी स्टुडियो निर्माण गरी प्रसारण गरिने र सबै उपकरण र सुबिधा सम्पन्न स्टुडियो निर्माण गरी साबिककै कार्यक्रमहरु प्रसारण गर्न भने केही समय लाग्ने जानकारी दिनुभयो ।

रेडियोकर्मीहरु पत्ताले स्थित रिपिटर टावरमै पुगेर सोलु एफ.एम.को प्रसारण आरम्भ गरिएको स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँले हालका लागि बिहान बेलुकीको सोलु समाचार बुलेटिन र गीतहरु मात्र प्रसारण गरिने जानकारी गराउनुभयो ।

‘सबैको सहयोगबाट आज हामी फेरि गुञ्जिन पाएका छौं, हामीमा दुःखको बीच फेरि खुसी सञ्चारित भएको छ, हाम्रा श्रोताहरुले फोन गरेर खुसी साटासाट गर्नुभएको छ, हामी फेरि स्रोता माझ आउन पाउँदा खुसी छौं’ उहाँले भन्नुभयो ।

सोलु एफ.एम.सञ्चालक समिति एवं योङ स्टार क्लवका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले आगलागीबाट ध्वस्त भएको रेडियोलाई पुनः ठडाउनका लागि सबैको सहयोगबाट मात्र सम्भव भएको बताउनुभयो ।

‘ विपदको समयमा जुन किसिमको सहन नसक्ने बेदना भयो, त्यो बेदनालाई मलम लगाउने काम श्रोताहरु तथा संसारभर छरिएर रहेका सोलु एफ.एम.लाई माया गर्ने साथीहरु, शुभचिन्तकहरुले गर्नुभयो । आज रेडियो प्रसारण भएको खबर सेयर गर्न पाउँदा हामी अति नै हर्षित भएका छौं । उहाँले भन्नुभयो ‘संकटको घडीमा साथ सहयोग र सहानुभूति प्रकट गर्नु हुने सबैप्रति आभार व्यक्त गर्दछौं । यहाँहरुले लगाएको गुण कहिल्यै पनि भुल्ने छैनौं ।’

सोलु एफ.एम. मा फागुन १६ गते राती आगलागी भएको थियो । आगलागीबाट रेडियो भवन तथा रेडियो उपकरण जल्दा करिब १ करोड २० लाखको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार