साहित्य यात्रामा : दिपक थापा

काठमाडौं । सानै उमेर देखि साहित्यमा कलम चलाउन थालेका दिपक थापा,भोजपुर जिल्ला,अरुण गाउँपालिका ७.न.वडा निवासी,माता हिरादेवी र पिता सल बहादुर थापाका साइलो सन्तान हुन् । स्कुले जीवन देखि कविता,गीत,गजल लेखन,विद्यालय स्तरमा प्रदर्शन हुने नाटकहरुमा विभिन्न चरित्र चित्रण गर्दै आएका थापाले,हालसम्म करिब दुई सय पचास वटा भन्दा बढी कविता लेखि सकेका छन् । सानै उमेर देखि निरन्तर साहित्यमा कलम चलाउँदै आएका थापाले त्यहि साहित्यलाई सार्थकत्ता दिने तयारीमा रहेको बताए । हालसम्म सृजना गरेका कविता छनोट गरि कविता संग्रह प्रकाशन गर्ने तयारीमा रहेको बताए । दिपक थापा राजनीतिक शास्त्र र कानुनका विद्यार्थी हुन् । तैपनि साहित्य सृजना भनेको थापाको जीवनमा एउटा अपरिहर्य पाटो भएको बताउछन् । त्यसैले साहित्य सृजना ,कविता लेखन जीवनको अन्तिम घडीसम्म निरन्तरता राख्ने अठोट गरेका छन् । स्नातकोत्तर राजनीति शास्त्र,स्नातक कानुन र एम.पि.ए,अध्ययनरत दिपक थापा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी वरिष्ठ एनेन्सी म्यानेजर र लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डसका अध्यक्ष साथै सूचना हक अभियन्ता समेत हुन्

भुलक्कड बटुवा

अहिले घाम
आमाको छातिमा नाचिरहेको छ
उहिले आमा भन्नुहुन्थ्यो
सिस्नोका झ्याङहरुमा
फुल्दछ मान्छेको जीवन
मलाई
आदर्श सिकाउने मेरी आमा
ठिक यतिखेर आश्रममा ख्याङ ख्याङ
खोकिरहेकी छिन् ।

म कोलम्बसको पैतालामा उभिएर
घटाइरहेछु सगरमाथाको उचाइ
र भाँचिरहेछु आफ्नै हातखुट्टा
किनकि, म आधुनिक दास हुँ !
वर्तमानलको लगामले मलाई नै थिचेको छ
म हरेक दिन जीवन बेचेर
निर्लज्ज मृत्युको गित गाइरहेको हुन्छु
समय यतिखेर
म हिँड्न बाटो भन्दा
पृथक बाटो भएर हिँड्न रुचाउँछ ।

ठिक यतिबेला मेरो देशले मसँग
खोजिरहेछ राष्ट्रियताको हिसाव
म असह्य मानिसको भीडमा
हराएको कुराले
इतिहासलाई बनाएकै छ दुःखी
किन हरेक दिन मेरै दीर्घायुका लागि
आमा जपिरहनुहुन्छ– ओम् मणि पद्मे हुँ !
तर म प्रकृतिले बनाइदिएको
रङ्गीन बाटो भत्काएर
हिँडिरहेको छु
गन्तव्य बिर्सने भुलक्कड बटुवाझैँ !

पहिलो सहिद !

जहरको नदीमा काँचको पुल थियो
बेखबर बाँचेको समयको हिसाब
ताम्रापत्र, शिलालेख वा अरु…
वैकल्पिक थिए प्रयासहरु !

धागो र काँचको घर एकै दिन रोएका थिए
झोला र सपना एकै दिन नदीमा नाउ बनेर
प्रताडित थिए–
सबैको आँखामा आँसुको तलाउझैं !

म खोलाको गीत
भरेर छालहरूको संगीत
गुञ्जिएँको हुँ– मानौं, एउटा किनाराकृत आवाज !

म बाटोमुनिको फूल
रेटेर प्रेमको सारङ्गी
फैलाउन खोजेको हुँ– मानौं, समावेशी सुगन्ध !

म एक निलो आकाश
चिरेर घुरमैलो बादल
हुर्किन खोजेको हुँ–
मानौं, बिसे नगर्चीको स्वर्णिम इतिहास !

पौरखी काखमा लुटपुटिएर
कोरेको हुँ जीवनको वृत्तचित्र !
आफ्नै मुटुमा उमारेको हुँ– गुराँसको फूल !
देउरालीमा मुस्कुराउँदै
शिरमा सिउरिएको हुँ– प्रेमको फूल !
निर्भीक भएर मेरै काँधबाट
उडाएको हुँ– जोडी परेवा !

मानौं, म एक होर्डिङ बोर्ड,
उनी विज्ञापन,
र, हाम्रो प्रेम एक अन्तराष्ट्रिय समाचार…!
वैशाखी टेकेर टुक–टुकु हिँडिरहने निर्दोष समयजस्तो
म हुन नसकेको
प्रेमको पहिलो शहिद…!

 

 

 

विश्व मानचित्रमा तिमी र म

आदिम युगहरुमा तिमी र म
एउटै छहारीमुनि बसेर
हुर्कायौँ आ–आफ्ना सन्तानहरु !

अफसोच् !
किन हराइरहेछन् फरक आकृतिका एउटै रङहरु ?
किन चर्किरहेछन् बारम्बार ऐनाहरु ?
बारम्बार देख्छु म निलो आकाशमा
आफ्नै गतिमा टुक्रिरहेका रक्तकणका धागोहरु !
विखण्डनको उत्कर्षमा बजिरहेछ मानवताको बाँसुरी
त्यसैले त हरेक दिन निर्वासित भइरहेछन् युगहरु !

तिम्रो उत्पीडनले मलाई
मेरो उत्पीडनले तिमीलाई
किन थपिरहन्छ विक्षिप्तता ?
हामी त एकाकार भएर
धरती सिँगार्ने सिर्जनशील श्रमजीवी पो त !
अनायास कसरी विनिमय गर्ने दलाल भइसकेछौं ?
ओहो !
हामीले त प्रकृतिको चुलोमा
साझा सपना भर्भराउनु पो पर्ने
तर किन भुलिरहेछौँ–
पहिचानको नाममा आफ्नै हुलिया ?

जब पुँजीवादको दास बनेर
उत्तर आधुनिकताको सँघारमा उभिएर
साम्राज्यवादको छाती फुलाउन नपाउँदै
भत्किने छन् षड्यन्त्रका बाँधहरु
तब एकाएक हराउने छन् अस्थिपञ्जरका विशालु डामहरु
लखेटिने छन् बहुसङ्ख्यक बुख्याँचाहरु
त्यो दिन एउटै आँगनमा
मृत्युहरुको शोकसभा हुने छ…!
र, विजयको झण्डा बोकेर
उत्सव मनाउने छन् विभाजित मान्छेहरुले
बल्ल ब्यँुझिने छ शोकाकुल इतिहास !

जब एउटै आकाशमा झुल्किने छन्
समान आकाङक्षाको घाम र जून
तब हुने छैन आरम्भ कुनै विश्वयुद्धको
हुने छैन अतिक्रमण कुनै वर्णहरुको
र, उभ्याइने छैन कसैलाई वर्गाीय कित्तामा !
हो त्यही दिन अन्त्य हुनेछ
विश्व मानचित्रमा तिमी र म बीचको साम्प्रदायिक द्वन्द्व
र बल्ल जन्मिने छ–
हाम्रो कोखबाट एउटा नवयुग !

 

 

एक योद्धासँग एकालाप

मलाई बिर्सनेहरुले मानौं, आफँैलाई बिर्सनु पर्छ
मैले बनाएका रङ्गीन बाटो भत्काउनेहरुले
मानौं, आफ्नै सन्तानको अबोध मस्तिष्कमाथि
बज्रपात गरिरहेको हुनेछ !

क्रमश ः
तिमीले सम्झिनुपर्ने नाम बिर्सिदिएपछि
इतिहासले तिमीलाई पक्कै गिज्याउने छ
समयभन्दा अघि हँुदै हैन
केवल तिमीभन्दा एक कदम अघि मात्र हुँ
समयको दौराको फेरमा फुलाएको हँु क्रान्तिको फूल…!

उन्मुक्ति हाम्रा लागि ईश्वर थियो
आज पनि प्रिय लाग्छ मलाई
जसलाई मैले जीवनभरि पुजा गरिरहेँ !

पिखुवाको पानीको छालझैं
स्वतन्त्र हुन खोजेको हो
अपराधको विरासतको विरुद्धमा उभिएको हुँ
नागरिकताको सस्तो कागज दिएर अनागरिक बनाउने
वादशाहका विरुद्धमा विद्रोहको आगो फुकेको हँु ।

विद्रोही म, विद्रोही हामी…
परिवर्तनको न्यानो अनुभूति चाहिएकै हो
मागेर नपाउने भएपछि खोसेको कुरा पनि सत्य हो
सत्यभित्रको अर्को सत्य
सम्झेर पुराना बाटाहरु बिर्सिएको हुँ आफुलाई
आगोका लप्काहरुसँग सिकेको हँु विद्रोह
हेरेँ स–साना केटाकेटीको चेहरा
हरेँ बा–आमाको चेहरा
मलाई विद्रोह सिकाउने एउटै पात्र
त्यो पनि समाजको मजाक पात्र !
कहिले मलाई हेरेर घण्टौंसम्म रोइरहन्छ
त कहिले निर्लज्ज हाँसिरहन्छ ।

समयको कोशेढुङ्घामा
उसैले लेखिदियो जबरजस्त मेरो नाम
त्यसैले त ट्याम्केको छातिमा नाचिरहन्छ पुतली
सिद्धकालीले फुकिरहन्छ पञ्चेबाजाको सुरिलो धुन
कोशीको चिसो हावा,
सदियौंदेखिको आडम्बरी अड्डा
दुवैले मेरो मनमा प्रभुत्व जमाएकै थिए
बादलको सौन्दर्यशास्त्र नबुझ्ने विचारबाट
विमुख भएका हजारांै कपुतहरुले
मेरो आवाज रोकेकै हुन् !

अथक मेरो पैतालाहरुमा मेरै पैतालाहरुको
योगफललाई गुणन गरिएकै थियो
मैले नै च्यातेको हुँ रामायणको अद्योपान्त थिति
म बारम्बार सम्झिन्छु
युद्धशिविरमा एक्लै हुँदाको त्यो क्षण
र म सम्झिन्छु
मैले लिखुको सङ्घलो पानि पिएर
नाम्चेभीरको ढुङ्घालाई साक्षी राखेर
नारायणहिटीको हिटलरलाई तर्साएको कुरा…!

 

आमा बिरामी छिन्

ए हिमाल !
तिमी शितलता लिएर आऊ ।
ए पहाड !
तिमी अक्सिजन फैलाऊ ।
ए तराई !
तिमी न्यानोपन लिएर आऊ ।

ए किसान !
तिमी हरियो चोली र फरियामा सजिएर आऊ ।
ए मजदुर !
तिमी भौतिक निर्माणका स्वर्णिम सम्भावना बोकेर आऊ ।
ए भरिया !
तिमी पसिनाको समुद्रमा सिर्जनाको जहाज लिएर आऊ ।

ए नानी बाबु !
तिमी सुनौला जिज्ञासा बोकेर आऊ ।
ए युवा पुस्ता !
तिमी जिम्मेवारी बोक्ने काँध फैलाऊ ।
ए अग्रज पुस्ता !
तिमी आफ्नो अनुभव दिएर जाऊ ।

यतिबेला मेरी आमाको छातिमा
सल्किरहेछ अतिक्रमणको आगो
ए पूर्व–पश्चिम !
तिमी नदी खोलामा ओर्लिएर अञ्जुलीभरि पानी लिएर आऊ ।
ए उत्तर–दक्षिण !
तिमी वैरीसँग कहिल्यै नझुक्ने गरी शिर उठाऊ
र फैलाऊ चारैतिर स्वतन्त्रता र समानता हातहरु ।
ए चन्द्र–सूर्य !
तिमी अन्धकारमा ज्योति फैलाऊ ।
ए बादल–वर्षा !
तिमी धर्ती भिजाऊ ।
ए श्रमजीवी ! ए धर्तीप्रेमी !
तिमी सिर्जनाको बाली लगाऊ ।

ए न्यायप्रेमी ! ए बुद्धिजीवी !
तिमी समानताको बाली भित्र्याऊ ।
ए विशेषज्ञ !
तिमी औषधी लिएर आऊ ।
यतिबेला मेरी आमा पृथ्वीको कुनै कित्तामा
जीवन र मरणको दोसाँधमा उभिएर
लडिरहेकी छन् आफ्नै मृत्युसँग !

 

मातृत्वका फूलहरु

प्रशवको बगैंचामा
ढकमक्क लालुपाते फुलेकै बेला
तिम्रो शंकालु जिज्ञासामा आफूलाइ नपाउँदा
मेरो मातृत्वका फूलबारीहरुमा
अपमानको आगो बाली
अपमानको रापले सेक्नु सेक्यौ
र मेरो स्वतन्त्रता सौतेनी पहाडले छेक्नु छेक्यौ
तर पनि म
धैर्यताको दियो बाली
जलिरहेँ मैनबत्तिको शिखाझैं
म तिम्रो उत्पीडनको सिकार बनेर
हरेक शताब्दीमा
अनिच्छाका बेमौसमी फूलहरु फुलाएर
तिमीलाई नै सन्तुष्टि पिलाइरहेको छु !

तर तिमीले
आफ्नो ईच्छाको फूल फुलाउन
कयौं पल्ट मेरो मातृत्वका
फूलबारीहरुबाट उखेलेका छौ फूलहरु
आखिर जुन फूल रोप्यौ
त्यही फूल फुलाएकी मात्र थिएँ
म आज धर्ती माथी उभिएर आह्वान गर्छु,
तिमी फूलबारीमा फूल रोप
म प्रकृतिसँग लुकामरी गर्दै
अनन्त कालसम्म फूलाइरहने छु– मातृत्वका फूलहरु !

किसान

हरियो पृष्ठभूमिमा
धुलकणको पहिचान लिएर
घामसँग लुकामारी गर्ने स्तम्भ
कहिले आफ्नो
बोझले आक्रान्त हुन्छ
कहिले आकाशसँग सिँगौरी खेल्न खोज्छ
कहिले भावी पुस्ताको
अपेक्षासँग आपत्ति जनाउँछ
कहिलेकाहीँ
राष्ट्रप्रेमको घुरमैलो झण्डाले पसिना पुछ्दै
खेत खन्छ र मनमनै भन्छ
मैले खनेको खेतको मालिक
म नभएर कसरी अरु हुन सक्छ ?
आफँै अनुत्तरित भएर
निलो आकाशमा आफ्नै आकृतिको झण्डा बोकेर
युगसँग आफ्नो एजेण्डा सुनाउँछ
सधै एउटा भय सिरानीमा राखेर
आफ्नै जिन्दगीसँग सोधिरहन्छ प्रश्न
मेरो भोक, मेरो जिन्दगी
मेरो सन्तान सन्तान, म एक अथक पाखुरी
कसैले कुनै दिन खोस्ने त होइन !
त्रासदी समयको दास बनेर
झोक्राइरहन्छ अँध्यारो कुनामा
झुन्डिन नपाउँदै गलामा सम्मानका मालाहरु
साटी सक्छ आफ्नो आयु
जसरी एउटा बुढो गोरु
उसको निर्भीक सिर्कनाको यातनाले आत्महत्या गर्छ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार