प्रिय पुस्तक : ‘सुम्निमा’ को राप

Facebook Debugger

‘हामी किराँती पैले आमालाई चिन्छौं, र उनले देखाएको मानिस हाम्रो बा हुन्छ ।’

जब-जब ‘सुम्निमा’ उपन्यासका यी हरफहरु पढ्छु , प्रत्येक पटक आङै सिरिङ्ग भएर आउँछ । एउटा आर्यवंशी ब्राहृमण पुत्र सोमदत्त र किराँती छोरी सुम्निमाबीचका संवादका हरफ हुन् यी ।

धेरै कुरा भन्नलाई धेरै वाक्य बोलिरहन पर्दैन भन्ने मैले सुम्निमा पढेपछि थाहा पाएकी हुँ । परिचयको क्रममा सोमदत्त आफूलाई सगर्व ब्राह्मण पिताको पुत्र हुँ भन्छ । उता सुम्निमा किराँती आमाकी छोरी हुँ भन्छे । सुम्निमाले आफूलाई आमाको नामबाट चिनाएकोमा सोमदत्तको आपति हुन्छ र भन्छ, ‘पुत्र पिताबाट जीवनदान ग्रहण गर्छ । माता क्षेत्र हो । क्षेत्रपति त पिता हो ।’

जवाफ र तर्क दिन सुम्निमा पनि कम छैन । भन्छे, ‘ए, बाहुनका छोरा ! आमाले पो आफ्नो छोरालाई तेरो बाबु यो हो भनेर चिन्हाइदिन्छे । बाबु त आमाले देखाएको लोग्नेमानिस पो हो त ।’

विद्रोहका लागि योभन्दा बढी केही बोल्नुपर्छ र ? खाँट्टी नारीचेत र मुक्तिको इन्द्रेणीलाई कुनै एक वाक्यको जगमाथि उभ्याउनुस् भनेर कसैले भन्यो भने सुम्निमाकै वाक्य सापटी लिएर मैले बोल्ने वाक्य यही हुनेछ – ‘बाबु त आमाले देखाएको लोग्नेमानिस पो हो त !’

एसएलसी दिएपछि पहिलोपटक पढेकी थिएँ सुम्निमा । भर्खर-भर्खर कम्युनिष्ट हुँदाको नयाँ-नयाँ नशा । अखिल राजनीतिको धङधङीमा त्यो किताब पढ्दा साहित्यकार वीपी कोइरालाको होइन, नेपाली कांग्रेसका एक नेता वीपी कोइरालाको किताब पढेको भन्ने आग्रहका साथ पढेँ ।

आग्रहको चश्माले भ्रम सिवाय के नै पो दिन्छ र ? एक पाठकको रुपमा भ्रमित थिएँ म पनि ती दिनहरुमा ।
Sarswati-Pratiksha
पछि आफ्नो अध्ययनको दायरा बढ्दै गयो । चेतना र ग्रहणशीलता बढ्दै गयो । अनि बल्ल सुम्निमालाई आग्रहको चश्मा नलगाईकन पढेँ र मन पराएँ । यसरी मन पराएँ, आज पर्यन्त कतिपटक सुम्निमा पढेँ भन्ने हिसाबै छैन । कति पटक सुम्सुमाएँ सुम्निमालाई र कतिपटक मनुवा दहमा आफैं दह बनेर हराएँ ? त्यसको पनि हिसाबै छैन ।

एकै सिटिङमा सकिने यो उपन्यासमा सोमदत्त र सुम्निमाबीचको गहिरो प्रेम र द्वन्द्वको गज्जबको चित्रण छ ।

पहिचान र आदिवासी मुद्दामा अहिले धमाधम कलम चलिरहेको छ । आजभन्दा वर्षौ अगाडि लेखिएको सुम्निमाको प्रत्येक आवाजमा म त पहिचानको आवाज सुन्छु । मैं हुँ भन्ने भावले आर्य ब्राह्मणले भिल्ल र किराँतीमाथि ‘संस्कृतिविहीन बर्बर जाति’ भन्दै लगाएको आरोपमा सुम्निमाको विरोध आजको नेपाली समाजको विरोधसँग जस्ताको तस्तै मेल खान्छ ।

शास्त्र, पूजापाठ, यज्ञदानादि, तपस्या आदिको नाममा आफ्नै चाहना र शरीरलाई दबाएर बाँच्नु पनि के बाँच्नु ? जीवनबाट जीवनरस नै निकालेर प्रतिपादन गरेको जीवनदर्शन पनि के दर्शन ? सुम्निमा फगत सुम्निमा होइन, आगो हो, भर्भराउने आगो ! खिलखिलाउने आगो !

यही आगोको रापसँग अन्ततः हार्न पुग्छ सोमदत्त । जीवनभर जुन कुराबाट भाग्न खोज्यो, त्यही कुरामा शरणागत हुँदै प्राण त्याग्छ सोमदत्त । स्वयंलाई धर्म र न्यायको ठेकेदार सम्झने परम्परागत ढोंगी ब्राह्मण समाजलाई सुम्निमाले हानेको जस्तो आत्मविश्वास र प्रेमपूर्ण झापड अन्त कसैले हानेको थाहा पाएकै छुइनँ मैले ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार