कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान

308 Shares

काठमाडौं । वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पाँच हजार डलरको कोभिड–१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ ।

शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड-१९ को बीमा गर्ने कम्पनीलाई आह्वान गरेको हो । ईपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ ।

साथै शाखा कार्यालयले उक्त तोकेबमोजिमको बीमा प्रिमियमबापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बीमा कम्पनीहरूले साउन ७ भित्र कोरिया शाखामा सूचीकृत संस्था दर्ताका लागि आधिकारिक कागजातको प्रतिलिपिसहित निवेदन दिन आग्रह गरेको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले कोरिया सरकारले गत वर्षबाट श्रमिकको अनिवार्य कोभिड-१९ को बीमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिक रूपमा सो रकम बराबरको बीमा गर्ने कम्पनीलाई सूचीकृत हुन सूचना जारी गरिएको जानकारी दिए । त्यस्तै बीमा कम्पनीलाई पाँच हजार डलरको प्रिमियम तोकेको अवस्थामा लाग्ने बीमा शुल्क श्रमिकले नै तिर्नुपर्ने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार