खै त जनताको सरकार !

Facebook Debugger

कोरोना भाइरस (कोभिड-१९)ले विश्वमानव जगतको अस्तित्व नै संकटमा रहेको अवस्थामा नेपालमा पनि भरखरै स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य मन्त्रालयको नियमित प्रत्रकार सम्मेलनमा बताए अनुसार थप १ जना कोरोेना संक्रमित पुष्टि भएसँगै ७ जना पुगेको छ । यसले आम नेपालीहरुमा अरु सन्त्रास बढेको छ । यस्तो महासंकटमा पनि सरकारले खरिद गरेको अति आवश्यकीय स्वास्थ्य सामाग्री गुणस्तरीय नभएको र त्यसमा दशौं गुणा बढी भ्रष्टाचार भएको समाचारले नेपालीजनमा आक्रोस पैदा गरेको छ । त्यस सम्बन्धि परेको रिट उपर अख्तियारले छानबिन कार्य शुुरु गरेको समचार छ ।

देश यस्तो महासंकटमा फसेको अवस्थामा पनि भ्रष्टाचारको विषय उठ्नु आफैमा लाजमर्दो विषय हो । ‘अरुलाई के को धन्दा, घर ज्वाईलाई खानुकै धन्दा’ भन्ने नेपाली उखान झैं आम नेपाली जनता यो महाविपत्तिमा फसेको बेला सरकार भने कमिसन र घुसमा नाङ्गो रुप देखाएर निर्लज्जता प्रदर्शन गरिरहेको छ । चीनको वुहानमा कोरोना भाईरस संक्रमित भेटिएसँगै आजसम्म दुईसय भन्दा बढी देशमा कोरोना संक्रमण फैलिसकेको छ । चीनपछि नेपाल पाँचौं देशको रुपमा संक्रमण भित्रीएको देश हो । चीनबाटै आएको एक यूवामा कोरोना संक्रमण पुष्टि भएको थियोे । त्यो करिब तीन महिना भन्दा अघिको कुरा हो । यतिका समय हुदा पनि सरकारको तयारी खैं, अझ विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको अवस्था भनेर सचेत गराएको पनि महिनौं भैसक्यो । यी अवधि भर सरकार के हेरेर बस्यो ? सरकार पुर्व तयारीमा किन लागेन ? यसको उत्तर सरकारले दिनु पर्छ ।

अहिले ‘कोभिड–१९’ संक्रमितलाई चेक गर्ने कीट नक्कली छ, भनेर स्वयं स्वास्थ्य कर्मीहरुले भनिरहेका छन, यो सामन्य विषय होईन, यहीँ गुणस्तरहीन किटमा परिक्षण गर्दा नेगेटिभ देखिएको व्यक्तिमा कथंकदाचित पोजेटिभ रहेछ भने अनि त्यो व्यक्ति गाउँघर, शहर डुल्न थाल्यौं भने स्थिति भयवह बन्नसक्छ । त्यसको जिम्मेवारी कस्ले लिन्छ ? अस्ति भरखर मात्रै कोरोना संक्रमण आशंकामै बलराम थापाले ज्यान गुमाउनु पर्याे, पहिलेनै चेक गरेर उपचार भएकोे भए थापाको ज्यान जोगिन्थो की ! आज करिब पौने ३ करोड आमनेपाली यो जोखिमबाट बच्न सरकारकै निर्देशन पालन गरेर लकडाउनमा बसेका छन् । ती नेपालीहरुको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई छैन !

गिद्धहरुलाई फूलबारीमा फुलेका सुगन्धित फूलहरुको वास्त हुँदैन, उसको जातनै सिनो खाने हो । जतिसुकै उराठ मरुभूमिमा पनि उ सिनोकै खोजिमा हजारौं माईल सवार गर्छ । हरेक दिन उ सिनोको खोजिमा भौतारी रहन्छ । राज्यको महत्वपूर्ण जीम्मेवारी लिएर बसेका केही जीम्मेवार व्यक्तिहरु पनि सिनोमुखी गिद्ध झै । सारा देश नै यो महासंकटमा फसेको अवस्थामा भ्रष्टाचारमा मात्रै रमाउने । कमिसन र घुसनै जताततै देख्ने कस्तो बिडम्बना ।

लक डाउनका कारणले आज नेपाल भारतको सिमानामा हजारौंको संख्यामा नेपालीहरु अलपत्र अवस्थामा रोकिएका छन, रोजिरोटीको लागि विदेशिएका यी नेपालीहरुलाई आफ्नो देश भित्र्याउनुको सट्टामा उल्टै जताबाट आएको हो उतै जाउ शैलिमा सरकार प्रस्तुत भएको छ । कोरोना संक्रमण बढेपछि अन्य देशहरुले फर्कन चाहने आ-आफ्ना नागरिकलाई फिर्ता लगिरहदा हाम्रो सरकार भने मुकदर्शक भएर बसेको छ । दुबैतिर लकडाउन भएपछि मरे पनि मेरै देशमा गएर मर्छु भन्दै ज्यानै जोखिममा राखेर महाकालीमा हामफाली नाङ्गै आफ्नो देश आएका यूवालाई हिरासतमा राखनुको सट्टा अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै, सम्झाई बुझाई क्वारेन्टाइनमा राख्नु पर्थो, किनकि आम नागरिकको राज्य अविभावक हो । समस्यामा परेका आफ्ना नागरिकलाई पहिला समस्याबाट मुक्त गराउनु र पछि कानुन सिकाउनु राज्यको दायित्व हो । आज रोजगारीका सिलसिलामा विदेशीने यूवा सरकारको तत्थाङक अनुसार भारतमा मात्र १५ लाख र खाडी मुलुकमा ३५ लाख नेपालीहरु छन् । उनिहरुबाट रेमिट्यान्स वार्षिक रुपमा करिबकरिब ९ खर्व रुपैयाँ देशका लागि भित्रिन्छ । त्यहीँ रकमबाट आज देश चलेको छ । तर आज कोभिड-१९ संक्रमणबाट ज्यान जोगाउन आफ्नो देश फर्कन खोज्दा अलपत्र अवस्थामा पार्नु दुःख लाग्दो विषय हो ।

मानवीय सेवामूलक उद्देश्यले खुलेका निजि क्षेत्रका अस्पतालहरुले देश बिपत्तिमा फसेको बेलामा आफुले सकेको सहयोग खुल्ला हृदयले गर्नुपर्छ । सामान्य रुघाखोकी र ज्वारो देख्नेबित्तिकै बिरामीलाई गेटैबाट फिर्ता पठाउने कार्यले निजि अस्पताल देश र जनता प्रति उत्तरदायी भएको देखिएन । यो महाविपत्तिले आम नेपालीमा संत्रास फैलिरहेको समयमा निजि अस्पतालको यस्तो भुमिका पटक्कै सुहाउँदो खाले भएन, यसले निजि अस्पताल माथि पहिल्यैदेखि लाग्दै आएको सेवाका नाममा लास माथि व्यापार गर्छन, भन्ने आरोपलाई बल पुगेको छ । यस्तै व्यवहार निजि अस्पतालवालाहरुको रहिरहने हो भने जति सक्दो निजि अस्पतालहरुलाई राष्ट्रियकरण गर्नमा राज्यले बिलम्व गर्नु भएन ।

यी सबै कुरा सम्झिदा आज दिक्क लागेर आउछ, हरेक नेपालीको मनमा प्रश्न उठ्न सक्छ । सरकार आज कहाँ अल्मलिएको छ ? सरकार भनेको त सम्पूर्ण राज्यको प्रशासनिक संयन्त्रलाई नै एक रुपमा सरकार भनेर चिनिने हो, यत्रो सम्पूर्ण शक्ति भएको संयन्त्र कहाँ गएर केमा भुलेको छ ? आज सायद प्रत्येक नागरिकको मनमा उब्जिएको प्रश्न यहि हो । ‘स्याल कराउनु बाख्रो हराउनु’ भने झैँ कोरोना भाईरस संक्रमणको वेस्सरी हल्ला चलाएर, धन्दा भ्रष्टाचारको गर्ने काईदा यत्रो शक्तिशाली सरकारका जिम्मेवार अधिकारीले जानेर वा नजानेर रोजे भविष्यमा यो देशका लागि धेरै महंगो पर्ने निश्चित छ । किनकि यो महाविपत्तिको समयमा कात्रो किन्दा पनि भ्रष्टाचार गर्ने मनोबृत्ति कसरी मौलाएर गयो । यो सरकारले यसको निराकरण नखोजी सुख छैन । होईन भने स्वभिमानी नेपालीको शीर सँधै निहुरिरहने छ । यो महशुस आज हरेक नेपालीजनको मनमनले गरेको छ । यो पक्कै पनि क्षमा योग्य विषय होईन ।

(लेखकः समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हुन् ।)

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार