प्रदेश २ः भत्ता र इन्धनमै २५ करोडभन्दा बढी खर्च

0 Shares

जनकपुर । प्रदेश २ सरकारले गत आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता र इन्धन लगायतका नाममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा प्रदेश सरकारका पदाधिकारीहरुको पारिश्रमिक भत्ता, अन्य भत्ता तथा इन्धनको नाममा २५ करोड रुपैयाँभन्दा बढी खर्च भएको हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारमा मुख्यमन्त्री, ६ मन्त्री र ६ राज्यमन्त्री गरी कुल १३ जना पदाधिकारी थिए । उनीहरुले एक वर्षमा पारिश्रमिक भत्ता, बैठक भत्ता, अन्य सुविधा भत्ता र इन्धनको नाममा २५ करोड ३१ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेश लेखा कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार प्रदेश सरकारका पदाधिकारीको पारिश्रमिक बापतको भत्ताका नाममा १८ करोड १६ लाख ७७ हजार ८८७ रुपैयाँ खर्च गरेका छन् । उक्त शीर्षकमा २१ करोड २६ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

यसैगरी पदाधिकारीहरुको बैठक भत्ता शीर्षकमा एक करोड ८९ लाख १८ हजार २५३ रुपैयाँ खर्च भएको छ । उक्त शीर्षकमा २ करोड ९४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

यसैगरी पदाधिकारीहरुको अन्य सुविधाका लागि ६ करोड ७७ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेकोमा ४ करोड ५ लाख एक हजार ४०७ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । पदाधिकारीकै अन्य भत्ता शीर्षकमा २१ लाख ८४ हजार रुपैयाँ विनियोजन गरेकोमध्ये ७ लाख ५७ हजार ७७५ रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारका पदाधिकारीहरुले प्रयोग गरेको सवारी साधनमा एक वर्षमा एक करोड १३ लाख ३६ हजार ९७८ रुपैयाँको इन्धन प्रयोग भएको छ । उक्त शीर्षकमा गत आर्थिक वर्षमा २ करोड १२ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार