माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

161 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टीमा दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका छन् । बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा केही बेर समय दिएर बोलेका अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

एमाले अध्यक्ष ओलीले आफू कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, एकताका लागि हदैसम्म लचिलो बन्न तयार रहेको र माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउनसमेत तयार रहेको बैठकमा बताए ।

‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ बुधबारको बैठकमा ओलीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’

पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बैठकमा बताए । उनले भने, ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु ।’

तर, आफूले यति भन्दा पनि माधव नेपालले पार्टी एकताप्रति इच्छा नदेखाएको बताउँदै ओलीले बैठकमा भने, ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन् ।’

संसद्मा आफ्नै पार्टीको सरकारका विरुद्धमा मत हालिएको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो । तर, पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । म थाकेको छैन कमरेडहरु । एकताका लागि कुनै कन्जुस्याइँ गरिएको छैन, गरिने छैन ।’

एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबार दिउँसो पुनः बस्ने गरी टुङ्गिएको छ । बुधबारको बैठकमा २० भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए । मंगलबार भने प्रदेश अध्यक्षहरूले आआफ्नो प्रदेशको रिपोर्टिङ गरेका थिए । उनीहरूले अहिलेको स्थितिमा पार्टी फुट्यो भने केपी ओलीको चुनाव क्षेत्र बाहेक अन्यत्र चुनाव जित्न नसकिने नेताहरूले बताएपछि अध्यक्ष ओली गम्भीर बनेको र लचिलो हुन तयार देखिएको स्रोतको दाबी छ ।

ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताए पनि यसबारे नेता नेपालको कुनै प्रतिक्रिया आएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार