गुगलको प्रतिवेदन भन्छ : कोरोनाविरुद्धको सचेतनामा अमेरिकाभन्दा नेपाल अगाडि !

Facebook Debugger

काठमाडौं । इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्यसमा अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न अर्थात् आपसी भेटघाट र भिडभाड नगर्न सुझाव दिएको छ ।

सोहीबमोजिम अहिले नेपाललगायत देशले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन अर्थात् पूरै देश बन्दाबन्दी गराएका छन् भने व्यक्ति–व्यक्तिबीचको भेटघाट र शारीरिक निकटता कम गराएका छन् । जसलाई ‘सामाजिक दूरी’ भनिएको छ ।

सोही विषयमा गुगलले यो नियम कुन देशले कति पालना गरेका छन् भनेर आफ्नो म्यापका माध्यमबाट अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

जसअनुसार यो नियम अमेरिकाका नागरिकले भन्दा नेपालका नागरिकले गम्भीरतापूर्वक पालना गरेका छन् ।

गुगलका अनुसार नेपालमा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत ठाउँमा मानिसको चहलपहल ७८ प्रतिशत घटेको छ भने ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा ६९ प्रतिशत कम भएको छ ।

यसैगरी राष्ट्रिय निकुञ्ज, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानिसको आवतजावत ५५ प्रतिशत घटेको छ। सार्वजनिक यातायात क्षेत्रमा मानिसको भिडभाड ७४ प्रतिशत कम भएको गुगलको अध्ययनले देखाएको छ ।

यसैगरी काम गर्ने ठाउँमा पनि मानिसको चहलपहल ७२ प्रतिशत घटेको छ । तर आवासमा मानिसको सहभागिता २८ प्रतिशत बढेको छ ।

नेपालमा कोरोनाका कारण अहिलेसम्म ६ जना संक्रमित भएका छन् भने कसैको मृत्यु भएको छैन ।

उता अमेरिकामा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत ठाउँमा मानिसको चहलपहल ४७ प्रतिशत मात्र घटेको गुगलले जनाएको छ ।

यस्तै त्यहाँका ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल २२ प्रतिशत मात्र कम भएको छ । राष्ट्रिय निकुञ्ज, बीच, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानव चहलपहल १९ प्रतिशत कम भएको छ, भने बस, ट्रेनलगायत सार्वजनिक यातायातमा चहपहल ५१ प्रतिशत घटेको छ ।

यसैगरी काम गर्ने ठाउँमा मानव चहलपहल ३८ प्रतिशत कम गुगगले उल्लेख गरेको छ । यस्तै अमेरिकाको आवास क्षेत्रमा भने मानव चहलपहल १२ प्रतिशत बढेको गुगलको अध्ययनले देखाएको छ ।

शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट अमेरिकामा ७ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ६५ पुगेको छ ।

यस्तै भारतमा पनि मानिसको भिडभाड निकै घटेको छ । गुगलका अनुसार रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्म हललगायत क्षेत्रमा त्यहाँ मानिसको चहलपहल ७७ प्रतिशत कम भएको छ ।

यस्तै त्यहाँका ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल ६५ प्रतिशत घटेको छ । राष्ट्रिय निकुञ्ज, बिच, सार्वजनिक बगैंचालगायत क्षेत्रमा मानिसको आवतजावत ५७ प्रतिशत कम भएको छ । त्यहाँ बस, ट्रेनलगायत सार्वजनिक यातायातमा मानव भिडभाड ७१ प्रतिशत घटेको गुगलको अध्ययनले देखाएको छ ।

यसैगरी काम गर्ने ठाउँमा पनि मानिसको संलग्नता ४७ प्रतिशत कम भएको छ भने आवासमा चाहिँ मानव चहलपहल २२ प्रतिशत बढेको गुगलले जनाएको छ । कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ८६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ हजार ८२ जना पुगेको छ ।

गुगलले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको हो। त्यसमा मनोरञ्जन, ग्रोसरी तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास छन् ।

गुगलले शुक्रबार सार्वजनिक गरेको यो प्रतिवेदनमा गत आइतबारसम्मको तथ्यांक समेटिएको छ ।

यहाँचाहिँ नेपालले उछिनेको अमेरिका र नजिकको छिमेकी भारतको मात्रै तथ्यांक प्रस्तुत गरिएको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार