जस्तोसुकै संकटमा पनि गाउँपालिकाबासी भोकै मर्नु पर्दैन : अध्यक्ष राई

Facebook Debugger

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जस्तोसुकै संकट आएपनि गाउँपालिकाभित्र कुनै जनता भोकै मर्नु नपर्ने बताएका छन् ।

शनिबार गाउँपालिकाको वडा नं. ३ पञ्चनमा अति विपन्न, सुकुम्बासी परिवार र दैनिक ज्यालादारी मजदूरहरुलाई राहत प्याकेज वितरण गर्नुहुँदै अध्यक्ष राईले जुनसुकै परिस्थितिमा पनि गाउँपालिकाबासीलाई भोकै मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘अहिले हामी महामारीको अवस्थामा छौं, नेपालमा पनि यसको संक्रमण शुरु भएको छ । ९ जनालाई अहिलेसम्म संक्रमण भएको हामीले सुनेका छौं,’ अध्यक्ष राईले भने, ‘अहिलेसम्म सोलुखुम्बु जिल्लामा कुनै संक्रमितहरु फेला परेका छैनन् । थुलुङ दुधकोशी गाउँपालिकाले विदेशबाट आउनु भएका ३ जनाको स्वाब परीक्षणका लागि धरानस्थित विपी विज्ञान प्रतिष्ठानमा पठाएका छौं । सायद आज बेलुकीसम्ममा रिर्पोट आउँछ होला ।’

हामी स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार । जनता खुशी हुँदा खुशी हुनुपर्ने र जनता दुःखी हुँदा रुनुपर्ने सरकारको रुपमा स्थापित छौं । हामी जनताको सेवक हौं । तपाईहरुको सेवा गर्न हामी निर्वाचित भएर आएका छौं । जनतालाई दुःख पर्दा हामी उभिनु पर्छ भन्ने हिसाबले थुलुङ दुधकोशी गाउँपालिकाले सम्भवतः नेपालका ७ सय ५३ तहमै पहिलो चोटी राहतको प्याकेज घोषणा गरेको तपाईहरुलाई थाहानै छ । हामीले घोषणा गरेसँगै धेरै स्थानीय सरकारहरुले घोषणा गर्नु भएको छ । सँगै नेपाल सरकारले पनि एउटा परिपत्र गरेको छ । हामीले जे राहत प्याकेज बनाएका छौं, सोहि प्याकेज मुताविक नै नेपाल सरकारबाट पनि हामीलाई परिपत्र प्राप्त भएको छ ।

हामीले अति विपन्न, सुकुम्बासी परिवार र दैनिक ज्यालादारी हाम्रा आम नागरिकहरुलाई यो लकडाउनको बेला श्रम गर्न नपाउने श्रमिकहरुको चुलो ननिभोस भनेर यो राहत प्याकेज घोषणा गरेका थियौं । यो प्याकेजमा ३० किलो चामल, ५ किलो दाल, १ प्याकेट नुन, १ प्याकेट तेल र साबुन दिने निर्णय गरेका थियौं । सोहि मुताविक हामीले राहत वितरण गर्दैछौं ।

म विनम्र अनुरोध गर्न चाहन्छु, यस्तो संकटको बेलामा तपाईहरु जसलाई खाद्यान्नको अभाव छैन, अहिलेलाई खानाको अभाव छैन, त्यस्ताहरुले राहत माग्न नआईदिनु भनेर म अनुरोध गर्दछु । जसलाई साँच्चिकै एक छाक टार्नै गाह्रो छ । चुलो नै निभिसकेको छ । उहाँहरुले नलजाई स्थानीय सरकारसँग राहत माग्न आउनुस ।

म तपाईहरुकोबीचमा प्रतिबद्धता गर्न चाहन्छु, यदि यो लकडाउन लम्बियो महामारी अझ फैलियो भने म फेरी पनि दोर्याउँछु थुलुङ दुधकोशी गाउँपालिकाको कुनै पनि जनता भोकै मर्नु पर्दैन । यो स्थानीय सरकारको तपाईप्रति हाम्रो प्रतिबद्धता हो । यो मेरो मात्र होइन सिंगो थुलुङ दुधकोशी गाउँपालिकाको प्रतिबद्धता हो । त्यही प्रतिबद्धता अनुसार हामीले व्यवस्था गर्नेछौं । तर, अहिलेको लागि तपाईहरु जोसँग खाना पर्याप्त छ ? ३÷४ महिनालाई त्यस्ता जनताहरुले खाना छैन भनेर नआईदिनु भै स्थानीय सरकारलाई सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु ।

अहिले हामीले राहत प्याकेजको रुपमा अति विपन्न, सुकुम्बासी र दैनिक ज्यालादारीहरुलाई पहिचान गर्ने काम वडाले गरेको छ । सोहि मुताविक वडाले एउटा कुपन तपाईहरुलाई दिनेछ । त्यो कुपन लिएर तपाईको नजिकको दुईवटा पसललाई गाउँपालिकाबाट हामीले छनौट गरेका छौं । एउटा साविकको वडा नं. १ मा ईन्द्रमणि दाहाल ‘राजन’को पसल र अर्को हाम्रो कमल निरौलाको लोस्कुमा रहेको पसललाई जिम्मेवारी हामीले दिएका छौं । वडाले दिएको कुपन लगेर तपाईहरुले आफ्नो राहत प्याकेज प्राप्त गर्नुहुनेछ । लकडाउनको तपाई हामी सबैले पूर्ण रुपमा पलना गरी नेपाल सरकारलाई सहयोग गर्न पनि म हार्दिक अनुरोध गर्दछु ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार