‘कोरोनाबाट आतंकित होइन, सचेतता अपनाऔं,’ : सांसद राई

Facebook Debugger

सोलुखुम्बु । संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट आतंकित नभै सचेतना अपनाउँन जिल्लाबासीसँग आग्रह गरेका छन् ।

पछिल्लो समय सोलुखुम्बुका विभिन्न गाउँपालिकामा कोरोनाबाट बच्नका लागि भैरहेका कार्यहरुको स्थलगत अनुगमनको क्रममा सांसद राईले जिल्लाबासी सबैले उच्च सतर्कताका साथै सचेतता अपनाए कोरोनाबाट जोगिन सक्ने बताएका हुन् । सांसद राई चैत ११ गतेदेखि विभिन्न स्थानीय तहको एकान्तबास (क्वारेन्टाइन), आईसोलेसन वार्डको स्थलगत निरिक्षण गरिरहेका छन् ।

सांसद राईकै पहलमा सगरमाथा क्षेत्र भ्रमणमा लकडाउनका कारण अलपत्र परेका ६ सयभन्दा बढि स्वदेशी तथा विदेशी नागरिकलाई काठमाडौंसम्म पठाउने व्यवस्था गरिएको थियो । साथै अति संवेदनशील बिरामीलाई शहर लैजाने र शहरबाट गाउँसम्म आउने जाने व्यवस्था समेत गरिएको सांसद राईले बताए ।

जिल्लाभित्रका अति विपन्न, सुकुम्बासी र दैनिक ज्यालादारी मजदूरहरुलाई विभिन्न स्थानीय तहसँग समन्वय गरी आवश्यकीय राहतको व्यवस्था गरिएको छ । बजारमा खाद्यान्न र औषधी अभाव हुन नदिन ढुवानीलाई सहज बनाउन सहजिकरण गरिने पनि उनले बताए । जिल्लाभित्रका दीर्घ रोगी जेष्ठ नागरिक तथा नियमित औषधी सेवन गर्ने बिरामीहरुलाई सहज रुपमा औषधी उपलब्ध गराईरहेको पनि राईले बताए ।

सांसद राईले नेचासल्यान, थुलुङ दुधकोशी, सोताङ र महाकुलुङ गाउँपालिकाको स्थलगत अनुगमन गरिसकेका छन् । ‘सिमित श्रोतसाधन र जनशक्तिलाई प्रयोग गरि जनताको स्वास्थ्य, सुरक्षालाई उच्च प्राथमिकतामा राखि अहोरात्र खटिरहनु हुने सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी साथिहरुलाई धन्यवाद,’ सांसद राईले भने, ‘अब बाँकी स्थानीय तह माप्या दुधकोशी, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिकाको पनि क्रमश स्थलगत अनुगमन गर्ने योजनामा प्रदेश माननीय र जिल्ला समन्वय प्रमुखसँग सल्लाह भएको छ ।’

जिल्लामा शंकास्पद मानिएकाहरुको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएकाले सम्पूर्ण जिल्लाबासीलाई त्रसित नभै पूर्णरुपमा स्थानीय तहका जनप्रतिनिधी र डाक्टरहरुले भने अनुसार गर्न गराउन समेत सांसद राईले अपिल गरेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार