सरकार ! खै जनताप्रति उत्तरदायी ?

Facebook Debugger

अशोककुमार झा । विश्व अहिले कोरोना भाइरस (कोभिड-१९)बाट प्रताडित छ । विश्वका शक्तिशाली मानिएका र भनिएका अमेरिकालगायत युरोपका अधिकांश देशहरुमा कोरोनाले थिलथिलो बनाएको छ । यो रोगबाट बच्न अधिकांश देशले लकडाउन लगाएको छ ।

नेपालमा पनि कोरोना संक्रमित पुष्टि भएपछि तीन चरण गरेर ३ हप्ताका लागि देशव्यापी लकडाउन गरिएको छ । विदेशबाट आएका नेपालीहरुलाई मात्र कोरोना संक्रमण देखिएको थियो । तर, केहि दिनअघि सुदूरपश्चिममा स्थानीय एक व्यक्तिलाई नै कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले झन कडा रुपमा लकडाउनको कार्यान्वयन गर्दै उपत्यकाबाट बाहिर कुनै जनतालाई जान रोक लगायो । त्यक्ति मात्र होइन एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्कोमा जान समेत रोक लगायो ।

यसैबीच देशका विभिन्न स्थानीय तहले पनि आफ्ना जनतालाई महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाभित्रै बस्न अनुरोध गरेको छ । आम जनताले पनि सरकारको निर्देशनलाई पूर्ण रुपमा पालना गरेका छन् । सरकारले खासै चासो नदेखाएपनि आफ्नै तरिकाले व्यवस्थापन गरेर आम जनता एकान्तबास (होम क्वारेन्टाइन)मा बसिरहेका छन् ।

तर, केहि दिनदेखि विभिन्न मिडियामा प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीबीच मनमुटाव भएको खबर बाहिरीएको छ । ‘हावा नचली पात हल्लिदैन’ भन्ने नेपाली उखानमा भनेझै पक्कै केहि नभई त मिडियामा आउँदैन होला ? उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको सरकारले गरेको निर्णय डेढघण्टा बित्न नपाई उल्टिन्छ । यता प्रधानमन्त्रीको अधिकारिक फेसबुक पेजमा चैत २८ गते शुक्रबार र २९ गते शनिबार उपत्यकाबाट बाहिर जानदिने भनि सरकारले निर्णय गरेको छ भनेर समाचार सार्वजनिक गर्ने ! तर, डेढघण्टामै सरकारले उपत्यकाबाट कसैलाई बाहिर जान दिने भनेर निर्णय भएको छैन भन्दै गृहमन्त्रालयका प्रवक्ताले विज्ञप्ती जारी गर्ने गाइजात्रे खेल पनि यही देशमै देखियो ।

लकडाउनले गर्दा उपत्यकाभित्र बस्दै आएका दैनिक ज्यालादारी मजदूरहरुलाई पर्नुसम्मको मार्का परेको विभिन्न मिडिया र सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती देख्न सकिन्छ । तर, सरकारको त्यतातिर आँखा पुगेको छैन । ती दैनिक ज्यालादारी मजदूरहरु अब घरसम्म जान पाइने भो भनेर खुशी भएका थिए । तर, उनीहरुको खुशी एउटा मिठो सपना जस्तो मात्रै भयो । सरकार तिमीले खाने प्रत्येक गाँस, लगाउने प्रत्येक कपडा र बस्ने घरमा ती आम जनताले तिरेको एकएक पैसानै भएपनि राजस्व (कर) छ । अनि तिमी चाँहि यी आम जनताको मार्कालाई बुझ्न सक्दैनौं ? धिक्कार छ तिमीहरुलाई !

आम जनताले चाहेको कुरो

दैनिक ज्यालादारी मजदूरको जस्तोसुकै परिस्थितिमा पनि मुखमा गाँस, एक सरो लुगा र टाउको लुकाउने ठाउँ होस । देशमा रोजगारी नपाएपछि विदेशमा मजदूरी गर्न गएका तमाम नेपालीहरु आफ्नै प्यारो जन्मभूमीमै मर्नु परे पनि मरौला भनि अनेक बाधा, अड्चन र समस्यालाई पन्साउँदै सीमासम्म आइपुगेका आम जनतालाई सुरक्षित रुपमा घरघरसम्म पुर्याइयोस ।

अस्पतालमा बिरामीले राम्रो औषधी उपचार पाउन् । उपत्यकाबाट घर जान नपाएकाहरु घर जान पाउन् । बिरामीका लागि खरिद गरिने स्वास्थ्य उपचारको सामग्रीहरु भ्रष्टाचार रहित होस । सहज मूल्यमा बिरामीलाई औषधी उपलब्ध होस ।

गरिबले लाश जलाउनको लागि आर्यघाटमा पैसा तिर्न नसक्दाको कारुणिक दृष्य कहिल्यै देख्नु नपरोस । आर्थिक अभावमा कुनै नेपाली जनताले अस्पतालमा छट्पटिदै मर्नु नपरोस । आम जनताले दैनिक उपभोग गर्ने उपभोग्य वस्तुहरुमा कालोबजारी नहोस ।

यस्तो संकटको बेला वितरण गरिएको वा अब गरिने राहतमा कुनै राजनीतिक दलको गन्ध नआओस । विश्वनै आतंकित बनेको बेला राजनीतिक खिचतानीको लडाई होइन आम नेपाली जनताको लागि सबै नेपालका राजनीतिक दलहरु एक आपसमा सहकार्य र एकतामा अगाडि बढेको देख्न र समाचार सुन्न, पढ्न र हेर्ने दिन कहिले आउने हो ? भनेर भन्ने दिन कहिले आउला ? आम नेपाली जनताले सोधिरहेका छन् ?

[लेखक नेपाल तरुणदल सोलुखुम्बुका सभापति हुन् ।] 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार