सरकारले पर्यटन व्यवसायीलाई नजिकबाट बुझ्न आवश्यक छ

Facebook Debugger

चोलेन्द्रबहादुर कार्की । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को प्रत्यक्ष असर विश्वभर परेको छ । विकशित देशहरुलाई समेत थिलथिलो बनाएको कोरोनाले, झनै विकाशोन्मुख देशहरुलाई त हरेक क्षेत्रमा ठूलो असर पारेको छ ।

कोरोनाले नेपालको हरेक क्षेत्रमा ठूलै असर पुर्याएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कम्तीमा ३ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्र पछिल्लो समय नराम्ररी थलिएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरे पनि कोरोना संक्रमणको त्रासले वर्षको शुरूदेखि नै असर पारेको थियो ।

चैत ११ गतेदेखि देशभित्र लकडाउन भएपछि त पर्यटन क्षेत्रमा मात्र होइन प्रायः सबै व्यवसायमा सन्नाटा छाएको छ । कोरोना कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा यो सिजनका लागि बुकिङ गरिएका सबै होटलहरु रद्द भएका छन् ।

नेपालमा भारतीयपछि सबैभन्दा बढी पर्यटक आउने देश चीन हो । सन् २०१९ मा नेपाल आएका ११ लाख ९७ हजार पर्यटकमध्ये चिनियाँ मात्रै १४ प्रतिशत थिए । चीन लगायत विश्वबाट नेपाल आउने पर्यटकहरु बन्दा हुँदा नेपालको अर्थतन्त्र समेत धर्मराउन थालेको छ । केहि महिनापछि कोरोना नियन्त्रणमा आए पनि अक्टोबरभन्दा अगाडी पर्यटन व्यवसाय पूर्ण रुपमा सुचारु हुने सम्भावना कम छ ।

प्रमुख पर्यटकीय स्थल ठमेलमा पर्यटक नहुँदा होटल, रेस्टुरेन्ट, पर्यटकीय सामान बिक्रिका लागि खोलिएका सबै पसलहरु बन्द छन् । ती बन्द भएका प्रायः सबै होटल, पसल र रेष्टुरेण्टहरु भाडामा लिएर सञ्चालन गरेका हुन् । अधिकांश पर्यटन व्यवसायीले बैंकमा ऋण लिएर नेपालको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । झनै यस्तो संकटमा त मासिक रुपमा बैंकमा किस्ता बुझाउन समेत नसक्ने अधिकांश पर्यटन व्यवसायीका लागि बैंकले यो अवधिभर व्याज छुटको व्यवस्था गरिदिनु पर्दछ । बैंकले ऋणको सावाँ-ब्याज नपाउँदा खराब कर्जा बढ्ने र बैंकिङ प्रणालीमै जोखिम बढ्छ । नेपाल राष्ट्र बैंकका अनुसार, नेपालको पर्यटन उद्योगमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २८ अर्ब लगानी गरेका छन् । त्यसैले यसप्रति नेपाल सरकारले पर्यटन व्यवसायीहरुलाई पनि राहतको योजना ल्याउन जरुरी छ ।

व्यवसायीहरुले पर्यटन गतिविधिका लागि लिएको ऋणको किस्ता कम्तिमा ६ महिना पछिबाट लगाउन मिल्ने गरि राष्ट्र बैंकले सहजताको भूमिका खेलिदिनु पर्छ । किनभने नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन अधिकांश व्यवसायीहरुले होटल लगायत विभिन्न पर्यटन क्षेत्रमा ठूलो लगानी बैंक मार्फत गरेका छन् । त्यसैले व्यवसाय ठप्प भएकाले मासिक किस्ता तिर्न सक्ने स्थिति नभएसम्म सहज वातावरण बनाइनु पर्छ ।

अन्तराष्ट्रिय सम्बन्धसँग समेत जोड्ने पर्यटन धरासायी बन्दा आगामी दिनमा बेरोजगारीको संख्या बढ्ने देखिन्छ, साथै ठूलठूला लगानीमा बनेका होटेललगायत अन्य व्यवसाय समेत धरासायी बन्ने देखिन्छ । पर्यटन व्यवसायी र पर्यटन मजदुरलाई पर्यटनमा आकर्षण गर्न र आगामी दिनमा समेत उक्त व्यवसायलाई देशको मुख्य आयश्रोतको रुपमा स्थापना गर्न सरकारले विषेश ध्यान दिन जरुरी छ ।

कोरोनाका कारण पछिल्लो समय नेपाली पर्यटन क्षेत्रमा काम गर्ने ८ लाखभन्दा बढिको रोजगार खोसिएको छ । त्यसैले यस्तो विषम परिस्थितिमा सरकारले पर्यटन व्यवसायीहरुलाई राहतको प्याकेज नल्याए दीर्घकालसम्म नेपालको अर्थतन्त्रमा असर पर्ने सम्भावना रहेको छ ।
[लेखक : ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष हुन् ।]

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार