कोरोना भाइरस (कोभिड-१९)बारे अझै हामीलाई थाहा नभएका ९ कुरा !

Facebook Debugger

काठमाडौं । धेरै समय भइसकेको जस्तो लागे पनि कोरोना भाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो ।

वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोना भाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ ।

त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ ।

तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन् ।

१. कति मानिस सङ्क्रमित भएका छन् ?

यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो । तर यो निकै महत्त्वपूर्ण पनि छ ।

विश्वभरि लाखौँ मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन । त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन् ।

मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ । त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ ।

२. यो कति घातक छ ?

कति मानिसलाई सङ्क्रमण भएको छ भन्ने तथ्य थाहा नभईकन मृत्युदर थाहा हुन सक्दैन ।

अहिलेसम्म विश्वमा सङ्क्रण भएका झन्डै १ प्रतिशत मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।

तर यदि लक्षणै नदेखिएका सङ्क्रमितहरूको सङ्ख्या धेरै छ भने मृत्युदर अझै बढी हुन सक्छ ।

३. कोरोना भाइरसका लक्षणहरू के के हुन ?

ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोना भाइरस सङ्क्रमणका मुख्य लक्षण हुन् । तपाईँ यी लक्षणबारे सतर्क हुनुपर्छ ।

केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ । केही बिरामीमा सुँघ्ने लिने क्षमतामा कमी आएको पनि पाइएको छ ।

विभिन्न अध्ययनले देखाएअनुसार केही मानिसहरूलाई सङ्क्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन । उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ ।

४. भाइरस फैलाउनमा बालबालिकाको भूमिका कस्तो हुन्छ ?

केटाकेटीहरूले पक्कै पनि भाइरस समात्न सक्छन् र तिनलाई अरू व्यक्तिमा सार्न सक्छन् ।

प्रायः बालबालिकामा सामान्य लक्षण देखिन्छ । अन्य उमेर समूहका मानिसको भन्दा बच्चाहरूको मृत्युदर निकै कम रहेको छ ।

प्रायः खेलमैदानमा रमाउने बच्चाहरू स्वभावैले धेरै मानिससँग घुलमिल गर्छन् । उनीहरूले यो भाइरस निकै छिटोछिटो धेरै मानिसमा फैलाउन सक्ने हुनाले उनीहरूलाई ‘सुपर–स्प्रेडर’ मानिएको छ ।

त्यस्तो जोखिम हुने भए पनि केटाकेटीले त्यो भाइरस कतिसम्म फैलाउन सक्छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

५. यो भाइरस कहाँबाट आयो ?

यो भाइरस सन् २०१९ को अन्त्यतिर मध्यचीनको वुहानमा पहिलो पटक देखिएको थियो । त्यहाँ पशुपक्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको थियो ।

औपचारिक रूपमा सार्स-कोभ-२ (Sars-CoV-2) नाम दिइएको कोरोना भाइरस चमेराहरूलाई सङ्क्रमित तुल्याउने भाइरससँग मिल्दोजुल्दो छ । त्यो भाइरस चमेराबाट कुनै अज्ञात जनावरमा सर्दै मानिसमा सरेको विश्वास गरिएको छ ।

त्यो अज्ञात जनावर प्रष्ट भइसकेको छैन । त्यो थप सङ्क्रमणको कारक पनि बन्न सक्छ ।

६. के गर्मी याममा सङ्क्रमण कम होला ?

फ्लू वा रुघाजस्ता रोग गर्मी महिनामा भन्दा जाडो महिनामा बढी देखिने गर्छन् । तर न्यानो हावापानीमा यो भाइरस फैलिने क्रममा कमी आउँछ कि आउँदैन भन्ने अझै प्रष्ट भइसकेको छैन ।

ब्रिटेन सरकारका विज्ञान सल्लाहकारहरूले कोरोना भाइरस सङ्क्रमणमा मौसमी प्रभाव हुन्छ कि हुँदैन भन्नेबारे प्रष्ट नभइसकेको चेतावनी दिएका छन् । उनीहरूका विचारमा यदि त्यस्तो असर भइहालेमा त्यो फ्लूको भन्दा कम हुन्छ ।

यदि कोरोना भाइरस सङ्क्रमणको दर गर्मी महिनामा कम भएमा फेरि जाडो महिनामा त्यो फैलिने क्रम बढ्न सक्छ । त्यतिबेला अस्पतालहरूलाई बिरामीको चाप धान्न मुस्किल हुनेछ ।

७. केही मानिसमा किन गम्भीर लक्षण देखिन्छन् ?

धेरै मानिसमा कोभिड–१९ का सामान्य लक्षण मात्रै देखिन्छन् । तर झन्डै २० प्रतिशतमा गम्भीर लक्षण देखिन्छन् । किन होला ?

मानिसको प्रतिरक्षा प्रणालीको अवस्थाले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । केही कुरा व्यक्तिको आनुवंशिक गुण र विशेषतामा पनि भर पर्न सक्छ ।

त्यसबारे जति धेरै ज्ञान प्राप्त हुन सक्छ त्यसले सघन उपचार गर्नु पर्ने बिरामीको सङ्ख्या घटाउन त्यति नै ठूलो सहयोग र्पुयाउन सक्छ ।

८. मानिसको प्रतिरक्षा क्षमता कति समयसम्म रहला ?

कोरोना भाइरससँग सङ्घर्ष गर्न सक्ने मानिसको प्रतिरक्षा क्षमताबारे धेरै अनुमान गरिएको छ । तर त्यसतो क्षमता कति समयसम्म रहला भन्ने बारे निकै थोरै प्रमाणहरू उपलब्ध छन् ।

यदि कुनै बिरामीको शरीरले कोरोना भाइरसँग राम्ररी सङ्घर्ष गरेको छ भने उसको प्रतिरक्षा प्रणालीलाई राम्रै मान्नुपर्छ । तर यो रोग केही महिनाअघि मात्र देखा परेकोले यसबारे पर्याप्त तथ्याङ्क उपलब्ध छैन ।

कुनै बिरामीमा दोस्रो पटक पनि यो भाइरस देखिएको विषय सङ्क्रमण भए नभएको परीक्षण गर्ने विधि र पद्धतिको विश्वसनीयतासँग गाँसिएको हुन्छ । त्यो विधिले कहिलेकाहीँ सही परिणाम नदेखाएको पनि हुन सक्छ ।

९. के भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ला ?

भाइरसहरू बारम्बार आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहन्छन् । तर उनीहरूको आनुवंशिक सङ्केतलाई चलाउँदा धेरै फरक पर्दैन ।

त्यसरी भाइरसहरूले आफ्नो स्वरूप फेर्ने क्रम जारी राख्दा उनीहरू लामो समयपछि कम घातक हुन्छन् भन्ने समान्य नियम छ । तर त्यो निश्चित भने हुँदैन ।

चिन्ताको विषय चाहिँ यो हो की यदि यी भाइरसहरूले आफ्ना स्वरूप फेरे भने तिनलाई मानिसको प्रतिरक्षा प्रणालीले नचिन्न पनि सक्छ र कुनै भ्याक्सीन वा खोपको विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्छ ।

भाइरसले स्वरूपमा परिवर्तन गरेकै कारण फ्लू रोग नियन्त्रण गर्ने खोपले राम्रो काम नगरेका उदाहरणहरू प्रशस्त छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार