११ जलविद्युत, ४ माइक्रोफाइनान्स र २ बीमा कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा

अपर सोलु हाइड्रोले ३३,०७,५०० सय कित्ता आइपिओ जारी गर्दै

  सगरमाथा अनलाईन
8.4k Shares

काठमाडौं । आइपिओ निष्कासनका लागि १९ कम्पनीहरु यतिबेला नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन् ।

११ वटा जलविद्युत कम्पनी, ४ वटा माइक्रोफाइनान्स कम्पनी, २ वटा बीमा कम्पनी र २ अन्य कम्पनी पाइपलाइनमा रहेको बोर्डले जनाएको छ ।

ती सबै कम्पनीले कुल ४ करोड ९४ लाख १६ हजार १ सय ४८ कित्ता आइपिओ जारी गर्नका लागि आवेदन दिएका हुन् । यी सबै कम्पनीले जारी गर्न चाहेको आइपिओको कुल मूल्य ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८ सय रुपैयाँ छ ।

प्रक्रिया पुरा भएपछि बोर्डले निष्कासनको स्वीकृति दिनेछ । सामान्यतः स्वीकृति दिएको २ महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ ।

अहिले तेह्रथुम पावरको आइपिओ खुलिरहेको छ भने अरु ३ कम्पनीले स्वीकृति पाइसकेका छन् । स्वीकृति पाएका सबै कम्पनीहरु जलविद्युत कम्पनीहरु हुन् । न्यादी हाइड्रोपावर, साहस उर्जा, बुद्धभूमि नेपालले आइपिओ जारी गर्नका लागि स्वीकृति पाएका हुन् ।

न्यादीको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल, साहस उर्जाको एनआइबिएल एस क्यापिटल, र बुद्धभूमिको सिभिल क्यापिटल मार्केट बिक्री प्रवन्धकका रुपमा नियुक्त भएका छन् ।

न्यादीले कुल ४० लाख ५० हजार कित्ता, साहस उर्जाले १ करोड ५ लाख कित्ता र बुद्धभूमि हाइड्रोपावरले १२ लाख कित्ता आइपिओ जारी गर्न स्वीकृति पाएको छ ।

पाइपलाइनमा रहेका बीमा कम्पनी

आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएका छन् । यी दुबै कम्पनीले ६०–६० लाख कित्ता आइपिओ जारी गर्ने छन् ।

रिलायबलले भने प्रिमियम थपेर आइपिओ जारी गर्नका लागि अनुमति मागेको छ । सो कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँका दरले आइपिओ जारी गर्न स्वीकृति मागेको हो । आइएमई लाइफले भने अंकित मूल्य १ सयका दरले नै जारी गर्नेछ ।

माइक्रोफाइनान्स कम्पनीहरु

नेस्डो समृद्ध लघुवित्तले ८ लाख २८ हजार ७५० कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियूक्त गरेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था ८ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रवन्धकका रुपमा नियूक्त गरेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।

अन्य कम्पनीहरु

इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६ सय कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटल नियूक्त गरेको छ ।

त्यस्तै डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ ।

पाइपालाइनमा रहेका जलविद्युत कम्पनीहरु

सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँँको ९ लाख कित्ता प्राथमिक सेयर जारी गर्न बोर्डमा आवेदन दिएको छ । बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल छ ।

अपर सोलु हाइड्रोले ३३ लाख ७ हजार ५ सय कित्ता आइपिओ जारी गर्न खोजेको छ । यसको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

दोर्दीखोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

अपर हेवाखोलाले २० लाख कित्ता सेयर जारी गर्नका लागि बोर्डसँग स्वीकृति मागेको छ। बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्नका लागि बिक्री प्रवन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता आइपिओ जारी गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रवन्धकका रुपमा नियुक्त गरेको छ । थ्रीस्टार हाइड्रोपावरले १२ लाख ३१ हजार २५० कित्ता आइपिओ निष्कासन गर्नका लागि हिमालयन क्यापिटललाई नियूक्त गरेको छ ।

विन्ध्यवासिनी हाइड्रोपारवर डेभलपमेन्टले २५ लाख कित्ता आइपिओ निष्कासनका लागि सानिमा क्यापिटल बिक्री प्रवन्धक रहेको छ ।

हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता र बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आइपिओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक तोकेका छन् ।

ग्रीन भेन्चरले ६२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । यसको बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल रहेके छ ।

यी जलविद्युत कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारण दुवैका लागि आइपिओ जारी गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार