१९ हजारले भरे साहस उर्जाको आइपीओ, असोज पहिलो हप्ताभित्र बाँडफाँट हुने

एक जना बराबर १८५ देखि ५०० कित्तासम्म पर्ने सम्भावना

  सगरमाथा अनलाईन

सोलुखुम्बु । आयोजना प्रभावित जिल्लाका लागि खुलेको साहस ऊर्जाको साधारण शेयर (आइपिओ)मा करिब १९ हजारको आवेदन परेको छ ।

साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेको आइपीओमा आज (शुक्रबार) अर्थात अन्तिम दिन २ हजार ५ सय जनाको आवेदन सहित करिब १९ हजारको आवेदन परेको अध्यक्ष हिम पाठकले बताए । ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको रकम माग भएकोमा मागभन्दा झण्डै दोब्बर ६३ करोड अर्थात ३० करोड रुपैयाँ बढि रकमको आवेदन परेको हो । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको शेयर जारी गरेको हो ।

स्थानीयको लागि छुट्टयाईएको आईपीओ असोज पहिलो साताभित्र बाँडफाँट गरिने पनि अध्यक्ष पाठकले बताए । ‘अहिले आवेदन परेका आईपीओको बाँडफाँट असोज पहिलो हप्ताभित्र गर्छौं ।’ अध्यक्ष पाठकले भने, ‘स्थानीयलाई दिएको शेयर बाँडफाँट गरिसकेपछि देशैभरीको लागि ७० लाख कित्ता शेयर जारी गर्नेछौं ।’

साहस उर्जाले धितोपत्र बोर्डबाट १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको थियो । जसमध्ये ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको शेयर प्रभावित जिल्ला सोलुखुम्बुका लागि जारी गरिसकेको छ । अब ७० लाख कित्ता अर्थात ७० करोड बराबरको आईपीओ देशभरीका सर्वसाधारणको लागि खुल्ला गर्ने पनि पाठकले बताए ।

एक जना बराबर १८५ देखि ५०० कित्तासम्म पर्ने सम्भावना

३५ लाख कित्ता शेयर १९ हजार जनालाई दामासहीले भाग लगाउँदा एक जना बराबर १८५ कित्ता पर्छ । तर, सोलुखुम्बुका अधिकांशले १०० र २०० कित्तामात्रै आवेदन दिएकाले पनि केहिलाई ५०० कित्तासम्म पनि शेयर पर्न सक्ने सम्भावना रहेको छ ।

जिल्लाका विभिन्न बैंकहरुमा आवेदन दिनेहरुका अनुसार केहिले १०, २०, ५० कित्ता पनि आईपीओको आवेदन दिएका छन् । त्यसैले पनि धेरै कित्ताको आवेदन दिएकाहरुलाई बढि कित्ता पर्न सक्छ । शेयर बाँडफाँटको नियमानुसार माग गरिएको कित्तामा आवेदन परेको संख्याले भाग गर्दा सबैलाई कम्तिमा १० कित्ताभन्दा धेरै शेयर संख्या पुग्छ भने, सबैभन्दा कम अर्थात १० कित्ता आवेदन दिएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर शेयर बाँडफाट गरिन्छ ।

साहस उर्जाले बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलाई सुम्पेको छ । साहसले सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आवेदन दिनेको अन्तिम संख्या भने आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार