विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २८ पुग्यो, १ हजार संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ ।

एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड-१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जनाको निधन भएको हो ।

स्वास्थ्य उपसमितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड-१९ बाट संक्रमित रहेको एनआरएन, कोभिड–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

नेपालमा भने १९ हजार ५ सय ५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।

संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब ७ सय, बेलायतमा २ सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२-२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा ४/४, क्यानडा र मलेसियामा ३/३, माल्टामा २ तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा १/१ जना रहेको उपसमितिले जनाएको छ ।

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ । विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाइएको छ ।

एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म २४ जनाभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ । यसैबीच एनआरएन कोभिड १९ उच्चस्तरीय समितिको बैठक आज बस्ने भएको छ । संघका महासचिब डा. हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार