वाह ! यस्तो पो जनप्रतिनिधी … ?

Facebook Debugger

बुद्धवीर बाहिङ । विश्वका प्रायः सबै देशहरु अहिले एउटा प्राणघातक रोग कोरोना भाइरस (कोभिड-१९)सँग लडिरहेका छन् । विश्वभरका लाखौं मानिस यो रोगको शिकार भएका छन् । लाखौं मानिसले अकालमा ज्यान गुमाएका छन् । यो रोगबाट विश्वभरका आम नागरिक आतंकित भएका छन् ।

विश्वका शक्तिशाली मानिएका अमेरिका, बेलायत, चीन लगायतका धेरै देशले समेत यो रोगको पूर्ण रुपमा नियन्त्रण गर्न सकेका छैन । झनै यी शक्तिशाली देशमा हजारौंले ज्यान गुमाएका छन् । लाखौं मानिस संक्रमित भएका छन् ।

यसमा नेपाल पनि अछुतो छैन । हालसम्म नेपालमा ३१ जना कोभिड-१९ बाट संक्रमित भएका छन् । ३ जनाले यो रोगलाई जितेर घर फर्किसकेका छन् । भने, अझै २९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । अन्य आशंका लागेका हजारौं नागरिकको स्वास्थ्य परीक्षण तीब्र रुपमा भैरहेको छ ।

विश्वभर नेपालको शीर उच्च राख्ने सगरमाथा हिमालको काखमा रहेको सोलुखुम्बु जिल्लामा पनि कोभिड-१९ बाट बच्न उच्च शतर्कता अपनाइएको छ । आम सोलुखुम्बेलीले यस्तो संकटको बेलामा पनि राहतको महशुस गरिरहेका छन् ।

सोलुखुम्बुमा अहिले ३ जना जनप्रतिनिधीको नाम लिँदा आम सोलुखुम्बेलीहरु उत्साहित हुन्छन् । उनीहरुबाट सोलुखुम्बेली नागरिकले आशा मात्र होइन विश्वास पनि गरेका छन् । निर्वाचित भएपछि गरेका कयौं कामहरु जनप्रिय र स्थानीयको दैनिकीसँग प्रत्यक्ष रुपमा जोडिएको छ । त्यसैले त ती जनप्रतिनिधीहरुको नाम बारम्बार लिइरहन्छन्, आम सोलुखुम्बेली नागरिकहरु ।
सोलुखुम्बुमा यस्तै क्रियाकलापमा लागिरहने ३ जना जनप्रतिनीधिको उच्च सम्मानमा मैले थोरै प्रष्ट्याउने प्रयास गरेको छु । बिरोधका लागि मात्र बिरोध गरिरहनु भएकाहरुलाई त यो फिक्का लाग्न सक्छ । तर, म निरन्त रुपमा १५ वर्षदेखि पत्रकारिता मार्फत सोलुखुम्बुको हरेक भूगोल, क्षेत्र, जातजाती र विकासलाई सोही क्षेत्रमा पुगेर नजिकबाट नियालेको छु । त्यसको यथार्थता बुझेको छु । त्यसैले यदि कसैले बिरोधका लागि बिरोध मात्रै गर्नुहुन्छ भने पनि मेरो भन्नु केहि छैन् । यो लेख वर्तमान ३ जनप्रतिनिधीहरु प्रतिनिधीसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेलजाङ्बु शेर्पा र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईप्रति मेरो उच्च सम्मान हो । अन्य जनप्रतिनिधीहरुले पनि धेरै गर्नुभएको छ । उहाँहरुप्रति पनि मेरो सम्मान छ, तर यी ३ जनप्रतिनिधी जसले आम सोलुखुम्बेलीलाई आशा मात्र होइन विश्वास पनि दिलाउन सफल हुनुभएको छ । त्यसैले उहाँहरुको सम्मानमा मैले यो लेख तयार पारेको हो ।

हेमकुमार राई ‘सुरवीर’ प्रतिनिधीसभा सदस्य सोलुखुम्बु

सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य, सांसद हेमकुमार राई ‘सुरवीर’को नाम लिने बित्तिकै मेरो मनमा एउटा जोसिलो तरंग उत्पन्न हुन्छ । दरिलो विश्वास जाग्छ । झनै उहाँको जोश र जाँगरयुक्त कामले मलाई निक्कै प्रभावित बनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट आम सोलुखुम्बेली नागरिकलाई बचाउने गहकिलो जिम्मेवारीमा हुनुहुन्छ उहाँ । जिल्लाका आम नागरिकको अभिभावकत्व भूमिकामा रहनु भएका राई साँढे १ महिनादेखि सोलुखुम्बुमै हुनुहुन्छ ।

यस्तो संकटको बेला आम सोलुखुम्बेलीको घर, आँगनमै पुगेर कोभिड–१९ को बारेमा जनचेतना फैलाइरहेका छन् । आम नागरिकसँगै सुखदुःखमा हातेमालो गरिरहेका छन् । प्रदेश सांसद, स्थानीय तहका प्रमुख, स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरुसँग प्रत्यक्ष सम्पर्कमा रही समस्यामा परेका नागरिकहरुको उद्धार गरिरहेका छन् । सांसद राईले जिल्ला बाहिर रहेका सोलुखुम्बुबासीलाई जिल्ला ल्याउनको लागि स्थानीय तहका प्रमुखसँग छलफल गरिरहेका छन् । जिल्ला बाहिर रहेका सोलुखुम्बेली नागरिक सोहि ठाउँमा बस्न चाहनेलाई सम्बन्धित गाउँपालिकाले राहत उपलब्ध गराउने र जिल्ला फर्कन चाहनेलाई सम्बन्धित गाउँपालिकाले सुरक्षित रुपमा गाउँ फर्काउन व्यवस्था गर्न पनि सांसद राईले पहल अघि बढाएका छन् ।
यो विश्वाशिलो खबरले जिल्ला बाहिर रहेका आम सोलुखुम्बेलीले राहत महशुस पक्कै गर्नेछन् । अनि जिल्ला फर्कन चाहनेले चाँडै सुरक्षित रुपमा गाउँ फर्कन पाउन् । जहाँ छन् त्यही बस्नेले सम्बन्धित गाउँपालिकाबाट सोहि ठाउँमा पुगि राहत उपलब्ध गराएको शुभ समाचार सुन्न र लेख्न मन लागेको छ, माननीयज्यू । तपाईले चाल्नु भएको यो कदम चाँडै सम्पन्न होस । अग्रिम शुभकामना ।

नाम्गेलजाङ्बु शेर्पा, मेयर सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको मेयर नाम्गेलजाङ्बु शेर्पाले जिल्लाको राजनैतिक ईतिहासमा छलाङ मारेका छन् । मेयर शेर्पाले २ वर्षभित्रै नगरपालिकाको हरेक क्षेत्रमा आशाको दियो बाल्न सफल भएका छन् । चाहे त्यो विकासमा होस । या आम नगरबासिको दैनिकीमा । पहिलेकोभन्दा धेरै परिवर्तन आएको छ ।

राजनीतिक रुपमा ३ वर्ष अघिसम्म त्यत्ति नाम नसुनिएका शेर्पाले चुनावको मुखमा धेरै आरोपको सामना गर्नु पर्यो । नगरपालिका चलाउन एनजिओ (गैरसरकारी संस्था) जस्तो हो ? सक्रिय राजनीति नगरेकाले कसरी नगरपालिका चलाउन सक्छ ? यी र यस्ता धेरै प्रश्नहरुको सामना गरेका थिए मेयर शेर्पाले । चिया पसलदेखि जिल्लाका कयौं नेताहरुको मुखबाट यी र यस्ता धेरै प्रश्नहरु मैले पनि प्रत्यक्ष सुनेको थिए । मलाई पनि केहि हदसम्म सही नै लाग्थ्यो त्यत्तिबेला ।

तर, अहिले ती मेयरलाई प्रश्नगर्ने जनप्रतिनिधीहरुको व्यवहार र काम कस्तो छ ? तपाई हामी सबैलाई घाम जत्तिकै छर्लङ्गै छ । अरुलाई बिरोध गर्न धेरै सजिलो छ । तर, बोलेको कुरा व्यवहारमा ल्याउन धेरै गाह्रो छ । ती असिमित अफ्ठ्यारा, समस्याकाबीचमा पनि औशीको जुनकीरी जस्तै उज्यालो दिप लिएर मेयर शेर्पा नगरपालिकामा उदाएका छन् ।

भन्नलाई सजिलो छ, तर व्यवहारतः काम गर्न धेरै गाह्रो हुन्छ । जिल्लाको १ निर्वाचन क्षेत्र, २ प्रदेश क्षेत्र र ८ स्थानीय तहमध्ये नगरपालिका मात्रै नेपाली कांग्रेसको तर्फबाट शेर्पाले जितेका थिए । जिल्लाको अरु सबै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जितेको छ । तर, उनले गरेका विकासे काम, आम नगरबासीलाई जनप्रतिनिधीको रुपमा गरेको व्यवहारनै मेरो लागि सबैभन्दा सम्मान गर्न लायक विषय बन्यो । त्यसैले मेयर शेर्पाप्रति सम्मान स्वरुप केहि शब्द लेख्ने प्रयास गरे ।

हुनतः नेपालमा संघ, प्रदेश र स्थानीय तहको पहिलो निर्वाचित जनप्रतिनिधी भएर पनि होला । जिल्लाका अधिकांश स्थानीय तहका प्रमुख कुहिरोभित्र हराएको काग जस्तै अझै हराइरहेका छन् । आफ्ना आसेपासेभन्दा माथि उठ्न सकेका छैनन् । चाहे त्यो आफ्नो पार्टीको होस या अन्य पार्टीको ? जसले बिहान बेलुकी जयजयकार गर्छ, उसैलाई योजना, राहत दिएको सयौं उदाहरणहरु विभिन्न भूगोलमा अशोक स्तम्भ जस्तै ठडिएका छन् ।

मेयर शेर्पा पनि निर्वाचन जिते लगत्तै केहि महिना त त्यस्तै भए । ट्रयाक बिर्सिए या जानिजानी त्यो बाटो हिड्न खोजे । तर, केहि महिनापछि उनी ट्रयाकमा आए । आम नगरबासीको प्रिय बने । उनले गरेका अधिकांश विकासे योजनाले मूर्त रुप लियो । समयमै सम्पन्न भए । उनले गरेका धेरै काम मैले भन्नु भन्दा पनि आम नगरबासीले प्रत्यक्ष रुपमा देखेका छन् । उपभोग गरिरहेका छन् । अझै धेरै विकास र सन्तुष्ट नगरबासी भएको सुन्न र देख्न पाउ । मेयरसाब अग्रिम शुभकामना ।

असिम राई, अध्यक्ष, थुलुङ दुधकोशी गाउँपालिका

जिल्लाको ७ गाउँपालिकामध्ये जनसंख्या र भौगोलिक रुपमा सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशीका अध्यक्ष असिम राईले निर्वाचन लगत्तै महत्वकांक्षी योजना अघि सारे । स्थानीय मिडियादेखि राष्ट्रिय मिडियासम्म व्यापक प्रचारप्रसार गरे । उनको बिरोधी र आफ्नै पार्टीका केहि जनप्रतिनिधीहरुले पनि उनको महत्वकांक्षी योजनाको सस्तो लोकप्रियता भन्दै आलोचना गरे ।

अध्यक्ष राई पनि राजनीतिक रुपमा सोलुखुम्बुमा त्यत्ति परिचित नाम भने होइन । त्यसैले होला सक्रिय राजनीति गरेकाले मात्रै सबै कुरा गर्न सक्छ भन्ने आम नागरिकलाई भ्रम छ । जिल्लादेखि केन्द्रसम्मका अधिकांश नेताहरुले पनि भन्ने यस्तै हो । तर, राईले जे बोले त्यो व्यवहारमा उतारे ।

राजनीतिक रुपमा अब्बल हुँ भन्दै हिडेका केहि जिल्लाका नेताहरुले आफूजस्तै ठानेर होला राईलाई तत्कालिन समयमा यो विषय यसो हो, ऊ विषय त्यसो हो ? कहाँ यस्तो महत्वकांक्षी योजना गर्न सक्छ र ? भनेर मलाई पनि सुनाएका थिए । त्यसमा मैले पनि होमा हो मिलाएको थिए । किनभने यसभन्दा अघि ती नेता न निर्वाचन जितेका थिए ? न काम गर्ने कुनै ठाउँमा पुगेका थिए । उनी त जिल्ला तहको पार्टीको नेता न थिए । काम गर्ने होइन मिठो आदर्शको गफ गरेर बस्ने । त्यसैले मैले पनि पत्याई हाले ।
तर, समय र परिस्थिति फेरियो । अध्यक्ष राईले जे बोले त्यही गरे । अहिलेसम्म जिल्लाको कुनै गाउँपालिकाको आफ्नै गाउँपालिकाको जग्गा र भवन समेत छैन । केहिले भाडामा, त केहिले साविकको गाविस भवनमा कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेका छन् । तर राईले निर्वाचित भएको केहि महिनापछिनै गाउँपालिकाको नाममा जग्गा र सुविधा सम्पन्न भवन बनाए ।

त्यत्ति मात्र होइन ५० शैय्याको सुविधा सम्पन्न अस्पतालको भवन समेत निर्माण कार्य शुरु गरिसकेका छन् । जिल्लाका अधिकांश नेताहरुसँग भेटघाटमा अध्यक्ष राईको बारेमा कुरा गर्दा बढि प्रचार भो भनेर भन्छन् । तर, मलाई के लाग्छ भने जसले बढि प्रचारप्रसार गर्यो उसले साँच्चै कामै गर्नको लागि सबैलाई सुनाएको हो । तर, अधिकांश स्थानीय तहले के गरिरहेका छन् । कसैलाई थाहा हुँदैन । मात्र उनीहरुको बैठक पुस्तिकामा सिमित हुन्छ । जे गरेपनि कसैलाई केहि थाहा हुँदैन ।

पछिल्लो समय कोभिड-१९ का कारण देश झन्डै एक महिनादेखि लकडाउनमा छ । लकडाउनका कारण दैनिक ज्यालादारी मजदूर, विपन्न परिवार र सुकुम्बासीलाई बिहान बेलुकीको छाक टार्न समेत धौधौ छ । अन्य गाउँपालिकाभन्दा पहिल्यै गाउँपालिका भित्रको दैनिक ज्यालादारी, विपन्न परिवार र सुकुम्बासीहरुको तथ्यांक संकलन गरी सबैभन्दा पहिलो राहत दिने गाउँपालिकाको रुपमा समेत महत्वपूर्ण भूमिका निभाएका छन् अध्यक्ष राईले ।

त्यत्तिमात्र होइन गाउँपालिका भित्रका दीर्घ रोगी र नियमित औषधी सेवन गरिरहेका बिरामीहरुको लागि १ महिना पुग्ने निःशुल्क औषधी समेत वितरण गरिसकेका छन् ।

साथै गाउँपालिकाभन्दा बाहिर रहेका आम थुलुङ दुधकोशीबासीलाई गाउँपालिकासम्म सुरक्षित रुपमा ल्याउने पहल पनि अध्यक्ष राईले गरिरहेका छन् । अध्यक्षज्यू, यहि रफ्तारमा अगाडि बढिरहनुस । हर समय तपाईको साथमा सम्पूर्ण थुलुङ दुधकोशीबासी लागिरहने छन् । तपाईले चाल्नु भएको विकासे योजनाले शिखर चुमोस । अग्रिम शुभकामना ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार