साहस उर्जाको आईपीओः पहिलो दिन ५ लाखभन्दा बढीले दिइ आवेदन

  सगरमाथा अनलाईन
2.7k Shares

काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको साहस उर्जा लिमिटेडकोे आईपीओमा पहिलो दिन ५ लाख १८ हजार ८ सय ७२ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले यी आवेदकहरुबाट रू. ७७ करोड ९१ लाख ५८ हजार बराबरको ७७ लाख ९१ हजार ५ सय ८० कित्ताको लागि आवेदन परेको जानकारी दिएको हो ।

कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले रू. ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओ असोज १० गते सम्म विक्रीमा रहनेछ । यस समय अवधिमा पूर्ण आवेदन नपरेमा भने असोज २० गते सम्म विक्रीमा रहने मिति तय भएको थियो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले निष्कासन गरेको आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

यो शेयर खरिदका लागि सर्वसाधारणले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाकार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार