विकासका नाममा राजनीति कहिलेसम्म ?

Facebook Debugger

बुद्धवीर बाहिङ । अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण प्रायः अधिकांश देशहरु आजित बनेका छन् । शक्तिशाली र सुविधा सम्पन्न मानिएका देशहरु सबैभन्दा बढि प्रभावित भएका छन् । अझैसम्म कोभिड-१९ लाई पराजित गर्ने कुनै औषधी पत्ता लागेको छैन ।

यो महामारी रोगबाट नेपाल पनि अछुतो रहन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म नेपालमा ४२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्, भने अझै ३८ जना नेपालको विभिन्न अस्पतालमा उपचाररत छन् ।

नेपालमा पनि तीन तहकै सरकारका प्रमुखहरु यो महामारी विरुद्ध एक भएर लागेका छन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । सबैले आ-आफ्नो क्षेत्रमा अहोरात्र खटिरहेका छन् । त्यत्ति मात्र होइन नेपालका विभिन्न गैरसरकारी संघसंस्था र समाजसेवीहरु पनि आफूले सकेको सहयोग गरिरहेका छन् ।

सोलुखुम्बु जिल्लामा पनि यो महामारीको विरुद्धमा जनप्रतिनिधीहरु एक भएर लागेका छन् । तर एक स्थानीय तह नेचासल्यानमा भने यस्तो संकटको बेलामा पनि विकासको नाममा राजनीति सुरु भएको छ । संकटको बेला आम गाउँपालिकाबासीको समस्या समाधान गर्नुको सट्टा विकासको नाममा स्थानीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबीच जुहारी खेलेको सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

हुनतः स्थानीय जनप्रतिनिधीनै गतिलो नभएपछि कुन बेला के गर्ने, के नगर्ने भन्ने विषयको अपेक्षा गर्नुनै बालुवामा घर घर बनाए जस्तै हो । सानो भूगोल, सिमित जनसंख्या, सिमित श्रोत साधन र सिमित जनसंख्या भएको नेचासल्यान गाउँपालिकामा अध्यक्षको भूमिका फराकिलो नहुँदा यस्ता कयौं घटानाहरु दोहोरिएका छन् । आफ्नालाई काखा अरुलाई पाखा लगाएका कयौं उदाहरणहरु गाउँपालिकाभरि यत्रतत्र छरिएका छन् ।

केहि दिन यता बिना मौसममा विद्युत बाल्ने नाममा राजनीति गरेको नेपाली कांग्रेसको मति पनि प्रष्टै आम नागरिकले महशुस गरेका छन् । कुन बेला के गर्ने के नगर्ने भन्ने अलिकति पनि हेक्का नराख्ने कस्ता राजनीतिकर्मी ? यस्ता फोहोरी खेल कहिलेसम्म खेल्ने ? अहिलेको नागरिक पहिलेको जस्तो छैनन्, अलिकति हेक्का राख्नु पर्दैन ? मंसिरमा धान रोप्न खोज्दा हुन्छर नेताज्यू ?

सल्यानस्थित ठाडेखोलामा निर्माणधिन मोटरेबल पुल बन्न शुरु भएको कति वर्ष भयो ? थाहा छ नी । अनि नेचा र सल्यानबीचको खहरे खोलामा बनिरहेको मोटरेबल पुल सुरु भएको कति वर्ष भयो ? कहिल्यै यी पुलको बारेमा स्थानीय नेताहरु तछाँड मछाँड गर्दै निर्माण कम्पनीलाई काम छिटो सक्न दवाव दिएका छन् ? अःह कहिल्यै छैन । औपचारिकता मात्र निभाएका छन् । त्यो पनि आम नागरिकलाई देखाउन मात्र यसो भनेजस्तो गरेका छन् ।

अनि राजनैतिक प्रतिशोध साँधेर तुइन्टारकाको जलविद्युत आयोजना चैतभित्रै बत्ती बालेर देखाइ दिन्छौं भन्दै दुई पटक शिलान्यास गर्ने स्थानीय जनप्रतिनिधी अहिले कुन दुलोभित्र लुकेर बसेका छन् ? आफ्नै गाउँपालिकाभित्र राष्ट्रिय प्रशारण लाईन जोडिसकेपनि गाउँपालिकाको २ वटा वडाका लागि मात्र बत्ती बाल्नको लागि मरिमेट्ने जनप्रतिनिधीको औकात कतिको रहेछ भन्ने घाम जत्तिकै छर्लैङ्गै भयो । अनि गाउँपालिका चलाउने कला र व्यवहार पनि आम नागरिकबीच प्रष्टै भयो ।

अनि नेचासल्यान गाउँपालिकाको वडा नं. ३ का केहि घरपरिवारलाई बिजुली बालिदिने भन्दै यस्तो संकटको बेला खाद्यान्न ढुवानीका लागि स्वीकृति लिएको ट्रयाक्टरमा बिजुलीको पोल बोकाउन अलिकति पनि नैतिकता छैन, स्थानीय नेता भनाउँदाहरुको ? अनि गाउँपालिकाभित्र यस्तो संकटको बेला कुन सवारी साधन के प्रयोजनको लागि स्वीकृति लिएको हो भनेर जानकारी पनि राख्न नसक्ने कस्तो गाउँपालिका अध्यक्ष !

गाउँपालिकाको हरेक विकासमा यसरीनै स्थानीय राजनैतिक दलका नेताहरु तछाँड मछाँड गर्दै लागे पो आम नागरिकको दैनिकीमा परिवर्तन आउँछ । कसैले राम्रो काम गर्दा पनि राजनीतिसँग जोडेर हेर्ने नेताहरुको दृष्टि परिवर्तन होस । जनप्रतिनिधी भएपछि आफ्ना आसेपासे र हनुमानहरुको होइन आम नागरिकको कुरा सुनेर दीर्घकालिन योजना ल्याउनु पर्छ । कसैको ससुरालीमा मात्र खानेपानी पुर्याउने होईन । एक राजनैतिक पार्टीबाट निर्वाचित भएपनि जनप्रतिनिधी भएपछि सबै पार्टी र विचारको अभिभावकत्व बन्न सक्नु पर्यो । नयाँ वर्ष २०७७ सालमा सबै स्थानीय नेताहरुको सद्बुद्धि आओस । शुभकामना ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार