१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

शिक्षक संघले भन्यो, ‘कांग्रेसको स्थानीय र उपल्लो अधिवेशनमा मतदान अधिकृत नखटाउने’

शिक्षकको क्षेत्रिय प्रतिनिधी हुन पाउने कानूनी मान्यताः अध्यक्ष तामाङ



सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको १४ औं अधिवेशन अन्तर्गत स्थानीय तह, प्रदेश र जिल्लाको निर्वाचनमा नेपाल शिक्षक संघले शिक्षकहरुलाई मतदान अधिकृत नखटाउने भएको छ ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लालप्रसाद बाँस्तोलाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अधिवेशनबाट प्रतिनिधि भएर आएका शिक्षकहरुलाई पार्टी नेताहरुकै अगुवाईमा गाली, गलौज एवं मुद्दा मामिला गर्ने घृणित कार्य भएको भन्दै पार्टीको अधिवेशनमा शिक्षकलाई मतदान अधिकृत नखटाउने भएको हो ।

शिक्षकहरु राजनैतिक दलको कार्यकारी पदमा रहन नपाउने भए पनि क्षेत्रीय प्रतिनिधि कुनै कार्यकारी पद नभएकाले अन्य जिल्लामा पनि सयौँको संख्यामा शिक्षकहरु क्षेत्रीय प्रतिनिधि बनेर आए पनि सोलुखुम्बुमा पार्टीकै नेताहरु अदालत गुहार्न जानु दःुखद भएको शिक्षक संघको ठहर छ ।

यसअघि वडा अधिवेशनबाट प्रतिनिधिको रुपमा चुनिएका शिक्षकहरुको उक्त जिम्मेवारी खारेजीको माग गर्दै कांग्रेस नेताले अदालतमा रिट दायर गरेका थिए । सोलुदुधकुण्ड नगरपालिकाका ५ जना शिक्षक तथा कर्मचारीलाई निर्वाचनमा भाग नलिनु भन्ने आशयको आदेश अदालतले दिएपछि शिक्षक संघ पार्टी प्रति आक्रोशित बन्दै शिक्षकहरुलाई मतदान अधिकृतमा नजान विज्ञप्ती मार्फत अपिल गरेको हो ।

यसैबीच नेपाल शिक्षक संघ सोलुदुधकुण्ड नगर समितिका अध्यक्ष विनोदसिंह तामाङले नेपाली कांग्रेसको १४ औं अधिवेशनका लागि क्षेत्रिय प्रतिनिधी तथा केन्द्रीय प्रतिनिधी हुन कानूनी अधिकार भएको बताएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष तामाङले महाधिवेशनमा क्षेत्रिय र केन्द्रीय प्रतिनिधी बन्नको लागि शिक्षा ऐन २०२८ को दफा १६ (ङ)को (छ)ले समेत बन्देज गरेको छैन । किनकी क्षेत्रिय प्रतिनिधी कार्यकारी सदस्य होइन, भन्ने कुरा मौजुदा कानूनले बताउँछ ।

नेपाली कांग्रेस केन्द्रीय महाधिवेशनका लागि प्रत्येक शुभेच्छुक संस्थाको केन्द्रीय समितिबाट ११/११ जना प्रतिनिधीहरुले केन्द्रीय महाधिवेशनमा मतदान गर्न पाउने नेपाली कांग्रेसको विनानमा उल्लेख गरिएको छ, विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : ०७ बजे