सोलुदुधकुण्ड नगरपालिकाको कांग्रेस अधिवेशन शुरु, ५ जना शिक्षक कर्मचारी क्षेत्रिय प्रतिनिधी सहभागि हुन पाएनन्

विहान ८ बजे भनिएको मतदान ९ बजेबाट शुरु

  सगरमाथा अनलाईन
5.1k Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान शुरु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका अधिवेशनमा मतदान गर्न लाईनमा बसेका क्षेत्रिय प्रतिनिधीहरु । तस्वीर सौजन्य: वेदप्रसाद वन

मंगलबार (हिजो) शुरु भएको नगरपालिका अधिवेशन लामो विवादकाबीच चुनावि प्रक्रियामा गएपछि आज (बुधबार) विहान ८ बजेबाट मतदान शुरु हुने भनिएपनि १ घण्टापछि ९ बजेबाट शुरु भएको लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य वेदप्रसाद वनले बताए । जिल्लाको स्थानीय तहमध्ये निक्कै चासोका साथ हेरिएको नगरपालिका अधिवेशनमा दुई जना सभापतिको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीको समूहबाट नगर सभापतिमा मिङमार शेर्पा र पूर्वसभापति आङगेलु शेर्पाको समूहबाट सोनामग्याल्जेन शेर्पा चुनावी मैदानमा उत्रिएका छन् ।

५ जना शिक्षक र कर्मचारी क्षेत्रिय प्रतिनिधीहरुलाई उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले नेपाली कांग्रेसको नगर अधिवेशनमा सहभागी नगराउन अन्तरकालीन आदेश जारी गरेको थियो । सोहि विषयलाई लिएर नेपाल शिक्षक जिल्ला संघ र नगर समितिले विज्ञप्ती निकालेर उत्त आदेशको विरोध गरेका थिए ।

उत्प्रेषण मिश्रीत परमादेशको माग गर्दै मिलन बस्नेतद्वारा दायर रिटमा सुनुवाइ गर्दै न्यायधीश ठाकुर प्रसाद शर्माको एकल इजलासले सो आदेश जारी गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाइको असोज ७ गतेको पत्र तथा सोलुदुधकुण्ड नगर कार्यपालिकाको पत्रसमेतका आधारमा अमृता कार्की नगरपालिकाको कर्मचारी र हर्कबहादुर राई, रोहितकुमार कार्की, प्रेमकुमार राजभण्डारी तथा चेतबहादुर थापा सामुदायिक विद्यालयको स्थायी शिक्षक भएको देखिँदा असोज १३ गते अन्तरिम आदेशको टुंगो नलागेसम्म प्रत्यार्थीहरुलाई कर्मचारी तथा शिक्षकको हैसियत कायम राखी नेपाली कांग्रेसको असोज ९ गतेको गाउँपालिका तथा नगरपालिकाको निर्वाचनमा उम्मेदवार दर्ता गर्ने गराउने तथा दलको कार्यक्रममा सहभागी नगर्नु नगराउनुु भनेर अदालतको अल्पकालीन आदेशमा भनिएको थियो ।

जिल्लाको अन्य ७ पालिका अधिवेशनमा भने शिक्षकहरुले मतदान गरेका छन् । माप्य दुधकोशी गाउँपालिका बाहेक अन्य ६ स्थानीय तहमा अधिवेशन सकिएको छ । खुम्बु पासाङल्हामु, महाकुलुङ र सोताङ गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको थियो, भने थुलुङ दुधकोशी, नेचासल्यान र लिखुपिके गाउँपालिकामा निर्वाचनद्धारा नेतृत्व चयन गरिएको थियो । माप्य दुधकोशीमा भने हिजो सहमति जुट्न नसकेपछि पुनः आज अधिवेशन हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार