बल्ल टुंगीयो मन्त्रालय भागबण्डा, मन्त्रीहरुको शपथ भोलि

एकीकृत समाजवादीलाई स्वास्थ्य, संघीय मामिला जसपालाई नै

  सगरमाथा अनलाईन
1.2k Shares

काठमाडौं । सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । अब भोलि मन्त्रिपरिषद् विस्तार हुने र मन्त्रीहरुको भोलि नै शपथ हुने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए । कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।

कुन–कुन मन्त्रालय भन्ने टुंगो लगाएर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर एकीकृत समाजवादीका नेताहरुले पावर मिनिस्ट्री आफूहरुले नपाएको भन्दै प्रस्तावित मन्त्रालयमा असन्तुष्टि जनायो ।

बिहीबार चार दलका शीर्ष नेताहरु फेरि छलफलमा जुटे र मन्त्रालयको भागवण्डा टुंगो लगाएका छन् । सहमति अनुसार एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार भोलि विहान ११ बजे स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउनेछ । स्वास्थ्य मन्त्रालय छाडेको कांग्रेसले भने कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।

यस्तै रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक, कृषि तथा पशुपक्षी मन्त्रालय लिनेछ । उसले गृह र परराष्ट्र मन्त्रालय लिइसकेको छ ।

कानुन अहिले नै कांग्रेससँग छ । २९ असारमा आफू प्रधानमन्त्री भएकै दिन शेरबहादुर देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए । अब उनलाई सञ्चारमन्त्री बनाएर कानूनमा नयाँ मन्त्री ल्याउने तयारी छ । गृहमा बालकृष्ण खाँण र परराष्ट्रमा डा. नारायण खड्का मन्त्री छन् । अरु मन्त्रीहरुको टुंगो भोलि मात्र लाग्ने नेताहरु बताउँछन् ।

अर्थ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय लिएको माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ । माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै स्थायी कमिटीबाट गरेको थियो । यद्यपि कसले कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाँकी छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिनेछ । स्रोतका अनुसार बालुवाटार बैठकमा एकीकृत समाजवादी र माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमा दाबी गरेका थिए । तर जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरुले पाउने सहमति भइसकेकाले हेरफेर नगर्न अडान राखेका थिए ।

जसपाले मन्त्रीहरु छान्न सकेको छैन । कार्यकारिणी समितिबाट मन्त्री छान्ने अधिकार लिएका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले बिहीबार आकांक्षीहरुसँग छलफल गरेका थिए । तर नाम टुंगो भइनसकेको नेताहरु बताउँछन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सत्तारुढ दलहरुले मन्त्रीहरुको नाम पठाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने र साँझसम्म शपथ भइसक्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार