एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने सम्भावनाले सिन्धुलीमा निषेधाज्ञा जारी

42 Shares

काठमाडौं । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढी गएका थिए ।

तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए । गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमती जुट्न सकेको थिएन । त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

सिन्धुलीगढीमा हुने विजयोत्सव समारोहमा भने सत्ता गठबन्धनले विरोध नजनाउने जनाएका छन् । सिन्धुलीगढीमा अंग्रेज सेनाविरुद्धको लडाइँमा गोरखाली फौज विजयी भएको स्मरणमा हरेक वर्ष आजकै दिन त्यहाँ विजयोत्सव समारोह आयोजना हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार