संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छुः सभामुख सापकोटा

  सगरमाथा अनलाईन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् ।

स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए । सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु ।’

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई थिए । सोही प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं पनि सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार