‘अनि यसरी रोडमै पुर्‍यायो भानुभक्तको जमातले मलाई’

Facebook Debugger

पी.टी. लोप्चन । ‘हिमाल एफ. एम. को स्टाफबाट हटाएको रोदन रहेछ तपाईको । अगाडिको लेख पनि पढेथे ।’ फेसबुकमा मेरो स्टाटस पढेपछि राजेन्द्रप्रसाद ढुंगाना नामको साथीले लेख्नुभएको कमेन्ट हो यो । म त भन्छु हटाईएको मात्र थिएन, उक्त जमातले मलाई रोडमै पुर्‍याएको थियो ।

२०६९ साल वैशाख १२ गते बेलुकी रेडियो बन्द गरेर घर फर्कने क्रममा सेर्गाखोप भन्दा पल्लो भीरको छेउमा मैले साथी बुद्धवीर बाहिङ सँग भनेँ ‘माइला सर (म उहाँलाई माइला सर भन्छु) मैले सबै योजना आज भानुभक्त जी लाई सुनाएँ, म भोलि नै छेस्काम जाँदैछु । छेस्कामको काम सकेर म जेठको ४ गते रेडियोमा हाजिर हुन्छु र राजीनामा दिन्छु भनेर । नसुनाउनु पर्थ्यो क्यारे ? म आउनु भन्दा पहिले नै उनले राजीनामा दिएछन् भने फेरि रेडियो तपाई र मैले नै सम्हाल्नुपर्ने अवस्था आउन सक्छ, त्यस्तो अवस्था आएमा निक्कै गाह्रो हुनेछ ।’ उहाँ हिमाल एफ.एम.मा समाचार प्रमुख हुनुहुन्थ्यो ।

उहाँले निरौलाले यस्तो निर्णय कुनै हालतमा नगर्ने र छेस्कामको काम सकेर आएपछिसँगै राजीनामा दिने कुरा बताउनुभयो ।

वैशाख १२ गते मैले निरौलालाई जेठ ५ गतेपछि रेडियो तपाईको काँधमा आउँदैछ, रेडियो हाँक्न मानसिक रुपमा तयार हुनुहोला भनेको थिएँ । सँगै मैले उनलाई आफ्नो योजना पनि बताएको थिएँ । भानु सर, म भोलि छेस्काम जाँदैछु । छेस्कामका ७ वटा विद्यालयमा मेरो तालिम छ । सबै विद्यालयमा तालिम सक्दा वैशाख महिना उतै बित्छ । म ४ गते रेडियोमा हाजिर भएर राजीनामा दिनेछु ।

बाहिर साथीभाइ बीच तँ, तँ, म, म भन्दै हिडेपनि रेडियोमा शिष्टाचारयुक्त व्यवहार गर्नुपर्छ भनेर हामीले सबैलाई सर, मीस नै भन्ने गर्थ्यौं ।

सेयर होल्डरबाट उठाएको ५०/६० लाख रकम रेडियोको उपकरण खरिद, स्टुडियो निर्माण, टावर निर्माण लगायतको काममा खर्च भएपछि दोस्रो महिनादेखि नै कर्मचारी आफैले कमाउने र तलब खाने भन्न थालेको थियो रेडियो व्यवस्थापन पक्षले । संस्थापक अध्यक्ष नुरु लामा सधैं मलाई भन्नुहुन्थ्यो ‘तपाई बिजनेस खोज्न हिड्नुहोस’, म भने रेडियोलाई पहिले कन्टेन्टको हिसाबले गुणस्तरीय बनाउनुपर्ने र मात्र बिजनेस खोज्न जानुपर्ने बताउँथे, फेरि रेडियोमा बिना राई प्रमुख रहेको छुट्टै बजार विभाग पनि बनाईको थियो । मैले योजना बनाउने र त्यसको सफल कार्यान्वयनका लागि हिमाली सञ्चार कम्पनी लिमिटेड र हिमाल एफ.एम.बीचको समन्वय लगायतको काम गर्थे, रेडियोकर्मी भएकाले समाचार बनाउने, भन्ने र कार्यक्रम सञ्चालन गर्नुपर्ने त छँदै थियो ।

रेडियो स्थापनाको दोस्रो महिना देखि नै वैध तरिकाले आफै कमाउन र तलब खान असम्भव थियो । २०६८ असोज १ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको रेडियो तेस्रो चौथो महिनादेखि नै आर्थिक संकटमा फस्न सुरु भईसकेको थियो ।

सबै कर्मचारीले तलब नखाएको चार महिना भईसकेको थियो । गोजीमा एक पैसो थिएन । त्यसैले अन्तराष्ट्रिय गैरसरकारी संस्था जि फाउण्डेसनले छेस्काम गएर तालिम चलाईदेऊ भनेपछि म सहजै छेस्काम जान तयार भएँ । जि फाउण्डेसनमा खोटाङ सोलुको शैक्षिक कार्यक्रम व्यवस्थापकको जागीर छाडेर म हिमाल एफ.एम.को अगुवाई गर्न आएको थिएँ ।

पूर्व योजना बमोजिम नै वैशाख १६ गते छेस्कामको एउटा विद्यालयमा शिक्षक अभिभावक अभिमुखीकरण तालिम सुरु भयो । हरेक स्कुलमा पुगेर सञ्चालन गरिने तालिममा शिक्षक र अभिभावक सहभागी हुन्थे । तर उक्त तालिममा भने नवज्योति युवा मञ्चका पदाधिकारी र कर्मचारी पनि झण्डै उत्ति नै थिए । किनकि नवज्योति युवा मञ्च गुदेलका स्टाफहरुलाई नै प्रशिक्षक बनाउने उद्देश्य पनि थियो उक्त तालिमको ।

हामी बसेको घरमा आगलागी भयो, साथीहरुको टिसर्ट र चप्पल भन्दा अरु रहेन

हामीले पहिलो स्कुलको तालिम मात्र सिध्याएका थियौं । अब अर्को तालिम दोस्रो स्कुलमा सञ्चालन गर्नु थियो । तर दुःखको कुरा हामी बास बसेको घरमा एक्कासी आगलागी भयो । छेस्काम चोकमा रहेको उक्त घरको माथिल्लो तलामा हाम्रो बसाई थियो । चार घर परतिरको घरमा खाना खाईरहेको बेला एक्कासी हामी बसेको घरमा आगलागी हुँदा तालिम सामग्री, पैसा, लत्ताकपडा झोला सबै जलेर खरानीमा परिणत भए । कतिपय साथीहरुको टिसर्ट र चप्पल भन्दा अरु केही बाँकी थिएन ।

वैशाख ३१ गतेसम्मको योजना बनाएर छेस्काम पुगेको टोली अब सल्लेरी फर्कने भयौं । तालिम सञ्चालनका लागि तालिम सामग्री र पैसा पनि जलेपछि जि फाउण्डेसनको केन्द्रीय कार्यालयबाटै फिर्ता बोलायो । तालिममा जि फाउण्डेसनका सामाजिक कार्यक्रम व्यवस्थापक जित्न जनम राई पनि हुनुहुन्थ्यो ।

रेडियोका स्टेसन म्यानेजर भानुभक्त निरौलासँग जेठ ४ गते मात्र स्टेसन आईपुग्ने र सोही दिन राजीनामा दिने सल्लाह गरेर निस्केपनि आगलागीका कारण योजना रद्द भएपछि म वैशाख २२ गते नै रेडियोमा हाजिर हुन पुगे । तर हप्ता दिनको बीचमा त्यहाँ पुग्दा अर्कै माहौल सिर्जना भएको रहेछ । राजीनामा दिएर निस्कन्छु भनेर बताएपछि भानुभक्त निरौलाले प्राविधिक बाबुकाजी कार्कीलाई संयोजक बनाएर म विरुद्ध आन्दोलन सुरु गर्न लगाएको रहेछ ।

व्यवस्थापन पक्षसँग नजिक भएर तलब लिएको तर कर्मचारीलाई नखुवाएको, प्राविधिकको काम समेत आफैले गरेको, बिदाको व्यवस्था नमिलाएको, काम गर्ने स्वतन्त्रता नदिएको जस्ता माग राखेर केही कर्मचारीलाई म विरुद्ध आन्दोलन गर्न लगाइएको रहेछ ।

त्यसपछि बाबुकाजीलाई तत्काल बोलाएर उक्त आन्दोलनबारे बुझें भानुभक्तले नै म विरुद्ध आन्दोलन गर्न लगाएको रहेछ । उनी आफू जहिले पनि सेफ साईटमा बसेर अरुलाई ढाल बनाउँछन् । पत्ताले टावर काण्डमा समेत उनले शेखर श्रेष्ठलाई विज्ञप्ती जारी गर्न लगाएका छन् ।

व्यवस्थापनसँग जोडिएर आएका मागहरु उपर आफ्नै पनि ऐक्यबद्धता रहेको र आफूले पनि चार महिनादेखि तलब नपाएको बारे बताएपछि उनले यसबारे भानुभक्तसँग सल्लाह गर्ने बताए । त्यसपछि कार्की आन्दोलनबाट पछाडि हटे । उनी अहिले ओखलढुंगाको मिलन चोकमा मोटरसाइकल वर्कसप चलाउँछन् ।

आन्दोलनको बलमा कर्मचारीले निकालिएको हो भनेर मेरो बदनाम गर्न निरौलाले रचेको प्रपञ्च अब अन्त्य भयो भन्ने लागेर पूर्व योजना अनुसार नै अध्यक्ष नुरु लामा समक्ष जेठ ४ गतेको मिति राखेर राजीनामा बुझाएर म वैशाख २६ गते नै काठमाडौ गएँ । बिदा नलिई नलिई काम गरेको हुनाले जेठ ४ गतेसम्मको तलब लिने अभिप्रायले मैले ४ गतेको मिति राखेको थिएँ । किनकि मेरो नियुक्ति ४ गतेको थियो ।

म राजीनामा स्वीकृतिको खबर आउने आशामा थिएँ । जेठको १२/१३ गतेको कुरा हुनुपर्छ । यसो इमेल हेरेको त राजीनामा स्वीकृत गर्नुको सट्टा प्रमुख कार्यकारी अधिकृत पद खारेज गरिएको भन्ने निर्णय गरिएको रहेछ । यसरी योजनाबद्ध ढंगले महिना दिन अघि नै सूचना दिई राजीनामा दिंदा समेत घुमाउरो तरिकाले मलाई हटाइएको हो भन्ने भ्रम छर्न प्रमुख कार्यकारी अधिकृत पद खारेज गरिएको निर्णय गरिएको थियो । नियुक्ति दिँदा नै करारनामामा कुनै पनि पक्षले सेवा त्याग्नु वा हटाउनु अघि कारण सहित महिना दिन अगावै जानकारी गराउनुपर्ने भन्ने उल्लेख थियो । जुन मैले पालना गरेको थिएँ ।

म अनेक तर्कनामा डुबें । हिमाल एफ.एम.का केही कर्मचारी त मसँग रिसाए रे, यसको माउ संस्थाका मान्छे म माथि किन यत्ति निर्मम बने ? राजीनामा स्वीकृत गर्नुको साटो किन पद खारेज गरिएको होला ? यसको कारण मैले खोज्दै गएँ ।

राजीनामा दिएर निस्केको भन्दा समाजमा मेरो इमेज यथावत हुने भएपछि निकालिएको हो भन्ने बनाउन निरौलाकै डिजाइनमा पद खारेजको निर्णय गरिएको रहेछ । यस्तो निर्णयमा सहमत बनाउन निम्न दुई कारणले मूख्य भूमिका खेलेको मैले पाएँ ।

पहिलो कारण : आर्थिक संकटबाट जोगाउने आश्वासन

हिमाली सञ्चार कम्पनी लिमिटेडका अध्यक्ष नुरु लामा आफ्नै योजनामा रेडियो खोलेको भएपनि चार पाँच महिनाकै अवधिमा वाक्कदिक्क भईसक्नु भएको थियो । रेडियो कर्मचारीको तलब देखि चामल माग्न समेत कर्मचारी घरमै जान थालेपछि उहाँलाई टाउको दुख्न थालिसकेको थियो । त्यसकारण यो भूमरीबाट कहिले निस्कौं भन्ने छट्पटाहट थियो उहाँमा । उहाँले बेला बेलामा भन्ने गर्नुहुन्थ्यो, सेयर सदस्यता वितरण र प्रथम साधारणसभा गरेपछि म रेडियो निमा जी (अहिलेका अध्यक्ष)लाई हस्तान्तरण गर्छु ।

यस्तो समस्याबाट गुज्रिरहेको बेला भानुभक्त निरौलाले भनेछन् रेडियोको जिम्मा मलाई दिनुहोस् म रेडियोलाई नाफामा लैजान्छु तर प्रमुख कार्यकारी अधिकृतको पद खारेज गर्ने निर्णय गर्नुपर्छ । रेडियो कर्मचारीको तलब सलबको टेन्सन पनि लिनु नपर्ने, उल्टै नाफामा लैजाने प्रस्तावले यो निर्णयमा हस्ताक्षर गर्न उहाँलाई सोच्नै परेन । किनकि त्यो काम मेरो नेतृत्वबाट तत्काल सम्भव थिएन । रेडियोमा बैध तरिकाले कमाएको पैसाले रेडियो सञ्चालन त होला ? तर नाफै कमाउन चाहिँ मुश्किल नै पर्छ ।

दोस्रो कारण : मुखभरिको जवाफ

काठमाडौको चुच्चेपाटी अघिल्तिरिको नाङ्लो रेस्टुरेन्टमा कार्यसमितिका पदाधिकारीहरुको छोटो बैठक थियो । उक्त बैठकमा हालका अध्यक्ष निमा शेर्पाले मलाई भन्नुभयो पी.टी.जी तपाईले पनि प्रेस युनियनको सदस्यता लिनुपर्यो । यसको आशय उहाँले मलाई काँग्रेस बन्नुपर्यो भन्नुभएको थियो । म कुनै पनि पार्टीको होइन, तर म सबै पार्टीको हुँ मलाई दलिय पत्रकार मन पर्दैन भनेपछि उहाँ चुपचाप बस्नु भयो । म अहिले पनि दलिय पत्रकार संस्था प्रति झुकाव राख्दिन र पत्रकार कुनै पनि दलको हुनु हुँदैन भन्ने अडानमा अडिग छु ।

उनको अपेक्षा थियो, म उनले समर्थन गर्दै आएको पार्टीको सदस्य बन्नेछ । तर उनले अपेक्षा गरेभन्दा छुट्टै प्रतिक्रिया पाएपछि त्यही दिनदेखि म उनको आँखाको तारो बन्न थालिसकेको थिएँ । उनको दलिय बिचारसँग निकट रहेको अन्य सदस्यहरुलाई समेत उनले मैले भनेको कुराका बारेमा बताएका रहेछन् । यसकारण शेर्पाले मेरो विरुद्धमा हुने जुनसुकै निर्णयमा हस्ताक्षर गर्ने मौका पर्खिरहेका थिए ।

महिना दिन अघि जानकारी गराएर राजीनामा दिँदा पनि पद खारेज गरी घुमाउरो तरिकाले निकालिएको सन्देश प्रवाह गरेर यिनीहरुले मलाई जत्ति अन्याय गर्यो, त्यो भन्दा बढी अपमान सहेँ पारिश्रमिक लिने बेला । …फेरि अर्को अंकमा ।

[लेखक : हिमाल एफ.एम ९०.२ मेगाहर्जका पूर्व प्रमुख कार्यकारी अधिकृत, संस्थापक कार्यसमिति सदस्य तथा सेयर होल्डर हुनुहुन्छ ।]

यो पनि पढ्नुहोस् ।

फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट  !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण :  विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?

 

भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी  !

 

हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार