सुर्खेतमा एकै परिवारका ४ जना मृत भेटिए

  सगरमाथा अनलाईन
315 Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका ४ जना मृत अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका-१०, बुदबुदेमा एकै परिवारका ४ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा ५ वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका हुन् ।

मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा बिरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अरान्ह चार बजे फर्किदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरु कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत भेटिएको डीएसपी घर्तीले बताए ।

चिसोमा कोइला बालेर सुतेका कारण निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । कल्पनाका श्रीमान जाजरकोटबाट आउँदै गरेको र उनले आफू आइपुगेपछि अनुसन्धान अघि बढाउन भनेपछि अहिले प्रहरी टोलीले घटनास्थलको सुरक्षा दिइरहेको डीएसपी घर्तीले बताए ।

घटनाको कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार