बिनालाई रेडियोमा नराख्दा भानुभक्त फन्केर हिडेको त्यो दिन…

Facebook Debugger

पी.टी.लोप्चन । ‘तपाई त रेडियोको मान्छे, गैरसरकारी संस्थाको झोला बोकेर हिड्नु भन्दा मिलेर रेडियो खोलौं ।’ नुरु लामाले एकदिन फाप्लुको तेर्सोमा हिडिरहेको बेला एक्कासी यस्तो प्रस्ताव ल्याउनुभयो । उहाँ धेरै समय पहिलेदेखि फाप्लु स्थित तारा एयरको स्टेशन म्यानेजर भएकाले उहाँलाई नसोधी नभेटी काठमाडौ जान पाईदैनथ्यो । त्यसैले उहाँसँगको चिनजान अलि पुरानै थियो ।

यही प्रस्ताव उहाँले भानुभक्त निरौलालाई पनि गर्नुभएको रहेछ । भानुभक्त निरौलाले दुधकोसी एफ.एम.मा, म र बुद्धवीर बाहिङले सोलु एफ.एम.मा काम गरेको अनुभव थियो । साथै म, निरौला र बाहिङ ३ जना मिलेर सोलुखुम्बु पोष्ट नामक साप्ताहिक पत्रिका समेत चलाउदै आएका थियौं ।

म अहिले पनि ती दिनहरु झल्झली सम्झिन्छु । मैले रेडियोलाई बाहिरै बसेर सपोर्ट गर्ने तर कर्मचारी नै भएर चाहिँ काम नगर्ने बताएको थिएँ । निरौला दुवै जना मिलेर रेडियो सञ्चालन गर्ने भए मात्र सोलुखुम्बु पोष्ट साप्ताहिक पनि निरन्तर हुने बताउथे । सोलुखुम्बु पोष्टमा आर्थिक, मानसिक तथा भौतिक लगानी भईसकेकाले मलाई धेरै माया लाग्थ्यो र यसको निरन्तरता चाहन्थें । उक्त पत्रिका एक वर्ष पूरा भएपछि स्थगित गरिएको थियो ।

अहिलेको जिल्ला समन्वय समितिको घरभन्दा परतिरको घरमा महेश किराँतीले सेकुवा कर्नर खोल्नुभएको थियो । त्यहाँ रेडियो खोल्ने पक्षका केही मानिसहरु भेला भयौं र रेडियो खोल्ने निर्णयमा पुग्यौं । निरौलाले सोलुखुम्बु पोष्टलाई पनि निरन्तरता दिने भनेपछि म जि फाउण्डेसन नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको जागीर छोडेर रेडियो खोल्न आउन राजी भएँ ।

साथै टावरको काम र स्टुडियो निर्माणको काम मेरो टोली र कम्पनी दर्ता गर्नेदेखि रेडियो सञ्चालनको इजाजत लिने तथा रेडियोको उपकरण खरिद गर्ने सम्मको काम भानुभक्त निरौलाको टोलीलाई जिम्मा दिईएको थियो । निरौला भन्ने गर्थ्यो ‘म ऋषि धमलालाई राम्रो सँग चिन्दछु । उहाँलाई भन्न लगाएर भए पनि मन्त्रालयको काम चाँडै गर्छु ।’ पछि उनले भन्न आएका थिए ‘यत्तिबेला ५ सय वाट भन्दा माथिको इजाजत नदिदो रहेछ । तर मैले ऋषि धमलालाई भन्न लगाएर १ हजार वाट क्षमताको इजाजत लिएर आएको छु ।’ त्यत्तिबेला जयप्रकाश प्रसाद गुप्ता सञ्चारमन्त्री थिए । उनले पदको दुरुपयोग गरी ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएपछि अदालतले सोही साल फागुन ९ गते डेढ वर्ष कैद र त्यत्ति नै रकम विगो भराउनुपर्ने फैसला गरिएको थियो ।

काठमाडौमा गर्नुपर्ने प्रशासनिक कामहरुसँगै यता फिल्डमा गर्नुपर्ने जत्ति सबै काम सम्पन्न भईसकेका थिए । अब रेडियोमा बोल्ने कर्मचारी ल्याएर ‘हिमाल एफ.एम. ९०.२ मेगाहर्जको तरङ्गमा तपाईलाई स्वागत छ !’ भन्न मात्र बाँकी थियो । निरौला र म रेडियो पृष्ठभूमिबाट आएको र रेडियो खोल्ने काममा समेत अग्र पंक्तिमा रहेर काम गरेकाले स्वतः मलाई मलाई फस्ट म्यान र उनलाई सेकेण्ड म्यानको जिम्मेवारी दिईएको थियो । तर त्यसपछि रेडियोकर्मी छनौट गर्दा निश्चित विधि र प्रक्रिया अबलम्बन गर्नुपर्ने भन्ने थियो ।

व्यापारिक रेडियो भएकाले २/४ जना रेडियोकर्मी काठमाडौबाटै ल्याउने सल्लाह भए बमोजिम नागरिक दैनिक र अन्नपूर्ण पोष्ट दैनिकबाट कर्मचारी आवश्यकता आव्हान गरी आवेदन माग र्गयौं । यो २०६८ साल भदौको दोस्रो साता तिरको कुरा हो । कर्मचारी छनौट समितिमा हिमाली सञ्चार लिमिटेडका अध्यक्ष नुरु लामा, ङिमातेण्डुप शेर्पा, कर्मा शेर्पा, भानुभक्त निरौला र म सहभागी थिएँ ।

धेरैले आवेदन दिएपनि तोकेको योग्यता अनुसारको आवेदन खासै परेनन् । र पनि केहीलाई सर्ट लिष्टमा निकालेर कर्मचारी छनौटको काम आरम्भ गर्‍यौं । सानो गौचरणमा रहेको हिमाली तथा वातावरणीय सेवा सोलुखुम्बुको कार्यालयमा हो कर्मचारी छनौटको काम गरेको । हामीले त्यस्तो लिखित परिक्षाको व्यवस्था त गरेका थिएनौं तर व्यहारिक अभ्यास चाहिं अनिवार्य थियौं ।

रेडियोमा प्रायः समाचार बेसको कार्यक्रम, मनोरञ्जनात्मक र केही भावनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले प्रतिस्पर्धामा सहभागी उम्मेदवारहरुलाई पत्रिकामा छापिएको समाचार भन्न, मनोरञ्जनात्मक शैलीको कार्यक्रम र अलि भावनात्मक प्रकारको कार्यक्रम (जो रातीको समयमा सञ्चालन गरिन्छ) सञ्चालन गर्न लगाएका थियौं ।

उक्त प्रतिस्पर्धामा बिना राई पनि सामेल भएकी थिइन् । उनले त्यस अघि रेडियो दुधकोसीमा काम गरेकी थिईन् । रेडियोमा काम गरेको अनुभव भएपनि उनले खासै राम्रो प्रस्तुती दिईनन् त्यो दिन । जस्तोसुकै प्रस्तुती गरेपनि रेडियोमा काम गर्न पाईहाल्छु भनेर हो वा उनले गर्न सकेकै त्यत्ति थियो, त्यो चाहिँ थाहा भएन ।

बिनाले गरेको प्रस्तुतीकरणबाट कर्मचारी छनौट समितिका कोही पनि सन्तुष्ट भएनन् र उनी छनौटमा परिनन् । त्यसदिन बिक्रम श्रेष्ठ र बाल गोबिन्द न्यौपाने मात्र चुनिए । रेडियो मिथिलाञ्चल जनकपुरका अर्का एक जनालाई वैकल्पिकमा राखियो । उक्त निर्णय भएको बेला भानुभक्त निरौला केही असन्तुष्ट जस्तो देखिन्थ्यो । तर भन्न चाहिँ उनले केही भनेनन् ।

कर्मचारी छनौटको एउटा महत्वपूर्ण काम सम्पन्न भएको र थप कर्मचारी स्थानीय स्तरमै उत्पादन गर्न सकिने निष्कर्ष निकाल्दै हामी सबै जना छुट्यौं । सोही दिन करिब ४/५ बजे तिरको समय हुनुपर्छ । मेरो फोनको घण्टी बज्यो । फोन थियो कर्मा शेर्पाको । ‘पी.टी. जी भानुभक्त जी ले बिनालाई नराखेसम्म रेडियोमा काम नगर्ने भन्नुभयो, के गर्नेहोला ?’ शेर्पाले सुनाउनुभयो । मैले निरौलाले काम नगरे पनि रेडियो चलाउन सकिने र बिना राख्नैपर्ने भएपनि आपत्ति नरहेको बताएँ ।

कार्यसमितिका सदस्यहरुमध्ये अलि हर्तकर्ता गर्ने उहाँ नै हुनुहुन्थ्यो । उहाँले रेडियो स्थापनाको सम्पूर्ण काम सम्पन्न भई नसकेको र रेडियो चलाउने प्रक्रियाबाट उनलाई बाहिर राख्दा समाजमा राम्रो सन्देश नजाने भएकाले निरौलालाई समावेश गर्नुपर्ने बताउनुभयो । ‘मेरो त यसमा केही आपत्ति नै छैन । बिनालाई राख्दा पनि केही फरक पर्दैन’ मैले उहाँलाई भनें । रेडियो सञ्चालनको इजाजत व्यवस्थापन पक्षको हातमा परेको भएपनि बिनालाई राख्ने वा नराख्ने समितिले पुनर्विचार गर्ने रहेछन् । तर निरौलाले सञ्चार मन्त्रालयबाट लिएको इजाजत पत्र त्यत्ति बेलासम्म हिमाली सञ्चार कम्पनीलाई बुझाएकै रहेनछ ।

सुरुमा बिनालाई कर्मचारी नबनाएसम्म काम नगर्ने बताएका निरौलाले फेरि बिनालाई बजार शाखाकै प्रमुख बनाए मात्र काम गर्ने भनेर बखेडा झिके । बिनाले न मार्केटिङ पढेका थिए न लेखा सम्बन्धीकै ज्ञान थियो । उनले त्यस अघि रेडियो दुधकोसीमा समाचार भनेको चाहिँ थाहा थियो मलाई । म चाहिँ उनले समाचार भन्न सक्छिन् भन्नेमा ढुक्क थिएँ । ‘रेडियोमा कामै नलाग्ने व्यक्ति चाहिँ होइन, उनले राम्रोसँग समाचार भन्न सक्छिन्’ व्यवस्थापन पक्षलाई म यही विश्वास दिलाउँथें । पछि उनले रेडियोमा समाचार पनि राम्रैसँग भनिन् ।

बिना राईलाई बजार विभाग प्रमुख बनाएर निरौलाले हिमाल एफ.एम.मा आउने आम्दानीको अपचलन गर्यो भनेर म भन्दिन । किनकि यस सम्बन्धी म सँग प्रमाण पनि छैन । तर सामान्य मानिसले पनि सोच्न सकिने विषय चाहिँ के हो भने रेडियोमा काम गर्न भानुभक्तलाई बिना राई नै किन चाहिएको थियो ? ल राम्रो समाचार भन्ने महिलाको खाँचो रहेछ रे त्यो पनि मानें । बजार र लेखाको ज्ञान नै नभएको व्यक्तिलाई किन बजार शाखाको प्रमुख नै बनाउनु र्पयो त ? यसबाट पनि के बुझ्न सकिन्छ भने उनले रेडियोमा सुरु देखि नै सेटिङ मिलाएका थिए कमाऊ धन्दाका लागि ।

रेडियो कार्यक्रम सञ्चालन गर्नका लागि समेत योग्य छैनन् भनेर कर्मचारी छनौट समितिले सुरुमै फ्याँकेको बिना राईले अन्ततः करिब ६ वर्षजत्ति हिमाल एफ.एम.को बजार विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् ।

उनलाई हिमाल एफ.एम.को बजार प्रमुख बनाउँदा रेडियोलाई फाइदा पुग्यो वा घाटा ? त्यो अर्को पाटो हो । तर मैले चाहिँ नराम्रै सास्ती झेल्नुपर्यो तलब लिने बेलामा ।

मैले अघिल्लो अंकमा पनि भनिसकेको थिएँ कि रेडियोबाट निस्कने बेलामा ४ महिनाको तलब लिन बाँकी थियो भनेर । उक्त तलब लिनका लागि कयौं पटक कार्यसमितिका जिम्मेवार सदस्यहरुको ध्यानाकर्षण गराएँ । खासगरी अलि भरोसा राख्न सकिने कर्मा शेर्पा नै हुनुहुन्थ्यो र अलि बढी उहाँलाई नै भनें । नियुक्ति पत्रमा समेत उहाँको हस्ताक्षर भएकाले काम गरेको अवधिको तलब दिने जिम्मेवारीबाट उहाँ टाढा भाग्नुहुन्न भन्ने लागेको थियो मलाई ।

मैले आफ्नो तलबका लागि असार अन्त्यसम्म त खास धेरै जिद्दी गरिन । किनकि आफ्नै कार्यकालमा बजाएको विज्ञापन तथा कार्यक्रमको गरी बजारबाट करिब १४/१५ लाख भन्दा बढी रकम उठाउनै बाँकी थियो । सरकारी कार्यालयको असार मसान्तमा खाता बन्द गर्नुपर्ने भएकाले उक्त रकम संकलन हुने र आफूले तलब पाउनेमा म ढुक्क थिएँ ।

तर मेरो सोझो बुझाईले यहाँ पनि काम गरेन । हिमाल एफ.एम.को नाममा तत्कालीन कोषाध्यक्ष महेश किराँती र भानुभक्त निरौलाले संयुक्त खाता सञ्चालन गरी सबै रकम त्यहाँ जम्मा गर्न थालिएको रहेछ । हिमाली सञ्चार लिमिटेडको खातामा भने सेयर संकलन गरिएको रकम मात्र जम्मा हुने बनाएको रहेछ ।

हिमाली सञ्चार लिमिटेडको हिसाब किताबको काम सानु तामाङले हेर्नुहुन्थ्यो । उहाँ म प्रति सकारात्मक हुनुहुन्थ्यो । अन्त्यमा अध्यक्ष नुरु लामा र कर्मा शेर्पाकै सक्रियतामा सेयर धनीले उठाएको रकमबाटै मलाई तलब भत्ता दिलायो । रेडियोको आफ्नै मिहेनतले कमाएको होस् वा सेयरधनीले संकलन गरेको रकम, मलाई त आफ्नो तलबभत्ता पाउनु थियो । ढिलै भए पनि भदौ असोजतिर लिएरै छाडें । तर आफूले काम गरेर कमाएको पारिश्रमिक लिन पनि भीख मागेको भन्दा कम दुःख गर्नु परेन ।

[लेखक : हिमाल एफ.एमका संस्थापक कार्यकारी अधिकृत, कार्यसमिति सदस्य तथा सेयरधनी हुनुहुन्छ ।]

यो पनि पढ्नुहोस् ।

फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट  !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण :  विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?

 

भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी  !

 

हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’

 

‘अनि यसरी रोडमै र्पुयायो भानुभक्तको जमातले मलाई’

 

हिमाल एफ.एम. प्रमुखको कर्तुत छताछुल्ल : स्थानीयसँग ६० हजारको डिल, बीमा कम्पनीमा ५० हजारको बील !

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार