नेपालमा ‘लकडाउन’ जेठ २० पछि के होला ?

Facebook Debugger

निनाम कुलुङ ‘मंगले’ । आउँदो २० (जेठ २०) गतेपछि सरकारले के गर्ला ? लकडाउन थप्ला कि हटाउला ? आम मानिसमा चासो बढी रहेको छ । लकडाउन हटाऊँ भने, देशमा (कोभिड-१९) को कारण बिरामी हुनेहरुको संख्या बढेको बढ्यै छ । हाम्रो देश नेपालमा कोरोनाा बिरामीहरुको संख्या बढेको मात्रै होइन कि, लगभग ३ हप्ताको अवधिमा ६ जना नेपालीहरुले कोरोनाकै कारण ज्यान गुमाई (विसं २०७७ जेठ १६ गतेसम्म) सकेका छन् । त्यस्तै १ हजार २१२ मानिसहरु बिरामी भएका छन् भने २०६ जना बिरामीहरु निको भएर घर फर्केका छन् ।

तापनि नेपाल सरकारले तिमीहरुलाई बचाउनकै लागि हो ! भन्दै बिना कुनै राहत प्याकेज (खान्तेपिन्ते, अत्यावश्यक सेवा-सुविधा र राहत लगायत मानिसहरुलाई नभई नहुने अन्य आधारभूत आवश्यक्तका चिजबिजहरु व्यवस्थापन नगरीकनै) लकडाउनलाई फेरि पनि बढाई रहेमा नेपालका धेरै मानिसहरु ‘चिहिल-बिहिल’ हुने छन् । त्यसमा पनि नेपालका साँच्चैका गरिब अर्थात् दिनभरि काम नगरी कमाई नगरी बिहानै बेलुकै खान नपाउने आर्थिक रुपमा तल्लो स्तरका सर्व-साधारण नेपालीहरुको हरि बिजोग हुने स्थिति सिर्जना हुँदै छ । त्यसपछि उनीहरु (कोभिड-१९) का कारण बिरामी भएर भन्दा पनि लकडाउनका कारण काम नपाएर र, खान नपाएर भोकमरीका कारणले मर्ने संभावना देखिन्छ ।

अहिले पनि सहरी क्षेत्रका अति गरिब र दिनभरि काम नगरी बिहान बेलुकाको खानापानको व्यवस्था गर्न नसक्ने स्तरका नेपालीहरु कसरी बाँची रहेका छन् ? सोचनीय र विचारणीय विद्यमान अवस्था छ । यो समस्या सहरी क्षेत्रमा टड्कारो देखिन्छ । त्यसैले, अब पनि नेपाल सरकारले खान्तेपिन्ते, अत्यावश्यक सेवा-सुविधा र राहतको सुविधा र अन्य अत्यावश्यक व्यवस्थापन बिना नै लकडाउन लगातार लागू गरी रहेमा हालसालै (गत ११ वैसाखमा) कीर्तिपुर-१० मा मरेका धादिङ जिल्लाका सूर्यबहादुर तामाङको जस्तै मरण धेरै सहरी गरिब-दुःखीहरुको हुने देखिन्छ । यस्तै वेला खाद्यान, इन्धन लगायत अत्याश्वक वस्तुको मूल्य पनि लगभग दोब्बरले बढ्ने गर्छ । फेरि कोही कसैले दिएको खाना वा आर्थिक सर सहयोगले कोही पनि मानिसको जीवन कति दिन, कति हप्ता, कति महिनासम्म धानिन्छ ? त्यसैले सरकारले अब फेरि पनि बिना कुनै गम्भीर सोच-विचार लकडाउन थपेमा हुने नकारात्मक असरका बारेमा सोच्नैपर्ने हुन्छ । का बारेमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । सके तत्कालै लकडाउन हटाउँदा अझ राम्रो हुन्छ । बरु केही सर्तसहित लकडाउन खोल्ने र नेपालभरि नै व्यापक रुपमा कोरोनाको संक्रमित भए/नभएको बारेमा परिक्षण गर्नेतर्फ सरकारले अझै पनि ढीला गर्नु हुँदैन । त्यसो त इतिहास हेर्दा के थाहा हुन्छ भने, यसअघि पनि विश्वमा विभिन्न समयमा अनेकौं ठूलठूला महामारी रोगहरु फैलिएको थियो । दोस्रो विश्व युद्ध लगत्तै फैलिएको स्पेनीस फ्लुले ५ करोड मानिसहरु मरेका थिए अरे ! मृतकहरुको त्यो संख्या त्यो वेलाको सम्पूर्ण युरो महादेशको लगभग आधा जनसंख्या हो भन्ने विज्ञहरुको भनाइ छ । तर, अहिलेको जमाना ऊ वेलाको भन्दा कता हो, कता धेरै फरक भई सकेको छ । ऊ वेला अहिलेको जस्तो सूचना, सञ्चार, विज्ञान र प्रविधिले फड्को मारी सकेको थिएन । तर, आजको जमाना अर्कै भएको छ । आज सूचना, सञ्चार, विज्ञान र प्रविधिले यति धेरै फड्को मारेको छ कि, जमाना कहाँ पुगेको छ, कहाँ ? त्यसैले त विश्वको कुनै एउटा कुनामा घटेको सानो घटनाहरु पनि क्षणभरमै विश्वभरि फैलन्छ, हल्ला-खल्ला भैहाल्छ, भाइरल भैहाल्छ ।

यसरी ‘नोभेल कोरोनाभाइरस’ (कोभिड-१९) को भाइरसले मानिसमाथि आक्रमण गर्न सुरु गरेको लगभग ४ महिनामा ३ लाख ८-९ हजार चानचुन मानिसहरुको मात्रै मृत्य भएको भए तापनि विश्वका सबै सञ्चारमाध्यमहरुमा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड-१९)बारेमा नै प्रखुम समाचार बन्ने गरेको छ, ठूलो र महत्वपूर्ण समाचार बन्ने गरेको छ । यसरी विश्व नै (कोभिड-१९) का कारण त्राहीमाम भएको छ । यो रोगको महामारीलाई संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ तारिखका दिन घोषण गरी सकेको छ । त्यसो त भाइरल रोगका विज्ञहरुले गर्मी याम सुरु हुने बित्तिकै आफै हराउने आशा वा भनौं अनुमान गरेका थिए । तर, यो महामारीको भाइरसले (कोभिड-१९) ले सन् २०२५ सम्म पनि आफ्नो प्रभाव कायम राख्न सक्ने भनी केही विज्ञहरुले बताई सकेका छन् । त्यसैले (कोभिड-१९) नामक भाइरसको महामारीका कारण अझै कति मान्छेहरुलाई बिरामी बनाउने हो ? कति मानिसहरुलाई परमधाम पुर्याउने हो ? अहिले नै किटेर भन्न सक्ने अवस्था रहेन ।

वास्तवमा (कोभिड-१९) नामक संक्रामक भाइरसको महामारी तल-तलसम्म (संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई) संक्रमित नगरोस्भा/इरस नसारोस् ! भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रुपमा रहेको ‘लकडाउन’ नै देखिएको छ । त्यसैले (कोभिड-१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नफैलियोस् भनेर धेरै देशहरुले ‘लकडाउन’ वा संकटकाल लागू गरे । फलतः नेपाल सरकारले पनि विश्वका अन्य केही देशहरुले अझै ‘लकडाउन’कै उपाय अवलम्बन गरेको छ । तर, नेपालमा भनसुन र केही हदसम्म घुषखोरी चल्ने भएको कारण गर्दा जताभावी सवारी पास वितरण गरिएकोले गर्दा संक्रमितहरुको संख्या बढेको मान्नुपर्ने हुन्छ । खासगरी बागमती प्रदेशको राजधानी काठमाण्डौ उपत्यकामा त्यही देखिएको छ । त्यस्तै उहिले नै नेपाली कांग्रेसले ‘लौह पुरुष’, ‘सर्वमान्य नेता’ आदि (विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर !) को पगरी गुथाईएका स्वर्गीय गणेशमान सिंह ज्युले भन्नु भए जस्तै हामी नेपालीहरु ‘भेडा !’ भएकोले पनि कोरोना फैलनमा अरु बढी सहयोग पुगेको देखिन्छ । हुन त स्वर्गीय गणेशमान सिंह ज्युले विसं २०४८ को संसदीय निर्वाचनमा काठमाण्डौमा उम्मेदवार भएर उठेका आफ्नो श्रीमती (स्वर्गीय मंगलादेवी सिंह) र छोरो प्रकाशमान सिंहलाई काठमाण्डौबाट हराएपछि काठमाण्डौका जनतालाई आवेगमा आएर मात्रै पक्कै होइन होला, साँच्चै भेडा सम्झेर नै होला ! उहाँले काठमाण्डौका जनताहरु ‘भेडा !’ हुन् भन्नु भएको थियो । तर, स्वर्गीय गणेशमान सिंह ज्युको सो भनाइ काठमाण्डौका जनतामा मात्रै नभएर सिंगो देशभरिका जनताहरुमा हालसम्म पनि लागू भएको देखिन्छ !

यदि हामी नेपालीहरु ‘भेडा !’ नभएर मान्छे भएको भए, कोरोना लागी हालेमा यसको स्थाई उपचार छैन, हालसम्म कोरोना महामारीको अचूक औषधि वा खोप बनेको छैन, त्यसैले सामाजिक दूरी कायम गर्नबाहेक कोरोनाबाट बच्ने अर्को उत्तम उपाय छैन ! भनेर विषय विज्ञहरुले भन्दाभन्दै बिना काम जताभावी हिँडडुल गर्ने, सेल्फ आइसोलेसनमा नबस्ने, लकडाउन उल्लंघन गर्ने, क्वारेन्टाइनबाटै भाग्ने गर्छौं होला त ? नेपालमा ‘लकडाउन’ खोल्नुको अर्को महत्वपूर्ण कारण भनेको सरकारले जनतालाई हालसम्म खालि पेट (बिना नगद वा खाद्य सामग्री वितरण ‘लकडाउन’ मा राखेको अवस्था छ ।) यसरी जनतालाई खालि पेट वा भनौं नगद वा खाद्य सामग्री वितरण नगरी कतिञ्जेल भावनामा नबगी ! ‘लकडाउन’ मा बस भन्ने ?

त्यसैले सरकार !, जनतालाई खालि पेट वा भनौं नगद वा खाद्य सामग्री वितरण नगरी कतिञ्जेल भावनामा नबगी ! ‘लकडाउन’ मा बस भन्ने ? त्यसैले अब जसरी पनि ‘लकडाउन’ खोल्नैपर्ने देखिन्छ । हुन पनि बल्लतल्ल मान्छे भएर यो धरतीमा जन्मेको ! अकाल मृत्युवरण किन गर्ने ? भनी सम्झनेहरु र मानव जीवनको महत्व र मूल्य बुझेका बुझकीहरु, आफ्नो जीवनको माया लाग्नेहरु, मर्नदेखि डराउनेहरु आफै सामाजिक दूरी कायम गरेर, सावधानी अपनाएर वा जसरी हुन्छ, उनीहरु आफैले बाँच्ने प्रयास गर्ने छन् । आ … जे सुकै होस् छु मतलब ! भन्नेहरु मर्दै गर्छन् । तर, कसैलाई पनि जानाजान सूर्यबहादुर तामाङको हालतमा नपुर्याऊँ ! कि कसो हौ, सर्वहारा तथा क्रान्तिकारी कमरेडहरु, जो वर्तमान सरकारमा अत्यधिक बहुमत (दुई तिहाई नजिक) का साथ विराजमान हुनु हुन्छ । ninamkirat123@gmail.com

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार