सोलुदुधकुण्ड नगरपालिकाको कार्यपालिका बैठकमै उपमेयर माथि हातपात, उपमेयर अस्पताल भर्ना !

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डकी उपमेयर कल्पना राई माथि कार्यपालिका बैठकमै हातपात भएको छ । नगरकार्यपालिकाको बैठक भईरहेकै बेला नगरपालिकाकी प्रवक्ता शारदा तामाङले उपमेयर माथि हातपात गरेकी हुन् ।

लकडाउनका कारण काठमाडौमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेको विषयमा छलफल भईरहेकै बेला उपमेयर माथि हातपात गरेको बैठकमा सहभागी एक वडा अध्यक्षले बताए । ‘कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि हरेक वडाले गरिरहेको कामको बारेमा ब्रिफिङ गरिसकेपछि उपमेयर कल्पना राईले ५ मिनेट समय मागेर बोल्नुभयो । उहाँले काठमाडौबाट उद्धार गरेको नागरिकको सवालमा निकालेको प्रेस विज्ञप्ती संस्थागत हो कि व्यक्तिगत हो भनेर प्रवक्तालाई सोध्नुभएको थियो । प्रवक्ता शारदामाया तामाङले जवाफ दिनुको सट्टा जहिल्यै पनि मलाई नसहने भनेर उपमेयर माथि झम्टिनुभयो’ ती वडा अध्यक्षले भने ।

ती वडा अध्यक्षका अनुसार प्रवक्ता तामाङ र उपमेयरबीच कपाल तानातान भएको थियो । ‘त्यसरी हातपात गर्नुहुन्छ भन्ने हामीलाई थाहा भएन । नजिकै रहनुभएका वडा नं. २ का अध्यक्ष राजु तामाङ र वडा नं. ५ का अध्यक्ष मिङमार तामाङले छुटाउनुभयो’ ती वडाध्यक्षले भने ।

उपमेयर राईको आँखामा समेत चोट लागेको छ, भने उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा भर्ना गरिएको छ । उपमेयर माथि हातपात गर्ने शारदामाया तामाङलाई भने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा राखिएको छ ।

काठमाडौबाट नागरिक उद्धार गरिएको विषयमा यसअघि उपमेयर र प्रवक्ताले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरेका थिए । काठमाडौबाट नागरिक उद्धार गरिएको विषयमा दुवै पक्षले राजनीतिक जस लिन खोजेका थिए ।

सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा नेपाली काँग्रेसबाट र उपमेयर कल्पना राई नेकपाको तर्फबाट विजय भएका हुन् । सोलुदुधकुण्ड नगरपालिकाका मेयर र उपमेयरबीच बेला बेलामा खटपट हुने गरेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार