नेपाली कांग्रेस सोलुखुम्बुद्धारा शान्ति सुरक्षा नाजुक भएको भन्दै गृहमन्त्री थापाको ध्यानाकर्षण

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य एवं पार्टी संगठन विभाग सोलुका प्रमुख खिलराज बस्नेतको संयोजकत्वमा सोलुखुम्बु जिल्लाको शान्ति सुरक्षाको स्थिति नाजुक बन्दै गएकाले गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाइएको सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए । ‘नेपाल सरकार हामी सबैको साझा सरकार हो । यस अन्तर्गतका सबै निकायहरु नेपालको ऐन, नियम कानूनद्धारा स्वतन्त्र, निष्पक्ष र पारदर्शी रुपमा सञ्चालन भै सबै नागरिकलाई समान व्यवहारका साथ सेवा प्रवाह हुनु पर्दछ भन्ने मान्यता नेपाली कांग्रेस राख्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सोलुखुम्बु जिल्लामा हाल शान्ति सुरक्षाको स्थिति नाजुक छ । स्वयम प्रहरी कर्मचारी नै वन्यजन्तु तस्करी, जवरजस्ती करणी, कुटपिटमा संलग्न भएका घटनाहरु सार्वजनिक भएका छन्, कोरोनासँग सम्बन्धित राहत कार्यहरुमा खुलेआम भ्रष्टाचार भैरहेको अवस्था छ ।’

नेपाली कांग्रेस सोलुका सभापति विनोद बस्नेतद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा गृहमन्त्रालय अन्तर्गतकै प्रहरी प्रशासन स्वतन्त्र र निष्पक्ष नभएको आरोप लगाइएको छ । ‘सोलुखुम्बु जिल्लामा प्रहरी प्रशासन सत्ताका लाचार छाँया बनेर नेपाली कांग्रेस पार्टी र कार्यकर्ताहरुलाई दमन गर्ने, स्थानीय तहदेखि विभिन्न सरकारी निकायहरु, जलविद्युत आयोजनाहरु लगायतका अन्य विकासका आयोजनाहरुमा भ्रष्टाचार भयो, अनियमितता भयो, पारदर्शी भएन भनेर हाम्रो पार्टी र नागरिक समाजले उठाइरहेको आवाजलाई प्रहरी प्रशासनले ती निकायहरुसँग मिलेर खुल्ला रुपमा दमन गर्ने कार्य भैरहेको जानकारी गराउदछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सोलु जिल्लामा सत्ताको आडमा प्रहरी प्रशासनको भेषमा दमनको जुन अभियान सञ्चालन भैरहेको छ त्यसको हामी घोर विरोध गर्दछौं ।’

यसैबीच सोलुखुम्बु जिल्लाभित्र प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधीहरुको मिलेमतोमा भएका ज्यादतीहरुको समेत ध्यानाकर्षण गराइएको सम्पर्क समितिका सभापति बस्नेतले बताए । सोलुदुधकुण्ड नगरपालिका, लिखुपिके गाउँपालिकामा भएको घटनाको विरोध गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गत सगमाथा राष्ट्रिय निकुञ्जमा भएको चोरीशिकारीमा संलग्नलाई रंगेहात स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाए पनि निकुञ्जको कर्मचारीसँगको मिलेमतोमा आरोपीलाई छोडिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

त्यसैगरी नेचासल्यान गाउँपालिका २ खाल्पामा भएको अनैतिक क्रियाकलापमा संलग्नलाई उन्मुक्ति दिएको विषयदेखि तुइन्टार लघु जलविद्युत निर्माणमा लामो समयदेखि अनियमितता भई आएकोमा सम्पन्न हुन लागेको योजनाको नाममा गाउँपालिकाबाट अनावश्यक पौने ३ करोड रकम बजेट विनियोजन गरिएकोमा पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउन नेपाली कांग्रेस महासमिति सदस्य एवं पार्टी संगठन विभाग सोलुका प्रमुख खिलराज बस्नेत, महासमिति सदस्य भोजराज कार्की, महाधिवेशन प्रतिनिधी एवं तरुणदल सोलुका अध्यक्ष अशोक झा, नेता प्रकाशसिंह कार्की, सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, हुतराज बस्नेत, युवराज घिमिरे, दिप थापामगर, वेदप्रसाद वन लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार