नयाँ वर्ष २०७९को वार्षिक राशिफल कस्तो छ ? हेनुहोस वर्षभरीको राशिफल

  सगरमाथा अनलाईन
1.6k Shares

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वर्षारम्भ आसलाग्दो देखिए पनि बीचमा केही कठिनाइ र उतारचढाव देखापर्नेछन् भने मध्यान्तरपछि कर्मयोगले उचाइ लिनेछ। वर्षको अन्त्यतिर विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। खर्चभावमा वर्षभरि बृहस्पतिको उपस्थितिले सन्तोषजनक आर्थिक उपलब्धि नहुन सक्छ। केही फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक उतारचढाव पनि देखापर्न सक्छन्। धेरैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि सद्विचारले प्रेरित हुनेहरूलाई त्याग र समर्पणको भावना जागृत हुनेछ। सादगी व्यवहार र असल कर्ममा मन रमाउनेछ भने परोपकार तथा सत्कर्ममा धन उपयोग हुनेछ। बृहस्पतिको प्रभावले धर्मकर्म, समाजसेवा र परोपकारी काममा मात्र धन खर्च गरिनेछ। मस्तिष्कभावमा राहुको उपस्थितिले काम, क्रोध, लोभ, मोह जस्ता भावले प्रश्रय पाउनेछन्। असार र साउनमा मंगल–राहुको युतिसम्बन्धले मनोविकार निम्त्याउनुका साथै अरूको दबाब सहन गर्न नसक्दा विद्रोही भावना जागृत हुने देखिन्छ। जन्मकुण्डलीमा राहु र मंगल प्रतिकूल हुनेहरूलाई परिस्थितिले विवादास्पद भूमिकामा अवतरण गराउन सक्छ। बोली र व्यवहारमा संयम रहनुपर्नेछ। कर्मभावमा शनिको उपस्थितिले कर्मक्षेत्रमा सक्रिय प्रभाव जमाउन बाधा पर्नेछ। जेठको मध्यदेखि असोजसम्म काममा अवरोध, विलम्ब, अपयश, आलोचना जस्ता विघ्नबाधा आउनेछन्। तर, माघपछि कर्मसिद्धि हुनुका साथै आयस्रोत सबल बन्ने देखिन्छ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। समग्रमा यो वर्ष पेसातर्फ ठूलो आर्थिक उपलब्धि नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार तथा सेयरमा भविष्यका लागि लगानी गर्ने समय छ। कृषि तथा पशुपालनतर्फ वर्षको उत्तरार्ध फलदायी रहनेछ। उद्योगधन्दा गर्नेहरूका लागि वर्षको अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। विद्यार्थीहरूका लागि लक्ष्य प्राप्त गर्न अधिक मेहनत गर्नुपर्ने समय छ। विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ। र, वर्षको अन्त्यतिर मंगलमय कार्य सम्पादन हुनेछ। प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्नेछन्। राहुजन्य कर्मदोष निवारण गर्न वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नुहोला। मंगल, बृहस्पति र शनिका प्रतिकूल प्रभावबाट मुक्त हुन र शुभफल प्राप्त गर्न क्रमशः गणेश, हनुमानजी, बगलामुखी र काली भगवतीको पूजा-आराधना गर्नुहोला। वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

यो वर्ष सामान्य पृष्ठभूमिबाट सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ । आयभावमा रहने बृहस्पतिको अनुकूलताले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ । सुरुको मिहिनेतले वर्षभरि फाइदा दिनेछ । अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ । व्यापारमा मनग्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ । सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ । मिहिनेतले उच्चशिक्षामा सफलता दिलाउनेछ । अवसर प्राप्त भए पनि नोकरीतर्फ केही संघर्षका दिन रहनेछन् । सुरुमा भौतिक स्रोत–साधन जुटाउन सफल भइनेछ । तर शनि र राहुको प्रतिकूलताले फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक उतारचढाव पनि देखापर्न सक्छन् । असारको मध्यान्तरदेखि मंगल–राहुको युतिसम्बन्धले धनहानि, भौतिक साधनमा क्षति, पाउमा चोटपटक, आर्थिक संकट, वैदेशिक रोजगारीमा समस्या आदि निम्त्याउने सम्भावना छ । खर्चभावमा राहुको प्रभावले वर्षभरि नै धनसंग्रहमा बाधा पुग्नेछ । भदौदेखि फागुनसम्म मस्तिष्कभावमा मंगलको उपस्थितिले क्रोध, अधैर्य तथा विद्रोही भावना जागृत हुने देखिन्छ । आयभावका बृहस्पतिमाथि शनिको प्रभावले माघसम्म आयस्रोत कमजोर रहनेछ । हिसाबमा आम्दानी देखिए पनि व्यवहारमा कम रकम हातलागी हुनेछ । उधारोमा व्यापार–व्यवसाय गर्नुपर्ने हुन सक्छ । तर केही समय लागे पनि समग्रमा बृहस्पतिको अनुकूल प्रभावले श्रम र मिहिनेतलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ । विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ । यो वर्ष भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ । काममा मातापिताको सहयोग र सद्भाव प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् । माघपछि कर्मसिद्धि हुनुका साथै आयस्रोत सबल बन्ने देखिन्छ । कृषि, पशुपालन, व्यापार, उद्योग तथा सेयरमा लाभ मिल्नेछ । विद्यार्थीहरूको पनि लक्ष्य प्राप्त हुनेछ । प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ । घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । नयाँ उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला । प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्नेछन् । राहुजन्य कर्मदोष निवारण गर्न वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नुहोला । मंगल र शनिका प्रतिकूल प्रभावबाट सुरक्षित रहन र शुभफल प्राप्त गर्न क्रमशः गणेश र काली भगवतीको पूजा–आराधना गर्नुहोला । वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने साउन, कार्तिक, फागुन र चैत महिनामा लाभ हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह

यो वर्ष अवसर र चुनौतीका शृंखला दोहोरिए पनि कर्मसाधनाबाट राम्रो आर्थिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बाटो बिराउँदा बीचमा अवरोध आए पनि दिगो काम थालनी हुनेछ र वर्षको अन्त्यमा लक्ष्य प्राप्ति हुनेछ। कर्मभावमा बृहस्पतिको प्रभावले महत्त्वाकांक्षी काम प्रारम्भ हनेछ। घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। पछिका लागि लगानीको अवसर पनि जुट्नेछ। जेहेन्दार विद्यार्थीका लागि विशेष उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। तर स्वाभिमानका लागि सामाजिक संघर्षमा होमिनुपर्ने हुन सक्छ। अयोग्यहरूको स्वामित्व स्वीकार गर्न नसक्दा दुःख पाइनेछ। आयस्रोतमा राहुको उपस्थितिले आयआर्जन सबल बन्नेछ। तर यसका निमित्त साम, दाम, दण्ड, भेद जस्ता नीतिसमेत अंगीकार हुन सक्छन्। अग्रजहरूसँग असमझदारी बढ्न सक्छ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। श्रम र मिहिनेतलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ। पेसा–व्यवसायमा राम्रो लाभ हुनेछ। बृहस्पतिमाथि शनिको दृष्टिप्रभावले प्रतिकूल परिस्थिति सामना गर्नुपर्ने हुन सक्छ। अवसर प्राप्त भए पनि नोकरीतर्फ संघर्षका दिन आउनेछन्। कर्मक्षेत्रमा बाटो बिराउनाले सामाजिक लोकप्रिय छविमा प्रश्न उठ्न सक्छ। अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान समेत आउन सक्छन्। कष्टभावका शनिको अढैया समेत रहेकाले चोटपटक, काममा अवरोध, विलम्ब, अपयश, आलोचना जस्ता विघ्नबाधा आइरहनेछन्। अधिक खर्च हुनाले आर्जित रकम सञ्चय नहुन सक्छ। जन्मकुण्डलीमा केतु कमजोर हुनेहरूलाई वर्षभरि पेटको समस्याले सताउन सक्छ। भदौदेखि खर्चभावमा मंगलको उपस्थितिले धनमाल चोरी वा नष्ट हुने सम्भावना छ। भौतिक साधन मर्मतसम्भारमा अधिक खर्च हुनेछ। पाउमा चोटपटकको योगसमेत रहेकाले हतियार र सवारी साधन होसियारपूर्वक चलाउनुहोला। समग्रमा आर्थिक रूपले वर्ष फलदायी रहनेछ। प्राप्त उपलब्धिलाई सदैव सुरक्षित बनाउने प्रयास गर्नुहोला। आफ्ना इष्टदेवताको आराधनाका साथै प्रतिकूल ग्रहहरूको शान्तिकर्म गर्नाले अप्ठ्यारो समयमा पनि फाइदा हुनेछ। मंगल र बृहस्पतिका प्रतिकूल प्रभावबाट सुरक्षित रहन र शुभफल प्राप्त गर्न क्रमशः गणेश र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा–आराधना गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। केतुको दुष्प्रभाव कम गर्न वटुकभैरवको पूजा गर्नुहोला। जेठ, असार, असोज र माघ महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने वैशाख, भाद्र, मंसिर र चैत्र महिनामा अधिक लाभ हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो वर्ष सामान्य पृष्ठभूमिबाटै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। व्यावहारिक उल्झनका बाबजुद कर्मयोगबाट उत्साहजनक उपलब्धि प्राप्त गर्न सकिनेछ। भविष्यका लागि बलियो आधार बन्ने दिगो काममा प्रवृत्त भइनेछ। भाग्य भावमा बृहस्पतिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ। यही वर्ष सन्तानसुखको योग समेत रहेको छ। मिहिनेतले उल्लेख्य प्रगति हासिल गर्न सकिनेछ। गृहभावमा केतु रहने हुँदा घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला। केतुको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ। कर्मभावमा राहुको उपस्थितिले बेलाबेला विद्रोहीहरूको दबाब र झमेला निम्त्याउने देखिन्छ। असार–साउनतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भाद्रपछि स्थिति अनुकूल बन्नुका साथै सम्पादित कर्मले कीर्तिमानी समेत दिलाउन सक्छ। मंगलको प्रभावले भदौदेखि फागुनसम्म चौतर्फी आम्दानीका ढोकाहरू खुल्नेछन्। दाम्पत्यभावमा शनिको प्रभावले जीवनसाथीको स्वास्थ्य कमजोर हुने हुँदा यसप्रति सचेत रहनुपर्नेछ। कसैकसैको सुमधुर दाम्पत्यमा पनि समस्या आउन सक्छ। व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्यबाधा र कर्मबन्धनका उल्झनले सताउनेछन्। सदाचारमा नरहने र जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुचि, कार्यबाधा र अर्थहानि जस्ता समस्या आउनेछन्। सदाचारी र कर्मयोगीहरूलाई भने यो वर्ष अत्यन्त शुभफलदायी रहनेछ। मिहिनेतले वर्षको उत्तरार्धमा सफलताको उचाइमा पुर्याउन सक्छ। विभिन्न उपलब्धि र भौतिक साधन जुटाउन सफल भइनेछ। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहहरूको पूजा, जप, अनुष्ठान गर्न सकिन्छ। शनिका लागि काली भगवती र हनुमानको आराधनाका साथै शनिवार पीपलको पूजा गरी जल चढाउनाले फाइदा हुनेछ। केतुको दुष्प्रभाव कम गर्न वटुकभैरवको पूजा गर्नुहोला। असार, साउन, कार्तिक र फागुन महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने वैशाख, जेठ, असोज र पुस महिना अधिक शुभफलदायी रहनेछन् ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो वर्ष केही उतारचढावमय रहनेछ। आसलाग्दो मध्यम परिवेशबाट सफलताको मध्यम उचाइसम्मको उपलब्धि हातलागी हुनेछ र लगानीमार्फत भविष्यका लागि बलियो आधार तयार पार्न सफल भइनेछ। वर्षभरि बृहस्पति कष्टभावमा रहनाले काम रोकिनुका साथै लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान समेत आउन सक्छन्। धर्मभावमा राहुको उपस्थितिले सेवा, संस्कार र धर्मको बाटो साँघुरिनेछ भने काम, क्रोध, लोभ, मोह जस्ता प्रवृत्तिले प्रश्रय पाउनेछन्। अरूको धन, धर्मसंस्कृति तथा रहनसहनप्रति मोह जाग्नेछ। सदाचार र आत्मअनुशासन पालना नगर्दा सामाजिक लोकप्रिय छविमा प्रश्न उठ्न सक्छ। कर्मक्षेत्रमा बाटो बिराउनाले दुःख पाइनेछ। सदाचार र कर्मयोगमा विश्वास गर्नेहरूलाई भने यो वर्ष शुभफलदायक नै रहनेछ। शत्रुभावमा शनिदेवको प्रभावले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। समय लागे पनि दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश पाउने बलियो सम्भावना छ। मिहिनेतले स्वरोजगार समेत बनाउन सक्छ। सेवाभावले गरिएका कर्मबाट आर्थिक लाभ र सञ्चय समेत हुनेछ। यस्तै, उद्योग तथा पराक्रम भावमा रहने केतुको प्रभावले उद्यमशील बन्न प्रेरित गर्नेछ। भदौदेखि मंगलको प्रभाव राज्य तथा कर्मभावमा रहने हुँदा पद–प्रतिष्ठा प्राप्त हुनेछ। पेसा–व्यवसायमा जोस–जाँगर बढ्नेछ। पुरानो व्यवसायमा नयाँ प्रविधि भित्रिनेछन्। कृषि र पशुपालनतर्फ फाइदा हुनेछ। भूमिको उपयोगतर्फ लगानी बढ्नेछ। नयाँ उद्योगधन्दा शुभारम्भ गर्ने प्रक्रिया अघि बढ्नेछ। राजनीतिमा लाग्नेहरूका लागि पनि विशेष अवसर प्राप्त हुनेछ। बृहस्पतिको प्रतिकूलताले गहिरो अध्ययन–अनुसन्धानमा लाग्नेहरूलाई केही अलमल भए पनि प्रविधि अध्ययन गर्नेहरूलाई यो वर्ष उपलब्धिमूलक रहनेछ। विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ। राजनीतिक तथा आर्थिक लाभ लिन वर्षको उत्तरार्ध कुर्नुपर्ने देखिन्छ। वर्षभरि सदाचारमा रहेर बाधक ग्रहहरूको पूजा, जप, अनुष्ठान गर्नाले प्रतिकूल प्रभावबाट मुक्त भई शुभफल प्राप्त गर्न सकिन्छ। बृहस्पतिका लागि नियमित शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नाले र राहुका लागि वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा–उपासना गर्नाले पनि ग्रहदोष निवारण हुनेछ। यस्तै आफ्ना इष्टदेवको नियमित पूजा–उपासनाले पनि शुभफल प्राप्त हुनेछ। साउन, भदौ, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने जेठ, असार, कार्तिक र माघ महिना अधिक लाभदायक रहनेछन् ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो

यो वर्ष उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। प्रारम्भमा स्वास्थ्यबाधा र बीचमा केही संघर्षमय परिस्थिति आए पनि वर्षको अन्त्यतिर विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बृहस्पतिको अनुकूल प्रभावले यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग छ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। काममा मातापिताको सहयोग र सद्भाव प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन्। घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। समाजसेवा एवं परोपकारी काममा प्रवृत्त भइनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। राहु कष्टभावमा रहनाले शरीरमा चोटपटक, रोग, अर्थहानि, अवरोध, मानसिक चिन्ता जस्ता विघ्नबाधा पनि आइरहनेछन्। असारको मध्यान्तरदेखि भदौ पहिलो सातासम्म कष्टभावमा मंगल–राहुको संयोगले दुर्घटना, चोटपटक आदि निम्त्याउने सम्भावना रहन्छ, सजग रहनुहोला। माघ २७ पछि राहु शनिको दृष्टिपथमा रहने हुँदा पहिलेका विघ्नबाधा पुनः दोहोरिन सक्छन्। माघसम्म पुत्रभावमा शनिको प्रभाव रहने हुँदा सन्तानप्रतिको चिन्ताले सताउनेछ। पेटको समस्याले अध्ययनमा बाधा, काममा विलम्ब, अपयश र अर्थहानि जस्ता समस्या पनि आइरहनेछन्। वर्षको अन्त्यमा शनिको राशि परिवर्तनले स्थितिमा सुधार आउनुका साथै रोकिएका काम बन्न थाल्नेछन्। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। वर्षभरि केतुको प्रभावले धन सञ्चयमा बाधा, आलोचना र वादविवाद निम्त्याउन सक्छ। तापनि बृहस्पतिको प्रतिबद्ध स्वभावले वर्षभरि काममा प्रवृत्त भइनेछ। नोकरीतर्फ केही बाध्यात्मक परिस्थितिले खुम्च्याए पनि विद्वत्ता र कलाका माध्यमले दमित अभिव्यक्ति प्रस्फुटन गर्न सकिनेछ। समय लागे पनि विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। स्वास्थ्य–समस्यामा भने वर्षभरि नै सजग रहनुपर्ने देखिन्छ। प्रतिकूल गोचरीय ग्रहहरू जन्मकुण्डलीमा कमजोर हुनेहरूले सम्बद्ध ग्रहको विधिपूर्वक शान्ति र पूजाआराधना गर्नुहोला। शनिको प्रतिकूल समयमा शनिवार पीपलमा जल चढाउनुका साथै नियमित काली भगवतीको पूजा–आराधना गर्नाले फाइदा हुनेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नाले राहु र केतुको प्रतिकूल प्रभाव कम भई लाभ मिल्नेछ। नयाँ काम थाल्न वैशाख, भदौ, असोज र पुस महिना प्रतिकूल हुनेछन् भने असार, साउन, मंसिर र फागुन महिना अधिक लाभदायक रहनेछन् ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते

यो वर्षको सुरुमा आसलाग्दो परिवेश देखिए पनि बीचमा केही अवरोहण हुँदै शक्तिक्षय र आर्थिक मन्दी जस्ता समस्यासँग जुध्नुपर्ने देखिन्छ। तापनि खर्चिलो र विवादास्पद काम सम्पादन गरी वर्षको अन्त्यमा समस्या सुल्झाउन सफल भइनेछ। वर्षभरि बृहस्पति शत्रुभावमा रहने हुँदा पहिलेका उपलब्धिहरू जोगाउन मुस्किल पर्ने देखिन्छ। अध्ययनमा पनि प्रगतिको मार्ग अवरुद्ध हुन सक्छ। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ। ईर्ष्या गर्नेहरूले शत्रुवत् व्यवहार गर्न थाल्नेछन्। स्वास्थ्य र धन सम्बन्धी चिन्ताले सताइरहनेछ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। चलअचल सम्पत्तिको कारोबार गर्दा हानि–नोक्सानी हुन सक्छ। आफ्ना कमजोरीमाथि खेल्नेहरू सक्रिय हुने हुँदा व्यवहारमा सजग रहनुहोला। मस्तिष्कभावमा केतुको प्रभाव रहने हुँदा यदाकदा अपरिपक्व निर्णयहरू हुन सक्छन्। यसले नेतृत्व लिने क्षमताप्रति प्रश्न उठ्न सक्छ। भदौदेखि फागुनसम्म कष्टभावमा रहने मंगलको प्रभावले चोटपटक, दुर्घटना आदि निम्त्याउने हुँदा जोखिमपूर्ण काम गर्दा सजग रहनुहोला। वर्षभरि सुखभावमा रहने शनिको अढैया प्रभावले मन अशान्त भइरहनेछ। परिवारमा द्वन्द्व, झूटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहने हुँदा बुद्धिविवेकले काम लिनुपर्नेछ। वर्षको अन्त्यतिर स्थितिमा सुधार आउनेछ भने रोकिएको काम पुनः सम्पादन हुनेछ। दाम्पत्यभावमा राहुको उपस्थितिले गृहस्थी सुखमा पनि बाधा पुग्नेछ। प्रेमिल सम्बन्धमा फाटो ल्याउनेहरू सक्रिय हुनेछन् र गृहस्थीको जग कमजोर बन्नेछ। असारको मध्यान्तरपछि भदौको पहिलो सातासम्म दाम्पत्यभावमा हुने मंगल–राहुको संयोगले घरमा अशान्ति रोग र कलह निम्त्याउन सक्छ। सदाचार र अनुशासनको मर्यादा पालना गर्नेहरूलाई भने ग्रहको प्रतिकूल प्रभावले कुनै असर पुर्याउने छैन। ग्रहहरूको प्रतिकूल प्रभावबाट मुक्त रही शुभफल प्राप्त गर्न ग्रहहरूको विशेष साधना र अनुष्ठान गर्नुहोला। सदैव मंगलदायक गणेशजीको पूजा गर्दा मंगलदोष शान्त हुनेछ। शिवजी र बगलामुखीको पूजा–आराधनाले बृहस्पतिको दुष्प्रभाव कम हुनेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नाले राहु र केतुको ग्रहदोष शान्त हुनेछ। शनिको प्रतिकूल प्रभावबाट मुक्त हुन आफ्ना इष्टदेवता, हनुमानजी, महांकाल र काली भगवतीको उपासना गर्नुहोला। शनिवार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ। जेठ, असोज, कार्तिक र माघ महिना प्रतिकूल हुनेछन् भने साउन, भदौ, पुस र चैत महिना अधिक लाभदायक रहनेछन् ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो वर्ष ग्रहहरूको अनुकूल प्रभावले सामान्य परिवेशबाट विशेष अवसरको लाभ लिँदै उत्साहजनक सफलताको उचाइतर्फ आरोहण गर्ने सौभाग्य प्राप्त हुनेछ। सञ्चित र आर्जित कर्मफलको उपयोग गर्दै जीवनशैलीमा परिवर्तन ल्याउन सफल भइनेछ। विद्याभावमा स्थित बृहस्पतिको प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। सुरुको मिहिनेतले वर्षभरि लाभ उठाउन सकिनेछ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। बौद्धिक क्षमता पनि बढ्नेछ। अध्ययन तथा रोजगारीका सन्दर्भमा देश–विदेश जाने साइत जुर्न सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने समय छ। सन्तानसुखको भागीदार भइनेछ। घरमा मंगलमय कृत्यहरू सम्पादन हुनेछन्। पराक्रमभावमा शनिको उपस्थितिले जोसजाँगर बढ्नुका साथै कर्मयोगले सदैव लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। मिहिनेतले उत्तम नोकरी तथा पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने समय छ। नयाँ उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। राहुको अनुकूल प्रभावले रोग, शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। विभिन्न भौतिक स्रोत–साधन जुटाउन सफल भइनेछ। यन्त्र–उपकरण र प्रविधिमा काम गर्नेहरूलाई विशेष फाइदा हुनेछ। राजनीतिमा लाग्नेहरूलाई पद–प्रतिष्ठा प्राप्त हुने बलियो सम्भावना छ। महत्त्वाकांक्षी योजनाहरू अघि बढ्नेछन् भने लामो समयदेखि अड्किएका काम पनि सम्पादन हुनेछन्। कृषि, नोकरी, व्यापार तथा अन्य पेसा–व्यवसायमा राम्रो लाभ हुनेछ। खर्चभावमा केतुको उपस्थितिले केही रकम भने बाहिरिन सक्छ। फजुल खर्च बढ्ने र अरूले आफ्नो रकम दुरुपयोग गर्ने सम्भावना रहेकाले सजग रहनुहोला। भदौदेखि दाम्पत्यभावमा मंगलको प्रभाव रहने हुँदा पतिपत्नीमा असमझदारी बढ्न सक्छ। प्रियजनको समस्या साक्षात्कार गर्न नसक्दा सुमधुर सम्बन्धमा समेत दरार आउन सक्छ। माघको अन्त्यमा प्रारम्भ हुने शनिको अढैया प्रभावले पनि पारिवारिक माहोल अशान्त बन्नेछ। परिस्थितिवश पहिलेका उपलब्धि जोगाउन समस्या पर्नेछ, सजग रहनुहोला। मंगल र केतुको प्रतिकूल प्रभावबाट जोगिन क्रमशः गणेश र वटुकभैरवको पूजा–आराधना गर्नुहोला। नियमित हनुमानचालीसा पाठ गर्नाले र आफ्ना इष्टदेव–देवीको पूजा–आराधना गर्नाले पनि फाइदा भइरहनेछ। वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कार्तिक, मंसिर र फागुन महिनामा अलि हानि हुन सक्छ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

यस वर्षको प्रारम्भ आसलाग्दो देखिए पनि बीचमा केही कठिनाइ र उतारचढाव देखापर्ने छन् भने वर्षको अन्त्यमा कर्मयोगले उचाइ लिनेछ र महत्त्वपूर्ण उपलब्धि हातपार्न सफल भइनेछ। वर्षभरि गृहसुखमा रहने बृहस्पतिको स्वाभिमानी प्रवृत्तिले आफन्तमा मतभेद उत्पन्न गराउनेछ। घर–परिवार र समाजका विसंगति विरुद्ध उभिनुपर्दा संघर्ष भइरहनेछ। घरपरिवारमा असमझदारी बढ्नाले सहमतिमा सगोलको सम्पत्ति भागबन्डा लाग्न सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने अनावश्यक काममा धन खर्च हुने देखिन्छ। चल–अचल सम्पत्तिको कारोबारमा त्यति फाइदा नहुन सक्छ। आफन्तजन बिनाकारण टाढिन सक्छन्। राहुको प्रतिकूल प्रभावले सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ। वर्षभरि पेटको समस्याले सताउन सक्छ। विद्यार्थीहरूको अध्ययनमा व्यवधान हुनाले राम्रो नतिजा ल्याउन मुस्किल पर्नेछ। असारको मध्यान्तरपछि भदौ पहिलो सातासम्म हुने मंगल–राहुको संयोगले विवादास्पद कर्मको भागीदार बनाउन सक्छ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखा पर्नेछन्। धन तथा वाणीभावमा रहने शनिदेवको अन्त्य साढेसाती चल्ने हुँदा विभिन्न व्यवधानसँग संघर्ष पनि भइरहनेछ। आयस्रोत कमजोर हुनेछ, खर्च बढ्नेछ र आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। आलस्य, ढिलासुस्ती गर्ने बानीले व्यवहारमा दुःख पाइनेछ। जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, अर्थ अभाव, मानहानि जस्ता समस्या आइरहनेछन्। आयभावमा केतुको उपस्थितिले वर्षभरि आम्दानीका स्रोतहरू जुट्नेछन् र आइपरेका समस्या सजिलै समाधान गर्न सकिनेछ। भदौदेखि शत्रुभावमा मंगलको प्रभावले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। जोसजाँगर बढ्नुका साथै कर्मयोगले लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। माघको अन्त्यमा शनिको राशि परिवर्तनले स्थितिमा थप सुधार आउनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। उद्योग तथा कृषिक्षेत्रमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। प्रतिकूल ग्रहहरूको दुष्प्रभाव कम गरी अवसरको लाभ उठाउन अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्नुहोला। शनिदोष निवारणका लागि कालीको पूजा र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले, बृहस्पतिका लागि बगलामुखी र शिवजीको पूजा गर्नाले र राहुको शान्तिका लागि वटुकभैरवको दर्शन–पूजा गर्नाले लाभ हुनेछ। जेठ, असोज, कार्तिक र फागुन महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने साउन, मंसिर, पुस र चैत महिनामा अलि हानि हुन सक्छ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि

यो वर्ष केही अवसर प्राप्त भए पनि व्यावहारिक समस्या र आर्थिक मन्दीले दैनिकीलाई संघर्षको मैदानमा अवतरण गराउन सक्छ। वर्षारम्भदेखि नै चुनौतीपूर्ण जिम्मेवारी अँगाल्दै लक्ष्यतर्फ अग्रसर भइनेछ र सुरुको संक्रमण पार गर्दै केही उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षभरि उद्योग तथा पराक्रममा बृहस्पतिको उपस्थितिले नयाँ जिम्मेवारी प्राप्त भए पनि कर्मक्षेत्रमा वादविवाद आउने सम्भावना देखिन्छ। तत्काल विरोध सामना गर्नुपरे पनि दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। केही भौतिक स्रोत–साधन जुटाउन पनि सफल भइनेछ। तर समाजसेवामा जुट्दा समेत केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्यमान स्थितिमा उतारचढाव, नोकरी सरुवा तथा बसाइसराइको परिस्थिति सिर्जना हुन सक्छ। माघसम्म मस्तिष्कभावमा रहने शनिको मध्य साढेसाती प्रभावले काम, क्रोध आदि प्रवृत्ति अनियन्त्रित बन्नुका साथै जन्मकुण्डलीमा शनिदेव प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइलाग्नेछन्। आलोचक बढ्ने हुँदा काममा अवरोध आउन सक्छ। उच्च अधिकारीसँगको विवादले नोकरीमा समस्या आउन सक्छ। मंगलको प्रभावले साउनसम्म दाजुभाइ र आफन्तमा मतभेद हुने देखिन्छ। सगोलको पैत्रिक सम्पत्ति र साझेदारीमा वादविवाद आउने सम्भावना छ। सुखभावमा राहुको उपस्थितिले पारिवारिक माहोल अशान्त रहनेछ। कृषि तथा पशु–चौपायामा हानि, घरजग्गामा किचलो र आफन्तजनमा वैरभाव नित्याउने हुँदा सजग रहनुपर्नेछ। यही वर्ष अंशीयार दाजुभाइबीच भागबन्डा लाग्न सक्छ। मातापिताको स्वास्थ्य कमजोर हुनाले त्यसप्रति चिन्ता बढ्नेछ भने परिस्थितिको परीक्षामा खरो उत्रनुपर्ने समय छ। कर्मभावमा केतुको प्रभावले अधुरा काम गर्ने उत्साह प्राप्त भए पनि कर्मक्षेत्रका समस्या सुल्झाउन निकै प्रयत्न गर्नुपर्नेछ। पारिवारिक मतभेद देखिए पनि सामुदायिक कार्यका लागि धन खर्च गरिनेछ। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। प्रविधितर्फको शिक्षाले स्वरोजगार बन्न सफल भइनेछ। वर्षभरि आफ्ना इष्टदेवताको आराधनाका साथै बेलाबेला प्रतिकूल ग्रहहरूको शान्तिकर्म गर्नाले अप्ठ्यारो समयमा पनि फाइदा हुनेछ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। गणेश र बगलामुखी भगवतीको दर्शन–पूजा गर्दा मंगल र बृहस्पतिको दोष पनि शान्त हुनेछ। असार, कार्तिक, मंसिर र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, भदौ, पुस र माघ महिना अलि प्रतिकूल रहनेछन् ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द

यो वर्ष उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। धन आर्जनका विभिन्न स्रोत भेटिनेछन् र अधिक खर्च हुँदा समेत सन्तुलन कायम राख्न सफल भइनेछ। वर्षभरि धनभावमा बृहस्पतिको उपस्थितिले मंगलमय कृत्यहरूको कर्ता बन्ने सौभाग्य प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा निखारता आउनेछ। व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी पनि प्रशस्तै हुनेछ। भाग्यले असल प्रेमपात्र जुराउने हुँदा गृहस्थी यात्रा प्रारम्भ हुने बलियो सम्भावना छ। लगनशीलताले उत्तम व्यवसाय, नोकरी तथा पदोन्नतिको हकदार बनाउनेछ। अध्ययन तथा रोजगारीका सिलसिलामा विदेशयात्राको अवसर पनि जुट्न सक्छ। पराक्रम भावमा राहुको उपस्थितिले विशेष उद्योगधन्दामा प्रवृत्त गराउन सक्छ। प्रयत्न गर्दा दिगो व्यवसाय थालनी हुनेछ। विभिन्न भौतिक साधन जुटाउने समय छ। कृषिकर्म र पशुपालनबाट मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त हुनेछन् र महत्त्वपूर्ण उपलब्धि हातपार्न सकिनेछ। मिहिनेतले उत्तम रोजगारी दिलाउन सक्छ। आफ्नो प्रगति हुँदा धेरैले ईर्ष्या गर्नेछन्। भदौदेखि फागुनसम्म रहने मंगलको प्रभावले पारिवारिक माहोल अशान्त रहनेछ। कृषि तथा पशु–चौपायामा हानि, घरजग्गाका नाउँमा किचलो हुनाले दाजुभाइ टाढिन सक्छन्। आमाको स्वास्थ्य कमजोर रहनाले त्यसप्रति चिन्ता बढ्नेछ। वर्षको अन्त्यमा अंशीयार दाजुभाइबीच भागबन्डा हुने सम्भाना देखिन्छ। भाग्यभावमा केतुको प्रभावले धार्मिक क्षेत्रको भ्रमण हुन सक्छ। तर सेवाका नाउँमा फाइदा उठाउने प्रवृत्तिले आलोचित बन्नुपर्नेछ। खर्चभावमा शनिको उपस्थितिले खर्चिला काम गर्न बाध्य भइनेछ। सञ्चित रकम सकिनाले थालेको काम रोकिन सक्छ। धेरै लगानी गरेको कामबाट न्यून प्रतिफल प्राप्त हुनेछ। वर्षभरि शनिको आद्य र मध्य साढेसाती रहने हुँदा स्वास्थ्यमा बाधा र आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, अर्थ अभाव, मानहानि, परिवारमा मतभेद जस्ता समस्या आउन सक्छन्। समग्रमा सामान्य घरायसी विवादले केही काम अड्किए पनि राहु र बृहस्पतिको प्रभावले धेरै समस्या समाधान हुनेछन्। प्रतिकूल ग्रहहरूको जप, अनुष्ठान गर्नाले ठूलै समस्या पनि निवारण हुन सक्छ। शनिको साढेसाती प्रभावबाट मुक्त रहन शनिवार पीपलको पूजा गरी जल चढाउनुहोला। काली भगवती, हनुमानजी र आफ्ना इष्टदेवको पूजा–आराधना गर्नाले पनि शनिदोष शान्त हुनेछ। मंगल र केतुका प्रतिकूल प्रभावबाट सुरक्षित रहन गणेश र भैरवको दर्शन–पूजा गर्नुहोला। महिनाहरूमा वैशाख, साउन, मंसिर र पुस बढी लाभदायक रहनेछन् भने जेठ, असोज, माघ र फागुन अलि प्रतिकूल रहनेछन् ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि

यो वर्ष परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि आसलाग्दो प्रारम्भिक परिवेशबाट प्रगतिको मार्ग अवलम्बन गर्न सफल भइनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। शीर्षभावमा बृहस्पतिको उपस्थितिले अरूको दबाब सहन गर्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। मिहिनेतले महत्त्वाकांक्षी योजना बनाए पनि कार्यान्वयन गर्न बाधा पुग्नेछ। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ। अरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले शुभचिन्तकहरू टाढिनेछन्। घर–परिवारमा मतभेद देखापर्न सक्छ। तापनि बृहस्पतिको प्रतिबद्ध स्वभावले काममा प्रवृत्त गराउनेछ। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। बिस्तारै घर–गृहस्थीमा खुसियाली छाउनेछ। यो वर्ष सन्तानसुखको योग समेत रहेको छ। आयभावमा शनिको प्रभावले आम्दानीका स्रोतहरू बढ्नेछन् भने भौतिक सुख–सुविधा पनि थपिनेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट मनग्य फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। कर्मक्षेत्रमा विशेष उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। वर्षको अन्त्यमा शनिको साढेसाती प्रारम्भ हुने हुँदा फजुल खर्च बढ्नुका साथै आफन्तसँग मतभेद हुने सम्भावना देखिन्छ। राहु र केतु भने यो वर्ष प्रतिकूल रहनेछन्। धनभावका राहुको प्रभावले वादविवाद र अनावश्यक काममा बढी रकम खर्च हुने देखिन्छ। अप्ठ्यारो समयमा आलोचकहरूले दुःख दिनेछन्, समयमै सजग रहनुहोला। चल–अचल सम्पत्तिको कारोबारमा पनि त्यति फाइदा नहुन सक्छ। कष्टभावमा केतुको उपस्थितिले पनि स्वास्थ्यमा बाधा, चोटपटक र अर्थहानि जस्ता समस्या देखापर्न सक्छन्। मंगलको प्रभावले साउनसम्म विवादास्पद काममा अलमल हुनेछ। भदौदेखि फागुनसम्म अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। विद्यार्थीहरूका लागि नयाँ प्रविधिको ज्ञान हासिल गर्ने समय छ। राहु र केतुको प्रतिकूल प्रभावबाट जोगिन वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा– आराधना गर्नुहोला। गणेश र काली भगवतीको पूजा गर्नाले मंगल र शनिका प्रतिकूल प्रभाव कम हुनेछन्। महिनाहरूमा जेठ, भदौ, पुस र माघ बढी लाभदायक रहनेछन् भने असार, कार्तिक, फागुन र चैत महिना अलि प्रतिकूल रहनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार